सुकुमबासी बनेका भूपु सैनिक, घर भत्किएपछि मन्दिरमा शरण [भिडियोसहित]

काठमाडौं । काठमाडौंको शंखमूल स्थित सुकुमबासी बस्ती अहिले भग्नावशेषमा परिणत भएको छ । घर भत्काइएपछि असरल्ल इट्टा, च्यातिएका टिन र धुलोले भरिएको त्यो ठाउँ । जहाँ पुग्दा कताकता नरमाइलो अनुभूती हुन्छ । त्यही ठाउँमा आफ्नै घरको अवशेष कोट्याइरहेका एक वृद्ध मानिस भेटिए । ६० वर्ष नाघिसकेका मानबहादुर कार्की, उनका साथमा पुरानो झोला छ, आँखामा थकान र आवाजमा गहिरो पीडा ।

‘म कुल पूजा गर्न सोलुखुम्बु गएको थिएँ’, उनी भन्छन्, ‘फर्केर आउँदा मेरो घर नै थिएन’ । घर भएको ठाउँमा अहिले इट्टाको डंगुर मात्र बाँकी छ । उनी ती इट्टा एक एक गरेर पल्टाउँदै आफ्ना सामान खोजिरहेका छन् । कहिले पुरानो भाँडा भेटिन्छ, कहिले फुटेको फोटो फ्रेम । धेरै सामान चकनाचुर भइसकेका छन् । ‘केही भेटिन्छ, केही फुटिसक्यो, उनी बिस्तारै बोल्छन्’ । कार्कीलाई अझै विश्वास लाग्दैन, उनी बसेको बस्ती यसरी एकाएक मेटाइन्छ भनेर ।

‘थापाथली र गैरीगाउँ हटाइँदैछ भन्ने सुनेको थिएँ’, उनी सम्झन्छन्, ‘तर हाम्रो पनि हटाउँछ भन्ने लागेको थिएन । कुनै पत्र आएन, कसैले जानकारी दिएन’ । उनको कथा केवल घर गुमाएको मानिसको कथा होइन । यो चार दशकभन्दा बढी समय संघर्ष गरेर एउटा बस्ती बसाल्ने मानिसको कथा हो ।

त्यसबेला त्यो ठाउँ अहिले जस्तो थिएन । २०३१ सालमा नै मानबहादुर शंखमुल आए । त्यतिबेला त्यहाँ सुनसान खोला किनार थियो । वरिपरि जंगल थियो, जहाँ दिउँसै श्याल कराउँथ्यो । तर त्यही उजाड ठाउँमा सुकुमबासीहरूले बस्ती बसाले । बाटो बनाए, बिजुली ल्याए, पानीको व्यवस्था गरे, विस्तारै त्यो ठाउँ शहरजस्तै बन्न थाल्यो । त्यहाँ जति पनि विकास निर्माणका कामहरु भए ती सबै सुकुमबासीहरुकै पहलमा भएको मान्छन् मानबहादुृर ।

आफ्नो पहलमा मानबहादुरले जुन मन्दिर बनाए, आज त्यही मन्दिर उनको आश्रय बनेको छ । कार्की पूर्व नेपाली सेना पनि हुन् ।

देशको सेवा गरेका एक नागरिक । तर अहिले उनी आफैंलाई असहाय महसुस गरिरहेका छन् । उनी भन्छन्, ‘बच्चाहरु सानै हुँदा श्रीमतीको मृत्यु भयो । आफैँले दुख गरेर छोराछोरी हुर्काए । श्रीमती बितेपछि सन्तानका लागि आफैँ बा पनि बने आमा पनि बने ।’ घर भत्काइँदा उनी र दुई वटै छोरा गाउँमै थिए । घरभित्र रहेका नागरिकता, कागजपत्र र सामान पुरिए । उनको नागरिकता भने संयोगले उनीसँगै थियो ।

छोराहरूको कागज सबै घरभित्रै पुरियो, उनी भन्छन्, ‘अब खोज्दै निकाल्दै छु ।’ सरकारले बनाएको होल्डिङ सेल्टरमा उनी गएका छैनन् । ‘कार्की मन्दिरमै बसिरहेका छन् । दुई छाक खान मात्रै त्यहाँ किन जाने ? उनी प्रश्न गर्छन् । होटलमा खाँदा दिनको सात सयभन्दा बढी खर्च हुन्छ । त्यसको जिम्मा कसले लिने ?’

उनको अर्को पीडा झन् गहिरो छ, पहिचानको पीडा । फेरि सुकुमबासी हो भन्ने थाहा पाएपछि घरबेटीले डेरा पनि दिन मान्दैनन् । घरको भग्नावशेष हेर्दै उनी केही बेर मौन हुन्छन् । अनि भन्छन्, ‘हामीले नै यो ठाउँ बसायौँ । अहिले आएर हामीलाई नै विचल्ली बनाइयो ।’ जेनजी आन्दोलनको परिवर्तनपछि बनेको नयाँ सरकारसँग उनको ठूलो अपेक्षा थियो । अझ बालेन प्रधानमन्त्री बनेपछि आफू जस्ता भूई मान्छेहरुको व्यवस्थापन हुने उनको विश्वास थियो ।

तर अहिले उनी भन्छन्, ‘नयाँले राम्रो गर्छ भन्ने विश्वास गरेका थियौँ । तर पुरानाभन्दा बढी दुःख दियो । अन्तिममा कार्कीको आवाज झन् भारी हुन्छ । म पनि नेपाली नागरिक हुँ । देशभक्त हुँ । सेना भएर देशको सेवा गरेँ । तर पनि यस्तो दुःख पाएँ ।’

बालेन प्रधानमन्त्री बनेपछिका सुरुवाती दिनमै उनको घरमा डोजर चलेपछि भने उनको घर मात्र होइन मन पनि भत्किएको छ ।उनले एकपटक वरिपरि हेर्छन् भत्किएको घर, फुटेका इट्टा, धुलो, र मन्दिरको चिसो भुइँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?