काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले स्वतः विघटनमा परेका पार्टीका मुख्य भ्रातृ संगठनहरूको नयाँ नेतृत्व आगामी जेठ १५ गतेभित्र चयन गरिसक्ने घोषणा गरेका छन् ।
पार्टी भित्रको आन्तरिक विवाद र असन्तुष्ट पक्षलाई मिलाउने प्रयासका कारण नेतृत्व चयनमा ढिलाइ भएको उनले स्पष्ट पारेका छन् । सुनसरीको लौकहीमा शुक्रबार आयोजित प्रदेश तथा स्थानीय तह स्तरीय भेला लाई सम्बोधन गर्दै सभापति थापाले रिक्त संगठनहरूलाई पूर्णता दिन गृहकार्य भइरहेको बताए ।
सभापति थापाले पार्टीभित्र सबै पक्षलाई समेटेर अघि बढ्न खोज्दा केही समय लागेको बताए । उनले भने, ‘भ्रातृ संगठनहरूको नेतृत्व जेठ १५ सम्म टुंगिन्छ । असन्तुष्टि राखिराखेका नेताहरूसँग निरन्तर परामर्शमा रहेकाले निर्णय लिन केही समय लागेको हो, अब धेरै ढिला हुँदैन ।’
गत २२ वैशाखमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले म्याद थप नगरेपछि पार्टीका १३ मध्ये ५ वटा प्रमुख भ्रातृ संगठनका केन्द्रीय कार्यसमितिहरू स्वतः विघटन भएका थिए ।
विघटनमा परेका ५ संगठनमध्ये हालसम्म नेपाल महिला संघले मात्र नयाँ नेतृत्व पाएको छ । सभापति थापाले गत २५ वैशाखमा चितवनकी मीनाकुमारी खरेललाई महिला संघको अध्यक्ष मनोनीत गरेका थिए । बाँकी ४ भ्रातृ संगठनहरू भने अझै नेतृत्वविहीन अवस्थामा छन् ।
गत चुनावपछि नेपाली कांग्रेसको नेतृत्व सम्हालेका सभापति थापाका लागि विघटित भ्रातृ संगठनहरूमा सबै गुटलाई मान्य हुने गरी नयाँ तदर्थ समिति गठन गर्नु र तिनीहरूलाई महाधिवेशनतर्फ लैजानु मुख्य चुनौती बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया