सशस्त्र प्रहरीकी असई निम डिक्की शेर्पाले पनि गरिन् सगरमाथाको सफल आरोहण

लोकपथ
196
Shares

काठमाडौं । सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) निम डिक्की शेर्पाले पनि आज आइतबार बिहान (जेठ ३) विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छिन् । शेर्पाले आज बिहान ११ बजेर ५५ मिनेटको समयमा सफलतापूर्वक सगरमाथाको चुचुरोमा पुग्दै इतिहास रचेकी हुन् । उनी इलाम जिल्लाको सन्दकपुर गाउँपालिका माबुमा जन्मेकी हुन् ।

आजै सशस्त्र प्रहरी सहायक हवलदार अनिता कार्कीले पनि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छिन् । उनले आइतबार (३ जेठ) बिहान १० बजेर २० मिनेटमा सफलतापूर्वक सगरमाथाको चुचुरोमा पुगेकी थिइन् । 

उनी सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने पहिलो महिला आरोही पनि बनेकी छिन् । शेर्पा भने उनी सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने दोस्रो महिला आरोही बन्न पुगेकी छिन् ।

सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरू तेस्रो र चौथो सशस्त्र प्रहरी कर्मचारी हुन् भने महिलाहरूको यो पहिलो सफल आरोहण हो ।  उनीहरूले अनुशासन, साहस र उच्च मनोबलको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै सशस्त्र प्रहरी बल नेपालको गौरवलाई अझ उँचो बनाएका छन् ।

पर्वतीय उद्धार तथा उच्च हिमाली क्षेत्रमा दक्षता हासिल गरेका आरोहीहरूले मनाङ जिल्लास्थित चुलु फार इष्ट हिमाल तथा लोबुचे हिमालको समेत सफल आरोहण गरिसकेका छन् ।

आरोही निम डिक्की शेर्पा र आरोही अनिता कार्कीको सगरमाथा आरोहण अभियानमा क्रमशः शेर्पा निमा सांगे शेर्पाले र टासी ग्याल्जेन शेर्पाले मार्गदर्शक तथा सहयोगीको भूमिका निर्वाह गरेका थिए ।

उनीहरूको यस ऐतिहासिक सफलताले सशस्त्र प्रहरी बल नेपालभित्र महिला सहभागिता, क्षमता र नेतृत्वलाई अझ प्रेरित तथा उत्साहित बनाउने विश्वास लिइएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?