जलवायु परिवर्तनका कारण हिमालहरू संकटमा : पर्यटनमन्त्री पौडेल

लोकपथ
63
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले जलवायु परिवर्तनका कारण हिमालहरू संकटमा परेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

७३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले विश्वव्यापी तापमान वृद्धिका कारण हिमताल पग्लिने र खानेपानीका मुहान सुक्ने क्रम बढ्दै गएको बताए । उनले हिमाल संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिए ।

नेपालको समृद्धिको प्रमुख आधार पर्यटन र हिमाल नै भएको उल्लेख गर्दै उनले राष्ट्रिय स्वाभिमान र गरिबी निवारणका लागि हिमाली पर्यटनको दिगो विकास आवश्यक रहेको बताए ।

मन्त्री पौडेलले सगरमाथा आरोहण केवल भौतिक उपलब्धि नभई आन्तरिक यात्रा र मानवीय साहसको उच्चतम प्रतीक भएको धारणा राखे । सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारी ले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेको ऐतिहासिक दिनको स्मरण गर्दै उनले हिमाल आरोहणलाई गहिरो साधनासँग तुलना गरे ।

उनले संसारका विभिन्न धर्ममा तीर्थयात्राको विशेष महत्व रहेको उल्लेख गर्दै हिमाल आरोहणलाई पनि पवित्र धार्मिक यात्राको संज्ञा दिए ।

मन्त्री पौडेलले हिमाल विश्वकै ठूलो खानेपानीको स्रोत तथा ईश्वरको वासस्थान भएको उल्लेख गर्दै यसको संरक्षण बिना मानव अस्तित्व सुरक्षित रहन नसक्ने बताए । साथै, नेपाललाई विश्वमा चिनाउने सबैभन्दा सशक्त माध्यम हिमाल नै भएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?