म्याग्दीमा डढेलोको जोखिम बढ्दो, ९६ प्रतिशत आगलागी मानव लापरबाहीका कारण

लोकपथ
35
Shares

म्याग्दी । सुक्खायाम सुरु भएसँगै म्याग्दी जिल्लामा वन डढेलोको जोखिम उल्लेखनीय रूपमा बढेको छ । आगोको जथाभाबी प्रयोगका कारण वनजङ्गलमा आगलागीका घटना बढ्दै गएका हुन् ।

डिभिजन वन कार्यालयका अनुसार डढेलोका कारण वनजङ्गल मात्र होइन, वन्यजन्तु, जडीबुटी तथा समग्र पर्यावरणमा गम्भीर क्षति पुगिरहेको छ । डिभिजनल वन अधिकृत वसन्तकेशव अधिकारीका अनुसार करिब ९६ प्रतिशत डढेलो मानवीय लापरबाहीका कारण हुने गरेको पाइएको छ ।

उनले घाँस पलाउने बहाना, अवैध सिकार, खोरिया फडानी, वन्यजन्तु धपाउने प्रयास, वन अपराध लुकाउने उद्देश्य तथा व्यक्तिगत रिसइवीका कारण आगो लगाउने प्रवृत्ति बढेको बताए ।

म्याग्दीमा विशेष गरी फागुनदेखि जेठसम्म डढेलोका घटना बढी हुने गरेका छन् । यसबाट रुखबिरुवा, जडीबुटी, वन्यजन्तु र चराचुरुङ्गीको वासस्थान नष्ट हुनुका साथै डढेलो नियन्त्रणका क्रममा विगतमा मानवीय क्षति समेत भएको छ ।

डढेलोको जोखिमका आधारमा म्याग्दी नेपालका ७७ जिल्लामध्ये ३०औँ स्थानमा पर्छ । डिभिजन वन कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा १०२ स्थानमा ७९० हेक्टर, २०८०/८१ मा १४५ स्थानमा ८९० हेक्टर र २०८१/८२ मा ११५ स्थानमा ८०५ हेक्टर वन क्षेत्रमा डढेलोले क्षति पुर्‍याएको छ ।

गोठालाले राम्रो घाँस पलाउने विश्वासमा जङ्गल तथा भिरमा आगो लगाउने र सिकारीले वन्यजन्तु भगाउन डढेलो लगाउने चलन अझै कायम रहेको वन कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमा डढेलोबाट भएको क्षतिको विवरण संकलन सुरु गरिएको वन अधिकृत चन्द्रमणि सापकोटाले बताए ।

डढेलो रोकथाम तथा नियन्त्रणका लागि जिल्लास्तरमा कार्य योजना तयार गरी सुरक्षा निकाय, प्रशासन, स्थानीय तह तथा सामुदायिक वन उपभोक्ता समूहसँग सहकार्य गरिएको छ । सम्भावित क्षति न्यूनीकरणका लागि प्रतिकारात्मक तथा नियन्त्रणात्मक रणनीति अवलम्बन गरिएको जनाइएको छ ।

साथै, वन उपभोक्ता र विद्यालयस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै सुरक्षा निकायलाई आवश्यक सामग्री उपलब्ध गराइएको छ । वन्यजन्तुलाई पानीको अभावका कारण बस्तीमा आउन नपरोस् भनेर यस वर्ष छवटा सामुदायिक वनमा पोखरी निर्माणको तयारी गरिएको वन अधिकृत शान्तिकुमारी शाहीले जानकारी दिइन् ।

म्याग्दी जिल्लामा कुल दुई लाख २९ हजार ७०६ हेक्टर क्षेत्रफलमध्ये ३६.७६ प्रतिशत वन, १.८५ प्रतिशत झाडी र २१.२७ प्रतिशत चरन क्षेत्र रहेको छ । जिल्लामा तीन सय ११ वटा सामुदायिक वन उपभोक्ता समूह क्रियाशील छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?