काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको तर्फबाट रामचन्द्र पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमप्रति प्रधानमन्त्रीले अपनत्व नलिएको आरोप लगाएको छ ।
बुधबार बसेको राष्ट्रिय सभा बैठकमा कांग्रेसका सचेतक पदम परियारले नीति तथा कार्यक्रममाथिको छलफल नै प्रधानमन्त्रीको अस्पष्ट भूमिकाका कारण प्रश्नको घेरामा परेको बताए ।
परियारका अनुसार राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बैठक छाडेर बाहिरिएको घटनाले संसदीय मर्यादा र लोकतान्त्रिक संस्कारमाथि गम्भीर प्रश्न उठाएको हो ।
उनले उक्त व्यवहारलाई असंसदीय, अधैर्य, अशिष्ट र अमर्यादित भन्दै त्यसले लोकतान्त्रिक मूल्य प्रणालीमा गम्भीर असर पारेको टिप्पणी गरे । उनका अनुसार नेपालको संसदीय इतिहासमै यस्तो घटना पहिलो पटक देखिएको हो, जसले लोकतन्त्रप्रति आस्था राख्ने नागरिकलाई समेत निराश बनाएको छ ।
कांग्रेस सचेतक परियारले सांसदहरूको व्यवहार पनि जिम्मेवार हुनुपर्नेमा जोड दिँदै नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला सदन छाड्ने प्रवृत्तिले संसदीय अभ्यासमाथि प्रश्न उठाएको बताए ।
उनले नीति तथा कार्यक्रमलाई प्रधानमन्त्री स्वयंले अपनत्व नलिएको अवस्थामा त्यसमाथिको छलफलको औचित्य के हो भन्ने प्रश्न उठेको छ भन्दै सरकारको स्पष्ट जवाफ माग गरेका छन् ।
परियारले प्रधानमन्त्री सदनमा उपस्थित भई घटनाबारे स्पष्ट पार्नुपर्ने माग गर्दै यस विषयमा सभामुखबाट रुलिङ आवश्यक रहेको समेत बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया