काठमाडौं । लामो समय निर्माण अलपत्र परेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट–बुटवल सडकखण्ड विस्तारको काम अन्तिम चरणमा पुगेको छ ।
आयोजनाको भौतिक प्रगति ९१ प्रतिशत पुगेको सडक विभागका महानिर्देशक डा.विजय जैसीले जानकारी दिए ।
नागढुंगा-नौबिसे तथा नारायणघाट–बुटवल सडक खण्डको स्थलगत अनुगमन गर्दै उनले सडक निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।
महानिर्देशक डा.जैसीले आयोजनाका अधिकांश मुख्य काम सम्पन्न भइसकेको बताए । उनकाअनुसार हाल फिनिसिङ, ट्राफिक सेफ्टी, सर्भिस लेन तथा केही सहायक संरचनाका निर्माणका मात्र काम बाँकी रहेका छन् ।
उनले भने, ‘नारायणघाट बुटवल सडक लामो समयदेखि समस्याग्रस्त थियो । अहिले निर्माणको यो हामी अन्तिम चरणमा आइपुगेका छौँ । भौतिक प्रगति ९१ प्रतिशत भएको जानकारी प्राप्त भएको छ, मुख्यमुख्य कामहरू सबै सकिएका छन्, फिनिसिङ्, ट्राफिक सेफ्टीका कामहरू, सर्भिस लेन लगायतका केही काम बाँकी रहेको छ ।’
महानिर्देशक जैसीले अब दाउन्ने क्षेत्रमा विगतका वर्षामाझैँ यातायात अवरुद्ध हुने समस्या झेल्नु नपर्ने बताए । दाउन्नेमा हाल एकतर्फी दुई लेनको रिपेभमेण्ट सम्पन्न भइसकेको र तेस्रो लेन निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको बताए । जेठ १५ गतेसम्म मुख्य काम सक्ने लक्ष्य राखिएको उनले जानकारी दिए । नारायणघाट–बुटवल सडक खण्डको निर्माणमा ढिलाइ हुँदा यात्रुहरूले सास्ती खेप्दै आएका थिए ।
उनले भने, ‘विगतको वर्षकोहरुको जस्तो वर्षामा समस्या हुँदैन । हामीले धेरैजस्तो कामहरू गरिसकेका छौँ । एकतर्फको दुई लेनको काम सकिएको छ, तेस्रो लेनको काम भइरहेको छ । जेठ १५ सम्म मुख्य कामहरू सकिन्छ । धेरै पछि अब नेपाली जनताले दाउन्नेको कहर सहन पर्दैन ।’
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको नेतृत्वको प्रतिनिधिमण्डलले शनिवार नाघढुंगा नौबिसे र नारायणघाट सडक खण्डको स्थलगत अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा निर्माण व्यवसायीहरूले बिटुमिनको अभाव रहेको गुनासो गरेका थिए । उनीहरूले विटुमिन आयातको लागी सहजीकरण गरिदिन सरकारसँग माग गरे । प्रतिनिधिमण्डलले नागढुंगा सुरुङ मार्गको पनि स्थलगत अनुगमन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया