सबै कुरा किनबेचमा हुन्थ्यो भने यहाँ देश बाँकी रहन्नथ्यो : निवर्तमान सशस्त्र प्रहरी महानिरीक्षक अर्याल

लोकपथ
602
Shares

काठमाडाैं । निवर्तमान सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सबै कुरा किनबेचमा सम्भव हुन्थ्यो भने यो देश नै बाँकी नरहने बताएका छन् । अर्यालले सबै कुरा र सबै व्यक्ति किनबेचमा नलागेकै कारण यो देश बाँकी रहेको समेत बताएका छन् ।

आफ्नो अवकाशपछि लोकपथसँगको कुराकानीमा निवर्तमान सशस्त्र प्रहरी प्रमुख अर्यालले सबै कुरा किनबेचमा लैजान नसकिने भन्दै आफूलाई कसैले किन्ने दुस्साहस समेत नगरेको बताए ।

प्रहरीकै पूर्व कर्मचारीहरूले ठुलो ओहोदामा पुग्न नेतृत्व वा राजनीतिक दलका व्यक्तिहरूले रकम माग गर्ने गरेको सन्दर्भमा बोल्ने गरेको भन्दै तपाईँले पनि रकम बुझाउनु प¥यो कि भन्ने लोकपथको प्रश्नमा निवर्तमान सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले आफूले कसैलाई रकम नबुझाएको र कसैले रकम नमागेको बताए ।

संगठनबाट बाहिरिएर वा जागिर छाडेर आरोप लगाउनेहरूलाई बदमासको संज्ञा दिँदै अर्यालले भने, ‘त्यो बदमास कुरा हो । पैसा बुझाएरै आईजीपी हुने हो भने त सधैँ धनी व्यक्तिहरू आईजीपी हुन्थ्यो होला नि त । मान्छेले आफूलाई सधैँ अरूभन्दा योग्य देख्छ र आफू छुट्दा असन्तुष्टि जनाउँछ, त्यो त्यही असन्तुष्टिको प्रस्फुटन मात्रै हो ।’

‘तपाईँसँग पनि एआईजी बढुवा वा आईजीपी नियुक्तिको क्रममा कुनै व्यक्ति, संस्था वा पार्टीले रकम माग गरे कि गरेनन् ?’ भन्ने लोकपथको प्रश्नमा उनले यस्तो जवाफ दिए ।

‘त्यो बदमास कुरा हो नि । अब त्यसो भए त सबैभन्दा धनी मान्छे आईजी हुनुपर्ने त १ इन्स्पेक्टर देखि नै पैसा दिँदै जाँदा खेरि धनी नै आईजी हुनुपर्ने होइन र रु त्यो कुरा हुँदै होइन, मलाई त्यस्तो लाग्दैन । अब मान्छेले असन्तुष्टि पोख्दा म यो कारणले ठिक थिएँ भनेर कारण दिन्छन् अरू अरूलाई दोष दिन्छन् । त्यस्ता मान्छेहरूले कुनै सेक्टरमा पनि पोजेटिभ कुरा गर्दैनन् । मैले सबै पोलिटिकल पार्टीहरूसँग काम गरेँ । मैले भनिहालेँ नि, समाज अनुसार पोलिटिकल पार्टी पनि चल्छ, समाज अनुसार अर्गनाइजेसन पनि चल्छ । तर सबै कुरा किनबेचमा हुन्न । यदि सबै कुरा किनबेचमा हुन्थ्यो वा हुने हो भने त यहाँ देशै रहन्नथ्यो । समाजका केही बाछिटा चाहिँ अझै बाँकी नै छन् भन्ने हो । अब त्यो समाज अनुसार चल्ने भइहाल्यो । तर ओहोदामा पुग्न वा आईजीपी बन्न रकम नै बुझाउनुपर्छ भनेर कसैले भन्छ भने त्यो असन्तुष्टि मात्रै हो, त्यो बदमास हो ।’

२०५४ साल जेठ १८ गते नेपाल प्रहरीमा प्रहरी निरीक्षक पदबाट सेवा प्रवेश गरेका सशस्त्र प्रहरीका निवर्तमान महानिरीक्षक राजु अर्याल शनिवारबाट अनिवार्य अवकाशमा गएका छन् । प्रहरी निरीक्षकमा भर्ना भएको ४ वर्षपछि सशस्त्र प्रहरी गठन हुँदा उनी एक तह बढुवासहित सशस्त्र प्रहरीमा डिएसपी पदमा स्थानान्तरण भएका थिए । त्यसपछि पहिलो नम्बरमै एसपी, एसएसपी, डिआईजी हुँदै उनी एकलरुपमा एआईजीबाट आईजीमा नियुक्त भएका थिए। डिआईजीबाट एआईजी बनेको ६ दिनपछि नै आईजीपी बनेका अर्यालले सशस्त्र प्रहरीभित्र अनुशासनको पालना र प्राप्त जिम्मेवारीको कार्यान्वयनमा योजनासहित महत्त्वपूर्ण काम गरेर बिदा भएका हुन् ।

महानिरीक्षकको पदावधि ४ वर्षको हुने कानुनी व्यवस्था अनुसार अर्याल अवकाशमा गएपछि अब नारायणदत्त पौडेल सशस्त्र प्रहरीको महानिरीक्षकमा नियुक्त भइसकेका छन् र सोमबार सरकारले दर्ज्यानी चिन्ह दिएपछि उनी औपचारिक रूपमा सशस्त्र प्रहरी महानिरीक्षक बन्ने छन् ।

अर्यालसँग गरिएको कुराकानीको विस्तृत अंश आइतबार लोकपथमा प्रकाशन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?