मनसुनअघि मौसम पूर्वतयारीमा जुट्यो सरकार, सात दिनसम्मको पूर्वानुमान विस्तार गरिने

लोकपथ
0
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मनसुन नजिकिँदै गर्दा मौसमी सूचना प्रवाह र विपद् पूर्व तयारीको अवस्थाबारे जानकारी लिएका छन् ।

उनले बुधबार जल तथा मौसम विज्ञान विभाग पुगी मौसम अवस्था, विशेष तथा चौबिस घण्टा पूर्वानुमान, ती नदिने पूर्वानुमान, हवाई मौसम सेवा, विशेष मौसम विश्लेषण तथा बाढीसम्बन्धी पूर्वसूचना प्रणालीबारे विभागका प्राविधिक तथा अधिकारीहरूसँग विस्तृत छलफल गरेका थिए ।

यस्तै, चालु आर्थिक वर्षका कार्यक्रमको समीक्षा तथा आगामी आर्थिक वर्षका कार्यक्रमबारे पनि छलफल भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

त्यस अवसरमा मन्त्री श्रेष्ठले आगामी दिनमा विभागलाई थप प्रविधिमैत्री बनाउँदै हालको तीन नदिने पूर्वानुमान क्षमतालाई विस्तार गरी सात दिनसम्मको पूर्वानुमान गर्न सक्ने बनाउनेतर्फ मन्त्रालयले पहल गर्ने बताए । उनले मनसुन सुरु हुने समय नजिकिँदै गएकाले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका लागि सूचना प्रणालीलाई अझ व्यवस्थित, प्रभावकारी र लक्षित समुदायसम्म पुग्ने बनाउन निर्देशनसमेत दिए ।

मन्त्री श्रेष्ठले विभागलाई मौसमको अध्ययन केन्द्र बनाउनुपर्ने र त्यहाँबाट प्राप्त सूचना र तथ्याङ्कलाई सरकारी निकाय र अन्य सेवाप्रदायकले लाभ उठाउनुपर्ने बताए । उनले सीमित स्रोतसाधन र जनशक्तिका बाबजुद निरन्तर रूपमा मौसम पूर्वानुमान तथा पूर्वसूचना प्रवाहमा खटिएका प्राविधिक र कर्मचारीको कामप्रति धन्यवाद दिँदै कर्मचारीलाई प्रोत्साहनका कार्यक्रम ल्याउनेसमेत बताए ।

उक्त कार्यक्रममा जलस्रोत सचिव सरिता दवाडी र विभागका महानिर्देशक डा अर्चना श्रेष्ठले विभागका वर्तमान गतिविधि, मौसम पूर्वानुमान प्रणाली र बाढी पूर्वसूचनासम्बन्धी कार्यप्रगतिबारे जानकारी गराएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?