काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीले मुलुकका प्रमुख लोकतान्त्रिक संस्था र सुरक्षा निकायको कमजोरीका कारण राष्ट्रिय सुरक्षा र लोकतन्त्रको भविष्यमाथि गम्भीर प्रश्न उठेको बताएका छन् ।
अन्सारीले राज्यका संयन्त्रहरू आन्तरिक रूपमा नै क्षय हुँदै गएको धारणा व्यक्त गर्दै लोकतन्त्रमा दुई चरम विचारबीच मध्यमार्गी सहमति र समायोजनको अभाव देखिएको बताए । उनका अनुसार यस्तो अवस्थाले एक पक्षले अर्कोलाई दबाउने वा निरन्तर संघर्षको स्थिति सिर्जना गरिरहेको छ ।
उनले गत वर्षको २३ गते भएको आन्दोलन सरकार ढाल्ने उद्देश्यले नभई अनियमितताविरुद्ध आवाज उठाउन र राज्यको न्यूनतम जवाफदेहिता खोज्नका लागि भएको स्पष्ट पारे । नागरिकहरू केवल उत्तरदायित्वको माग गर्दै सडकमा उत्रिएको भए पनि आफ्नै नागरिकमाथि बल प्रयोग भएपछि २४ गते सरकार ढल्ने परिस्थिति बनेको उनको भनाइ थियो ।
अन्सारीले संविधान निर्माणपछि एक दशकसम्म पुराना राजनीतिक दलहरूको वर्चस्व कायम रहँदा नयाँ र वैकल्पिक बहसहरू मूलधारमा आउन नसकेको बताए । उनका अनुसार २३ गतेको घटनापछि पुराना दलहरू केही हदसम्म विस्थापित भए पनि सामाजिक सञ्जालमा देखिएको ‘झोले’, ‘सुल्फे’ र ‘खरानी’ जस्ता गालीगलौज तथा चरम ध्रुवीकरणले लोकतान्त्रिक संस्थालाई अझ कमजोर बनाएको छ ।
सुरक्षा निकायप्रति असन्तुष्टि व्यक्त गर्दै उनले टिकटकजस्ता माध्यममा पेट्रोल बम बनाउने तालिम चलिरहँदा र आन्दोलनको तयारी भइरहँदा पनि सुरक्षा निकाय बेखबर रहनु उदेकलाग्दो भएको बताए । उनले कोरियाली ईपीएस काण्ड र चैत १५ को राजावादी आन्दोलन जस्ता घटनाले पहिले नै सुरक्षा चुनौतीका संकेत दिएको उल्लेख गर्दै राज्यले सुरक्षा संवेदनशीलतालाई गम्भीर रूपमा नलिएको आरोप लगाए ।
‘हामी नागरिक सत्ताको बलमा परिवर्तन चाहन्थ्यौँ, तर हाम्रा सुरक्षा निकायहरू यति कमजोर रहेछन् कि आन्दोलनको सामान्य स्वरूपसमेत थाहा पाएनन्,‘उनले भने, ‘राष्ट्रिय सुरक्षा केवल बाह्य हस्तक्षेपबाट मात्र होइन, हाम्रा आफ्नै संरचनाहरू भित्रभित्रै खोक्रिँदै गएकाले बढी जोखिममा परेको छ ।’
अन्सारीले गुप्तचरी संयन्त्र र पूर्वतयारी प्रणाली लगभग शून्य अवस्थामा रहेको आरोप लगाउँदै प्रधानमन्त्रीको सुरक्षामा खटिनुपर्ने निकायले नै ‘उद्धार गर्न सक्दैनौँ, राजीनामा दिनुस्’ भन्नु संस्थागत कमजोरीको पराकाष्ठा भएको टिप्पणी गरे ।
उनले लोकतन्त्रलाई दिगो बनाउन संस्थागत सुदृढीकरण, सुरक्षा संयन्त्रको सुधार तथा विचारको चरम ध्रुवीकरण रोक्न आवश्यक रहेकोमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया