काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकलाई पूर्ण रूपमा सार्वभौम बनाएको बताएका छन् ।
गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राज्यसत्ता र शक्तिको अन्तिम स्रोत नागरिक नै भएको उल्लेख गरे ।
उनले नेपालको संविधानले संघीयता, समावेशिता, सामाजिक न्याय र समाजवादका मान्यतालाई आत्मसात गर्दै विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्थाको आधार निर्माण गरेको बताए । वर्तमान व्यवस्थाले सिंहदरबारको अधिकार गाउँगाउँसम्म पुर्याएको दाबी गर्दै उनले स्थानीय र प्रदेश सरकारहरूले संविधानअनुसार जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गरे ।
राष्ट्रपति पौडेलले नागरिक सर्वोच्चतालाई संविधानको महान उपलब्धिका रूपमा व्याख्या गर्दै जनताको घरआँगनबाटै सार्वभौमिकताको अभ्यास भइरहेको बताए । शासकीय संरचनामार्फत नागरिकका गुनासा सम्बोधन हुने अभ्यासले लोकतन्त्रको जग थप बलियो बनाएको उनको भनाइ थियो ।
उनले लोकतन्त्रमा अन्तिम मालिक जनता नै हुने मान्यता स्थापित भएको उल्लेख गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रताको सुनिश्चितता गरेको बताए ।
राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म “निमुखालाई न्याय र विपन्नलाई आय” प्रदान गर्नु रहेको स्पष्ट पारे । उनले अधिकारको प्रत्याभूति मात्रै नभई नागरिकको जीवनस्तर उकास्ने अवसर सिर्जना गर्नु नै वर्तमान व्यवस्थाको मुख्य उद्देश्य भएको धारणा राखे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया