काठमाडौं । साधारण समूह साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी बलको ‘टप फाइभ’ वरिष्ठ उपरीक्षक (एसएसपी) को को हुन् ? लोकपथलाई प्राप्त सूचीले भन्छ– विनोदराज श्रेष्ठ, प्रकाश थापा, भूपेन्द्र केसी, कमलप्रसाद तिउसिना र नीरकृष्ण अधिकारी ।
एसएसपीको वरीयतामा आफूभन्दा जुनियरहरु नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भई सरकारी गाडीमा एउटा तारा राखेर हिँड्न थालिसक्दा पनि माथि उल्लेखित पाँच जनामध्ये दुई जना स्टाफ कलेज उत्तीर्ण हुन नसक्दा एसएसपीबाटै अवकाशमा जानुपर्ने हुन्छ ।

२०७९ साल जेठ ३० गते बढुवा सिफारिस भएका सिसं १ सशस्त्र प्रहरी निरीक्षक बेसिकका श्रेष्ठ र थापा एसएसपी भएकै ४ वर्ष पूरा हुन लागिसकेको छ । अब उनीहरु एसएसपीको पदावधिका कारण अवकाशमा जानेछन् । सशस्त्र प्रहरी नियमावली २०७२ अनुसार सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको पदावधि ७ वर्ष र उमेर हद ५५ वर्ष रहेको छ । यी दुईमा जुन पहिला आउँछ त्यहीअनुसार अवकाशमा जान्छन् ।
तर सिसं २ सशस्त्र प्रहरी निरीक्षक बेसिकका भूपेन्द्र केसी, कमलप्रसाद तिउसिना र नीरकृष्ण अधिकारीको कहानी अलि फरक छ । उनीहरु तीनै जना सशस्त्र प्रहरीको डीआईजी बन्न अनिवार्य कोर्ष स्टाफ कलेज उत्तीर्ण हुन् ।


डीआईजीका लागि आवश्यक सबै योग्यता उनीहरुसँग छ । डीआईजीका लागि आवश्यक योग्यतामा १ देखि ३ नम्बर वरीयताका उनीहरु अब डीआईजी पनि हुन्छन् कि हुँदैनन्, यसै भन्न सकिने अवस्था छैन । सशस्त्र प्रहरीको साधारण समूह साधारण उपसमूहअन्तर्गत डीआईजी १८ जना छन् ।
गत वैशाख ११ र जेठ ५ मा गरी डीआईजीको दुई पटक बढुवा सिफारिस भयो । वैशाख ११ गते दिगविजय सुबेदी, किरण बस्नेत, माधवप्रसाद पौडेल, प्रविण कँडेल, राजेश उप्रेती र नेत्रबहादुर कार्की बढुवा सिफारिसमा परे । उनीहरुले दज्र्यानी चिन्ह पनि लगाइसकेका छन् ।

जेठ ५ गते राजेन्द्र खड्का एकल बढुवा सिफारिसमा परे । उनको सिफारिसविरुद्ध चित्त नबुझ्नेहरुले जेठ ५ देखि एक साताभित्र उजुरी सुन्ने समितिसमक्ष उजुरी दिन सक्नेछन् । त्यस समयभित्र पनि उजुरी नपरे खड्का बढुवाका लागि योग्य हुनेछन् र गृहमन्त्रीस्तरीय निर्णयबाट उनी बढुवा हुनेछन् ।

२५ दिनको अन्तरालमा दुई पटक गरी ७ जना बढुवा/बढुवा सिफारिसमा परेकोमा एसएसपी वरीयतामा केसी, तिउसिना र अधिकारीभन्दा सुवेदी र कँडेलमात्र सिनियर हुन्, अन्य ५ जना जुनियर ।
आफूहरुभन्दा ५ जना जुनियरहरु डीआईजीमा बढुवा/बढुवा सिफारिसमा पर्दा पनि केसी, तिउसिना र अधिकारी कहिले बढुवा हुन्छन् त ? यसै भन्न सकिने अवस्था छैन । किनकी वर्तमान सरकारले सिसं २ सशस्त्र प्रहरी निरीक्षक बेसिककको हकमा एसएसपीको वरीयतालाई भन्दा सशस्त्र प्रहरी निरीक्षक/सशस्त्र प्रहरी नायव उपरीक्षकको वरीयतालाई प्राथमिकता दिएकाले यो अवस्था आएको हो ।




अब जाउँ, अहिले एसएसपीमा माथिल्लो तहमा रहेकाहरुको बढुवा विश्लेषणतर्फ । सिसं २ सशस्त्र प्रहरी निरीक्षक बेसिकको हकमा एसएसपीको पहिलो वरीयतामा रहेका भूपेन्द्र केसी ६९ मध्ये ६७ नम्बरमा थिए । माओवादी सरकारको आडमा उनी एसपी हुँदा आफ्नो ब्याचको ५ नम्बरमा आए । कमलप्रसाद तिउसिना ३५ बाट ६ र नीरकृष्ण अधिकारी ३६ बाट ७ मा उक्लिए । एसएसपी बढुवामा भने समग्र ब्याचमै दीपेन्द्र कुँवर (हाल डीआईजी) ले छलाङ मारेर १ नम्बरमा उक्लिँदा उनीहरु एक/एक नम्बर तल झरे । यति हुँदा पनि केही फरक परेको थिएन । तर वर्तमान सरकारले बढुवाको बाटो नै फेर्दा तारे गाडीमा सवार हुने, बाहिनी कार्यालयको कमान्ड सम्हाल्ने उनीहरुको इच्छामा ‘पूर्णविराम’ लागेको हो ।


अब जाउँ, तत्कालीन सरकार र शक्तिकेन्द्रको आडमा उनीहरुले छलाङ मार्दा वरीयताको हिसावले क–कसलाई अन्याय भएको थियो भनेर । त्यसबेला डीएसपीमा ३ नम्बरमा रहेका राजेश उप्रेतीलाई एसपी बढुवामा १४, चौथो नम्बरमा रहेका किरण बस्नेतलाई ८, पाँचौं नम्बरमा रहेका नेबहादुर कार्कीलाई २६, छैठौं नम्बरका माधवप्रसाद पौडेललाई नवौं नम्बरमा पु¥याइएको थियो । एसएसपीमा पौडेल र बस्नेत सँगै बढुवा भएको भएपनि त्यसबेला ‘अति अन्याय’ गरेका कारण उप्रेती र कार्की अर्काे लटमा मात्रै बढुवा भए ।

सिसं २ सशस्त्र प्रहरी निरीक्षक बेसिकको हकमा पहिलो लटमा २०७९ साल साउन ६ गते १५ जना एसएसपीमा ‘कल्फर्म’ र बढुवा सिफारिसमा पर्दा उप्रेती र कार्की २०८० साल साउन ३२ गते बढुवा सिफारिस भएका थिए । आफूहरुमाथि त्यसबेला भएको ‘अन्याय’ को बदला उप्रेती र कार्कीले अहिले लिँँदा एसपी बढुवामा छलाङ मारेका भूपेन्द्र केसी, कमल तिउसिना र नीरकृष्ण अधिकारीको ‘डीआईजी यात्रा’ मा नै प्रश्न खडा भएको हो ।
राजेन्द्र खड्काको बढुवा सिफारिसले झन निराश
वैशाख ११ गतेको सिफारिसमा नपरेपनि जेठ ५ गतेको सिफारिसमा आफूहरुमध्ये एक जना पर्ने केसी, तिउसिना र अधिकारीको विश्वास थियो । अहिले नपरेपनि असोज २७ पछि रिक्त हुने १ (एआईजी वंशीराज दाहालको अवकाश र उनको ठाउँमा बढुवा हुने) र आगामी चैत ५ मा दुई (डीआईजी लक्ष्मणबहादुर सिंह र प्रदीपकुमार पालको अनिवार्य अवकाश) पद रिक्तमा आफूहरुको बढुवा हुने उनीहरुको विश्वास थियो ।
तर जेठ ५ को डीआईजी बढुवा सिफारिसमा पनि सशस्त्र प्रहरी निरीक्षक बेसिक र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको वरीयतालाई आधार मानेपछि केसी, तिउसिना र कार्की थप सशंकित बनेका हुन् ।
जेठ ५ मा डीआईजीमा एकल बढुवा सिफारिस भएका खड्का डीएसपी हुँदा १० नम्बरमा थिए । एसपी बढुवामा आफ्नो ब्याचमा १२ औं नम्बरमा पुगेका उनी एसएसपीमा पनि १२औं नम्बरमै बढुवा भएका थिए ।
डीएसपीबाट एसपी बढुवामा त्यसबेला ७ नम्बरका प्रकाशकुमार सुबेदी, ८ नम्बरका दीपककुमार थापा, १२ नम्बरका सुभाष भण्डारी, १३ नम्बरका प्रदीपसिंह कार्कीमाथि पनि चरम अन्याय गरिएको थियो । यतिसम्म कि पहिलो लटमा सिसं २ का ३५ जना बढुवा हुँदा उनीहरुलाई छुटाइएको थियो । उनीहरु बल्ल अहिले एसएसपी बनेका छन् ।
अब को को ?
सिसं २ सशस्त्र प्रहरी निरीक्षक बेसिकको वरीयता र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको वरीयतालाई आधार मान्दा अब रिक्त हुने ठाउँमा डीआईजीको पहिलो दाबेदार किरण ढुंगाना हुन् । सशस्त्र प्रहरी नायव उपरीक्षक हुँदा ११ नम्बरमा रहेका उनी एसपी बढुवामा १६ औं र एसएसपी १४ औं नम्बरमा परेका थिए ।
एसएसपी वरीयतामा ढुंगानाभन्दा माथि केसी, तिउसिना र अधिकारीका अलावा सुधिरजंग थापा, उद्धवबहादुर न्यौपाने र नरेन्द्र सेन छन् । उनीभन्दा ठीक तल शंकर खनाल छन् ।
तर डीएसपी वरीयतामा सुधिरजंग थापा २५, उद्धवबहादुर न्यौपाने, ३८, नरेन्द्र सेन ५३ र शंकर खनाल ६४ नम्बरमा थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया