जेनजी प्रतिनिधिहरुले बैठक नै बहिस्कार गरेपछि ‘संविधान संशोधन कार्यदल’ ले के भन्यो ?

लोकपथ
147
Shares

काठमाडौं । जेनजीका प्रतिनिधिहरुले ‘संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदल’ ले आह्वान गरेको बैठक बहिस्कार गरेपछि कार्यदलले संवादका लागि पुनः आह्वान गरेको छ ।

कार्यदलले जेनजीका प्रतिनिधिहरुसँग छलफलका लागि बैठक आह्वान गरेको थियो । तर जेनजीका प्रतिनिधिहरुले विभिन्न माग राख्दै बैठक नै बहिस्कार गरेपछि कार्यदलका संयोजक अशिम शाहले अन्यौलता चिर्दै सकारात्मक संवादका लागि आह्वान गरेका हुन् ।

संयोजक शाहले सबै सरोकारवालाको सुझाव समेटेर बहसपत्रलाई पूर्णता दिनु नै कार्यदलको मुख्य ध्येय रहेको र सोहीअनुरूप जेन्जीहरूलाई पनि छलफलका लागि आमन्त्रण गरिएको स्पष्ट पारे ।

कार्यदलले आज साँझ ५ बजेका लागि समय तय गरिएको थियो । तर जेनजी प्रतिनिधिहरुले अघिल्लो सरकार (सुशीला कार्की नेतृत्वको सरकार) सँग भएका सहमतिको विषयलाई लिएर असन्तुष्टि जनाउँदै बैठक बहिस्कार गरेका हुन् ।

कार्यदलका संयोजक शाहले अघिल्लो सरकारसँग भएका सहमतिहरू कार्यान्वयनकै चरणमा रहेको र जेनजी परिषद् निर्माणको कार्य पनि अन्तिम चरणमा पुगेको समेत स्मरण गराए ।

कार्यदलले जेनजीहरुबाट मौखिक र लिखित दुवै माध्यमबाट सुझाव लिने गरी समय व्यवस्थापन गरेको समेत बताइएको छ ।

कतिपय जेनजीका प्रतिनिधिहरुले बोल्नका लागि कम समय दिइएको भन्दै असन्तुष्टि जनएका थिए ।

कार्यदलका संयोजक शाहले कुनै पनि राजनीतिक विवाद वा भ्रमको पछि नलाग्न समेत भनेका छन् । साथै आफ्नो अधिकार र दायित्व सम्झेर छलफलमा सहभागी हुन पुनः बैठकमा सहभागि हुन आग्रह गरिएको छ ।

कार्यदलले गत चैत २५ गतेदेखि सरोकारवालासँग छलफल सुरु गरेको थियो । यस क्रममा हालसम्म संविधानविद्, पूर्वप्रशासक र सञ्चार क्षेत्रका विज्ञहरूसँग परामर्श गरिसकिएको छ भने आगामी दिनमा अन्य सरोकारवालासँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ ।

शासकीय स्वरूप, निर्वाचन प्रणाली र संघीयता जस्ता महत्त्वपूर्ण विषयमा सबैको साझा धारणा बनाउन सरकारको १०० बुँदे कार्यसूची अनुसार यो प्रक्रिया अघि बढाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?