काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सरकारी अस्पताल र स्वास्थ्य संस्थालाई आफ्नो नाममा रहेको जग्गा तथा भवन जोगाउन सक्रिय हुन निर्देशन दिएको छ ।
मन्त्रालयले परिपत्र जारी गर्दै अस्पतालको जग्गा कतै अतिक्रमणमा परेको छ कि छैन भनेर तत्काल जाँच गर्न निर्देशन दिएकोे हो । साथै अतिक्रमण भएको भए त्यसको विवरण पनि पठाउन निर्देशन दिइएको छ ।
वीर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत ठुला अस्पताललाई आफ्नो जग्गाको साँध–सिमाना स्वीकृत नक्साअनुसार छ कि छैन भनेर हेर्न भनिएको छ । यदि कसैले अस्पतालको जग्गामा अनधिकृत रूपमा संरचना बनाएको वा कब्जा गरेको पाइएमा त्यसको विवरण तयार गर्नुपर्नेछ ।
मन्त्रालयले अतिक्रमण गर्ने व्यक्ति वा संस्थालाई पहिले लिखित सूचना दिन र तोकिएको समयभित्र खाली नगरे जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरेर हटाउन पनि निर्देशन दिएको छ ।
भविष्यमा फेरि अतिक्रमण हुन नदिन खाली गराइएको जग्गामा घेराबार र सुरक्षा व्यवस्था मिलाउन भनिएको छ । साथै, लालपुर्जा र जग्गासम्बन्धी सबै कागजात सुरक्षित र अद्यावधिक राख्न पनि निर्देशन दिइएको छ ।
परिपत्रमा वीर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, भरतपुर अस्पताल, कान्ति बाल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कोशी अस्पताल, भेरी अस्पताललगायत सरकारी अस्पतालहरूको नाम उल्लेख गरिएको छ ।
मन्त्रालयले अस्पतालको सम्पत्ति सुरक्षित राख्न र सार्वजनिक स्वास्थ्य सेवा प्रभावकारी बनाउन यस्तो कदम चालिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया