काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरले कांग्रेस नेतृ लक्ष्मी खतिवडामाथि समेत अनुसन्धान गर्न राय दिएको छ । बिहीबार ललितपुर जिल्ला अदालतमा तुल्सी अधिकारीविरुद्ध दायर गरिएको ठगी, आपराधिक लाभ, आपराधिक विश्वासघात, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा लक्ष्मीलाई समेत अनुसन्धान गर्न भनेको हो ।
प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरका सहायक जिल्ला न्यायाधिवक्ता भरत कुमार मैनालीबाट दायर अभियोग पत्रमा नेतृ खतिवडामाथि पनि अनुसन्धान गर्न राय प्रदान गरेको हो ।
अभियोग पत्रमा कांग्रेस नेतृ लक्ष्मी खतिवडा र तुल्सी अधिकारीको निकट सम्बन्ध देखिएको, उनीहरू सँगै विदेश भ्रमणमा गएको देखिएको, तुल्सीले निलेकामार्फत लक्ष्मी खतिवडाको बैंक खातामा ९ लाख ८७ हजार रकम पठाएको र अदालतमा चलेको मुद्दाको सम्बन्धमा पनि शंकास्पद भूमिका देखिएको पाइएको छ ।
यी विविध कारणबाट कांग्रेस नेतृ लक्ष्मी खतिवडामाथि थप अनुसन्धान गर्नुपर्ने ठहर गरी पूरक अभियोगपत्र ल्याउन सक्नेतर्फ संकेत गरेको छ ।
के हो तुल्सी र लक्ष्मीको सम्बन्ध ?
नेपाली कांग्रेसकी नेतृ लक्ष्मी खतिवडा र टिकटकर तुल्सी अधिकारीको सम्बन्ध सतहमा दिदीबहिनीका रूपमा देखिएको छ । तुल्सीको पक्षमा निरन्तर वकालत गर्दै आएकी लक्ष्मी खतिवडाले जाहेरवालालाई निजको कार्यालयबाटै अपहरण गरी धम्काएको समेत पीडितले लोकपथसँग बताएका छन् । तुल्सी अधिकारीको आपराधिक लाभ र ठगीको कसुरमा लक्ष्मी खतिवडाको समेत संलग्नता रहेको पीडित परिवर्तित नाम शंकर चिमोरियाले आरोप लगाएका छन् ।
तुल्सीसँग नजिक रहेकी खतिवडा उनीसँगै विदेश भ्रमणमा समेत जाने गरेको पाइएको छ भने तुल्सीले निलेकामार्फत लक्ष्मीलाई झन्डै १० लाख रुपैयाँ दिएको समेत पाइएको छ ।

प्रहरी अनुसन्धानका क्रममा तुल्सी अधिकारीले नेलिका लामिछानेमार्फत लक्ष्मीको मोबाइलको पटक पटक रिचार्ज गरिदिएको, किनमेल गरिदिएको, रकम ट्रान्सफर गरिदिएको पाइएको छ, जुन कुरा नेलिका लामिछानेले प्रहरीसँगको बयानमा समेत खुलाएकी छिन् ।
त्यसै गरी नेलिका लामिछानेको प्राइम कमर्सियल बैंकको खाताबाट सन् २०२३ देखि २०२५ को अवधिमा लक्ष्मी खतिवडाको बैंक खाता, फोन नम्बर तथा व्यक्तिगत नाममा गरी कुल ९ लाख ७९ हजार ८०४ रुपैयाँ ३५ पैसा पठाइएको र रिचार्ज समेत गरी कुल ९ लाख ८७ हजार १०४ रुपैयाँ ६० पैसा दिइएको प्रमाण पेस गरिएको छ ।
त्यसै गरी रिमाक्र्समा ‘लक्ष्मी खतिवडा’ लेखेर २०२५ मे २ मा मञ्जु राईको नाममा ३६ हजार ३९३ रुपैयाँ, अगस्ट ८, २०२५ मा फेरि ३६ हजार ३९२ रुपैयाँ र नोभेम्बर १२, २०२५ मा सञ्जय सिलवालमार्फत ८० हजार रुपैयाँ पठाइएको पाइएको छ ।
अदालती मुद्दामा पनि लक्ष्मीको चलखेल ?
कांग्रेस नेतृ लक्ष्मी खतिवडाले अदालती मुद्दामा पनि चलखेल गरेको हुन सक्नेतर्फ अनुसन्धानले संकेत गरेको छ । तुल्सा कलेक्सन, तुल्सी अधिकारी र नेलिका लामिछानेसँग कनेक्सन देखिएका सन्तोषकुमार घिमिरेले गरेको बयानमा लक्ष्मी खतिवडाले अदालती मुद्दाको प्रक्रियामा सहयोग गरेको र रकम ‘फिर्ता’ गरेको उल्लेख गरेका छन् ।
पहिले घिमिरेको बयान हेरौँ,
‘सन्तोष सुवेदी मैले सञ्चालन गरेको ग्रिनतारा ईन्टरनेशनल ओभरसिज प्रालिमा म्यानेजरको रूपमा कार्यरत कर्मचारी हुन् । मेरो श्रीमती नेहा पौडेलको विरुद्धमा सहकारी ठगी मुद्दा जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता भई अनुसन्धान पश्चात् सम्मानित जिल्ला अदालत पर्सामा पेस हुँदा सम्मानित अदालतबाट रु. १ करोड १० लाख रुपैयाँ धरौटी माग भएको र बैंकिङ कारोबार गर्ने समय समेत सकिएकोले माग बमोजिम धरौटी बुझाउन अप्ठ्यारो परेकोले म सँगै रहनु भएको मैले चिनाजानेको दिदी भनी सम्बोधन गर्ने लक्ष्मी खतिवडा दिदीले आफ्नो चिनजानमा रहेको दीपेन्द्र कुमार उपाध्याय मार्फत पर्सा वीरगन्जका कुनाल कुमार जयसवाल र अजय कुमार चौरसिया समेतलाई अनुरोध गरी रु. २४ लाख रुपैयाँ नगदै मलाई उपलब्ध गराई दिनु भएको हुँदा सो रकम फिर्ता गर्न म सँग रकम अभाव भएकोले लक्ष्मी खतिवडा दिदीको चिनजानमा रहेकी प्रतिवादी तुलसा भन्ने तुल्सी अधिकारीमार्फत माथिका व्यक्तिहरूलाई सापटी फिर्ता स्वरूप रु. १० लाख रुपैयाँ कुनाल कुमार जयसवालको बैंक खातामा, रु. १० लाख अजय कुमार चौरसियाको बैंक खातामा र आदित्य ईन्टरनेशनलको बैंक खातामा रु. ४ लाख गरी जम्मा रु. २४ लाख रुपैयाँ फिर्ता गरिएको थियो । उक्त फिर्ता गरिएको रकम मैले तुल्सी अधिकारीलाई फिर्ता गर्नु पर्ने भएकोले केही दिनपछि मेरो ससुरा भूपेन्द्र पौडेल मार्फत रु. ४ लाख रुपैयाँ नगद तुल्सा अधिकारीले सञ्चालन गरेको तुल्सा कलेक्सनको बैंक खातामा नगद जम्मा गरेको र मेरो प्रालिमा काम गर्ने सन्तोष सुवेदीले आफ्नो नाममा सञ्चालन रहेको बैंक खाताबाट रु. २० लाख रुपैयाँ मेरो श्रीमतीको गरगहना धरौटी राखी कर्जा लिई सोही लिएको कर्जाबाट निज तुल्सा अधिकारीले सञ्चालन गरेको तुल्सा कलेक्सन प्रालिको खातामा ट्रान्सफर गरी फिर्ता गरिएको हो ।’
त्यसै गरी सन्तोष सुवेदीले गरेको घटना विवरण कागजमा पनि सो रकम दिइएको स्वीकार गरेका छन् ।
सन्तोष सुवेदीको बयानमा भनिएको छ:
‘म ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं.१४ कुसुन्ती स्थितमा रहेको ग्रिनतारा ईन्टरनेशनल ओभरसिज प्रालिमा म्यानेजरको रूपमा कार्यरत रहेको छु । उक्त प्रालिका सञ्चालक सन्तोष कुमार घिमिरे हुन् । मैले काम गर्ने गरेको प्रालिका सञ्चालक सन्तोष कुमार घिमिरेले मलाई समस्या परेको छ, तपाईँले मेरो श्रीमतीको गर–गहना धितो राखेर पैसा निकाल्नु पर्ने भयो भन्ने कुरा गर्नु भएको हुँदा मैले प्रालिको सञ्चालकले भने अनुसार नेपाल बैंकको न्यूरोड शाखामा गई सुनका गर–गहना धितो राख्दा रु. २० लाख रुपैयाँ कर्जा लिई मेरो आफ्नो नाममा रहेको खातामा जम्मा हुन आएको र उक्त रकम प्रालिका सञ्चालकले आफ्नो श्रीमतीको सहकारी ठगी सम्बन्धी मुद्दा जिल्ला अदालत पर्सामा भएकोले अदालतबाट तोकेको धरौटी राख्न साथी मार्फत रकम लिएको हुँदा साथीले उक्त पैसा तुल्सा कलेक्सन प्रालिमा जम्मा गर्नको लागि खाता नम्बर समेत दिएको छ, उक्त खातामा रकम जम्मा गरी दिनुहोस् भनेको हुँदा मैले सोही बमोजिम तुल्सा कलेक्सन प्रालिको खाता रहेको कुमारी बैंकको खातामा दुई पटक गरी जम्मा रु. २० लाख रुपैयाँ जम्मा गरी दिएको हुँ ।’
यी दुई बयानले उक्त रकम पर्सा जिल्लामा चलेको मुद्दामा धरौटी राख्ने प्रयोजनका लागि लिइएको र त्यसमा लक्ष्मी खतिवडाले समन्वय गरेको देखिन्छ । स्मरणीय के छ भने नेपाली कांग्रेसका नेता अजय कुमार चौरसिया कानुनमन्त्री रहेका थिए र उनी पर्सा जिल्लाकै प्रतिनिधि थिए । यद्यपि यहाँ नाम उल्लेख गरिएका अजयकुमार चौरसिया र रकम लिइएको वा दिइएको भनिएका अजयकुमार चौरसिया एकै व्यक्ति हुन् कि होइनन् भन्ने कहीँ खुलेको छैन । किनभने अजयकुमार चौरसियाको कुनै ठेगाना यहाँ उल्लेख गरिएको छैन ।
लक्ष्मीविरुद्ध अनुसन्धान गरी मुद्दा दायर हुन सक्ने
सरकारी वकिलले आफ्नो अभियोग पत्रमा कांग्रेस नेतृ लक्ष्मी खतिवडाको सम्बन्धमा थप अनुसन्धान आवश्यक रहेको र पछि पूरक अभियोग पत्र आउन सक्नेतर्फ संकेत गरेको छ । अहिलेको मुख्य अभियोगमा उनीमाथि मुद्दा नचलाइएको भए पनि पछि सम्पत्ति शुद्धीकरण र आपराधिक लाभको कसुरमा थप प्रमाण प्राप्त भएपछि मुलुकी फौजदारी अपराध संहिता, २०७४ को दफा ३५ बमोजिम पूरक अभियोग पेस गर्न सकिने तर्फ इङ्गित गरेको छ ।
यसको कारणहरूमा लक्ष्मीको तुल्सी र नेलिकासँगको लगातार सम्पर्क भएको कल डिटेल रिपोर्ट, टिकटकका भिडियो, सँगै विदेश यात्रा गरेका प्रमाणहरू, नेलिकाको बैंक खाताबाट लक्ष्मीको खातामा ९ लाख ८७ हजार रुपैयाँ हालिएको, सन्तोष घिमिरेको बयान कागजमा लक्ष्मीको मौखिक निर्देशनमै ठुलो रकम स्थानान्तरण गरिएको, लक्ष्मीले जाहेरवालालाई धम्की दिएको आदि तथ्यहरूलाई हेरी थप अनुसन्धान गर्नुपर्ने राय दिएको छ ।
अभियोगपत्रको ‘अन्य कुरा खुलाउनु पर्ने भए सो कुराहरू’ शीर्षकमा यस्तो लेखिएको छ :
‘यसै गरी अनुसन्धानको क्रममा नाम खुल्न आएका लक्ष्मी खतिवडाले मुख्य प्रतिवादी तुलसा भन्ने तुल्सी अधिकारीसँग निज यस मुद्दामा फरार भए पश्चात् पनि निरन्तर र पटक-पटक फोन तथा अन्य टिकटक लगायतका सोसल मिडिया तथा सामाजिक सञ्जालमा सम्पर्कमा रहेको, अनुसन्धानको क्रममा प्राप्त भएको सीडीआर विश्लेषण तथा मिसिल संलग्न भएका टिकटक भिडियो समेत देखिएको, अर्का प्रतिवादी नेलिका लामिछानेसँग समेत सोही अनुसार निरन्तर सम्पर्कमा रहेको देखिएको, निज लक्ष्मी खतिवडा प्रतिवादी तुलसा भन्ने तुल्सी अधिकारी र प्रतिवादी नेलिका लामिछानेसँगै विदेश भ्रमण गर्ने र नेपालमा समेत सँगै रहने गरेको देखिएको, अनुसन्धानको क्रममा बुझिएका मानिस सन्तोष घिमिरेको कागजमा निज लक्ष्मी खतिवडाले भने अनुसार आफ्नो लागि प्रतिवादी तुल्सी अधिकारीले अजय कुमार चौरासिया र कुनाल कुमार जैसवालको खातामा रु. १०।१० लाख रकम जम्मा गरेको भनी खुलाएको हुँदा प्रतिवादी तुलसा भन्ने तुल्सी अधिकारीसँग निजको अप्रत्यक्ष कारोबार देखिएको, प्रतिवादी नेलिका लामिछानेले अनुसन्धानको क्रममा बयान गर्दा समेत म, प्रतिवादी तुल्सी अधिकारी समेतसँग विदेश घुम्न जाँदा मेरो टिकट सन्तोष घिमिरेले काटी दिएको भनी खुलाएको र टिकटक भिडियोमा निज प्रतिवादी नेलिका लामिछाने, तुल्सी अधिकारी र निजको छोरी …. न्यौपाने र लक्ष्मी खतिवडासँग विदेश प्रमाणमा गएको देखिएको, प्रतिवादी नेलिका लामिछानेले निजको मुक्तिनाथ विकाश बैंक लि.मा रहेको खाता नम्बर ००४२०६०००६८XXX०००००१ बाट लक्ष्मी खतिवडालाई निजको मोबाइल नम्बर ९८०११०XXX४ र ९८५११०XXX४ मा १२ पटक गरी रु. ७,३००.२५ को मोबाइल रिचार्ज गरेको देखिएको, प्रतिवादी नेलिका लामिछानेले निजको प्राइम कमर्सियल बैंकमा रहेको खाता न. ००२०१०००००००XXX०१३३ बाट लक्ष्मी खतिवडाको लागि पटक–पटक गरी रु. ९,८७,१०४.६० रकम मोबाइल बैंकिङ मार्फत भुक्तानी गरी खर्च गरेको बैंक स्टेटमेन्टबाट देखिएको, प्रतिवादी नेलिका लामिछानेले जाहेरवालसँग भेट गरी डर त्रास पार्ने क्रममा ‘म आएको कुरा लक्ष्मी खतिवडा दिदी’लाई नभन्नु भन्ने संवाद सुनिने अडियो समेत मिसिल संलग्न रहेको देखिएकोले निजको हकमा अनुसन्धान जारी नै राखी आपराधिक लाभ र सम्पत्ति शुद्धीकरण कसुरमा पछि थप प्रमाण खुल्न आएका बखत मुलुकी फौजदारी अपराध संहिता, २०७४ को दफा ३५ बमोजिम थप अभियोग पेस गर्ने गरी मागदाबी लिनुहुन समेत अनुरोध छ ।’
यसरी टिकटकर तुल्सी अधिकारीको हनी ट्र्याप र सम्पत्ति शुद्धीकरणको कसुरमा नेपाली कांग्रेसकी नेतृ लक्ष्मी खतिवडाको समेत संलग्नता रहेको भन्दै पछि पूरक अभियोग पत्र पेस गर्ने गरी हाललाई मूल अभियोग पत्र बुझाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया