रवि लामिछानेको अभियोग संशोधन विवाद : सर्वोच्चमा आज पनि सुनुवाइ

लोकपथ
133
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध दायर गरिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ता गर्ने निर्णयविरुद्ध परेको रिटमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

सोमबार न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइ भए पनि बहस नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको थियो । सोही कारण मंगलबार पनि सुनुवाइ निरन्तर हुने भएको हो ।

लामिछानेविरुद्ध सहकारी ठगीसँगै दायर गरिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालय को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको हो ।

महान्यायाधिवक्ता सविता भण्डारी बराल ले विभिन्न जिल्लामा दर्ता भएका मुद्दा फिर्ता लिन निर्देशन दिएपछि विवाद सुरु भएको हो ।

उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल ले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

यसअघि महान्यायाधिवक्ताले लामिछानेमाथि सहकारी ठगीसम्बन्धी मुद्दा मात्रै चलाउन र अन्य मुद्दा फिर्ता लिन निर्देशन दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?