जलेका गाडीको नाममा इन्धन दुरुपयोग : अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहताको निर्देशन

लोकपथ
98
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोग प्रकरणमा छानबिन गरी दोषीमाथि कारबाही गर्न निर्देशन दिएकी छन् ।

‘जेनजी’ आन्दोलनका क्रममा जलेर पूर्ण रूपमा क्षति भएका सवारी साधनको नाममा समेत कर्मचारीले इन्धन सुविधा लिने गरेको तथ्य खुलेपछि मन्त्री मेहताले मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शर्मालाई तत्काल अनुसन्धान अघि बढाउन निर्देशन दिएकी हुन् ।

मन्त्रालयका अनुसार उक्त आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयका १८ वटा तथा मन्त्रालयअन्तर्गतका अन्य निकायका ६ वटा गरी कुल २४ वटा सवारी साधन जलेका थिए । तीमध्ये अधिकांश सवारी साधन पूर्ण रूपमा काम नलाग्ने अवस्थामा पुगेका छन् ।

तर, यिनै जलेका सवारी साधनको विवरण देखाएर केही कर्मचारीले निरन्तर इन्धन सुविधा लिँदै आएको पाइएको छ । मन्त्रालयले यसलाई गम्भीर अनियमितता मानेर छानबिन प्रक्रिया अघि बढाएको हो ।

मन्त्री मेहताले सरकारी स्रोतसाधनको दुरुपयोग कुनै पनि हालतमा स्वीकार्य नहुने बताउँदै वास्तविक विवरण संकलन गरी दोषी पहिचान गर्न निर्देशन दिएकी छन् । साथै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन सवारी साधन र इन्धन व्यवस्थापन प्रणालीलाई थप पारदर्शी र व्यवस्थित बनाइने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?