दलहरू विचार र सामूहिक निर्णयबाट चल्न छोडे : वरिष्ठ अधिवक्ता भट्टराई

लोकपथ
49
Shares

काठमाडौं । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले नेपालको वर्तमान संविधान, न्यायपालिका र राजनीतिक दलहरूको कार्यशैलीप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान निर्माणमा संलग्न शक्तिहरू स्वयंले नै संविधानलाई कमजोर बनाउने प्रयास गरिरहेको टिप्पणी गरे ।

उनका अनुसार प्रतिनिधि सभाको पहिलो र दोस्रो विघटनका घटनाबाट संविधानलाई ‘डिरेल’ गर्ने र यसको ‘चिरहरण’ गर्ने प्रक्रिया सुरु भएको हो ।

भट्टराईले विगतमा भएका विघटनका समयमा नागरिक र राजनीतिक दलहरू सडकमा उत्रिएको तथा अदालतले संविधानलाई सही मार्गमा फर्काएको स्मरण गरे । तर अहिलेको परिस्थिति फरक भएको भन्दै उनले न्यायपालिकाको भूमिकाप्रति आशंका व्यक्त गरे ।

उनले आफू दैनिक बहसका लागि अदालत पुग्ने कानुन व्यवसायी भएर पनि यस्तो धारणा राख्नुपर्दा दुःखी भएको उल्लेख गरे । उनका अनुसार अहिले अदालतमा संविधानको मर्मअनुसार निर्णय गर्ने साहस कमजोर बन्दै गएको महसुस हुन थालेको छ ।

राजनीतिक दलहरूबारे टिप्पणी गर्दै भट्टराईले दलहरू प्राइभेट लिमिटेड कम्पनीजस्तै बनेको आरोप लगाए । दलहरूमा आन्तरिक लोकतन्त्र कमजोर हुँदा नागरिक स्वतन्त्रतामा ठूलो धक्का पुगेको उनको भनाइ थियो ।

उनले न्यायालयको वर्तमान अवस्थाप्रति असन्तुष्टि जनाउँदै अदालत भय र त्रासको प्रभावमा चलिरहेको जस्तो देखिन थालेको टिप्पणी गरे ।

साथै, दलहरूभित्र आन्तरिक लोकतन्त्रको अभाव र न्यायालयको कमजोर उपस्थिति रहेका कारण आगामी दिन अझ चुनौतीपूर्ण हुने निष्कर्ष पनि व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?