कसको आँखा लाग्यो सशस्त्रका यी दुई डीआईजीलाई ?

सिफारिस भएका चारमध्ये दुई जनाको थप, दुई जनाको थप भएन

लोकपथ
1.7k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल मुख्यालयले साधारण समूह साधारण उपसमूहका दुई र प्राविधिक समूहका दुई जना गरी चार जना नायव महानिरीक्षक (डीआईजी)को पदावधि थप गर्न गृह मन्त्रालयमा पत्राचार गरेपनि हिजो (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिक समूहका दुई जना डीआईजीको मात्र म्याद थप गरेको छ । 

स्रोतका अनुसार, मन्त्रिपरिषद् बैठकले प्राविधिक समूह स्वास्थ्यतर्फका डीआईजी डा. रूपक महर्जन र प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङतर्फका डीआईजी ई. सन्दीप थापाको एक वर्ष म्याद थप गर्ने निर्णय गरेको छ । तर, साधारण समूह साधारण उपसमूहका दुई डीआईजी लक्ष्मणबहादुर सिंह र प्रदीपकुमार पालको म्याद थपको बारेमा भने कुनै निर्णय लिएन । 

सिंह अहिले राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय र प्रदीप पाल कार्य विभागमा कार्यरत छन् । सिंह र पाल दुवै जना नेपाल प्रहरीको प्राविधिक सईमा भर्ना भएर सशस्त्र प्रहरीमा स्थानान्तरण भएका हुन् । 

स्रोतका अनुसार, साधारण उपसमूहका दुई डीआईजी सिंह र पालको विषयमा मन्त्रिपरिषद् बैठकमा ‘सामान्य’ छलफल मात्रै भएको थियो । 

यी चारै जना डीआईजी २०७८ साल चैत ६ गते डीआईजीमा बढुवा भएका थिए । बढुवा समितिले २०७८ साल फागुन २७ गते उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको थियो । 

उनीहरू चारै जनाको चार बर्से पदावधि यही चैत ५ गते सकिँदै थियो । 

सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) को सिफारिसमा नेपाल सरकारले अतिरिक्त महानिरीक्षक (एआईजी) र डीआईजीको पदावधि चार वर्षपछि एक वर्ष थप्न सक्ने उल्लेख छ । सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ को (ग) अनुसार सशस्त्रका एआईजी÷डीआईजीको पदावधि चार वर्षको रहेको छ । तर, नियमावलीको दफा ६५ कै (ग) को (२) उपनियममा सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) को सिफारिसमा नेपाल सरकारले अतिरिक्त महानिरीक्षक (एआईजी) र डीआईजीको पदावधि चार वर्षपछि एक वर्ष थप्न सक्ने उल्लेख छ । 

चैत ५ गतेसम्म पनि म्याद थप नभए डीआईजीद्वय सिंह र पाल अवकाशमा जानेछन् । म्याद थप भए वरिष्ठताका आधारमा उनीहरू नै अब हुन आउने एआईजीको रिक्त पदमा पहिलो दाबेदार हुनेछन् । 

उनीहरूको म्याद नथप्न सशस्त्र प्रहरीको सिसं १ सशस्त्र प्रहरी निरीक्षक बेसिकका दुई डीआईजी सुरेशकुमार श्रेष्ठ र अन्जनीकुमार पोखरेल लागिपरेको स्रोतको दाबी छ । आफ्नो समूहका दुई डीआईजी सिंह र पालको म्याथ थपे आफूहरूको वृत्तिविकासमा गम्भीर असर पर्ने भन्दै उनीहरूले लबिङ तीव्र पारेको जनाइएको छ । 

सिसं १ सशस्त्र प्रहरी निरीक्षक बेसिकका डीआईजीद्वय श्रेष्ठ र पोखरेल एक वर्षअघि चार डीआईजीहरु कमल गिरी, गणेशबहादुर ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको एक वर्ष म्याद नथप्न पनि चर्को रूपमा लागेका थिए । उनीहरूको दबाबका कारण यी चार डीआईजीको म्याद नथपेर बसेको तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अवकाशमा जान तीन घण्टाअघि मात्रै म्याद थपिदिएको थियो । 

त्यसबेला म्याद थप भएका चार जनामध्ये अहिले ठाडामगर सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भइसकेका छन् भने तीन जना म्याद थपको एक वर्ष पूरा गरेर पनि अवकाशमा गइसकेका छन् । 

गत बैशाख २ गते तत्कालीन एआईजी चन्द्रप्रकाश गौतम ३० बर्से सेवा अवधि पूरा गरेर अवकाशमा गएपछि एआईजीको रिक्त एक पदमा पनि डीआईजीद्वय श्रेष्ठ र पोखरेलले दाबी गरेका थिए । आफूहरूभन्दा ‘सिनियर’ हुँदाहुँदै फारम भरेर लबिङमा लागेपछि ठाडामगरले बोलाएरै उनीहरूको झाँको झारेका थिए । 

श्रेष्ठ र पोखरेल लामो समयदेखि म्याद थपको विरोधमा लाग्नुको मुख्य कारण भावी नेतृत्वमा पुग्ने उद्देश्यले हो । एक वर्षअघि चार डीआईजीहरु गिरी, ठाडामगर, नेम्वाङ र सुवेदीको म्याद थप नभएको भए उनीहरू ९ महिनाअघि ठाडामगरको ठाउँमा एआईजी हुने सम्भावना रहन्थ्यो । अहिले पाल र सिंहको म्याद थप नभए वर्तमान सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्याल आगामी बैशाख १८ गते चार बर्से सेवा अवधि पूरा गरी अवकाशमा जाँदा बरीयतामा आफूहरू अघि हुने र त्यसपछि रिक्त हुने एआईजीको एक पदमा आफूहरू बढुवा हुने सम्भावना रहेकाले उनीहरूले लबिङ तीव्र पारेको स्रोतको दाबी छ । कथम् सरकारले डीआईजीद्वय सिंह र पालको पदावधि थप्यो र यी दुई जना नै एआईजी भए भने उनीहरूसहित सिसं १ टोलीका चार जना डीआईजीबाटै घर जाने निश्चित छ । 

सिंह र पालको म्याद नथप्दा सशस्त्रको एआईजीमा अब पहिलोपटक सिसं १ सशस्त्र प्रहरी निरीक्षकको टोली

सिंस १ सशस्त्र प्रहरी निरीक्षक टोलीका ९ जनामध्ये अहिले ७ जना डीआईजी छन् । दुई जनाले स्टाफ कलेज नगरेकाले उनीहरू एसएसपी नै छन्, डीआईजी बन्न सक्दैनन् ।

सिसं १ को ९ जनामध्ये पहिलो लटमा चार जना सुरेशकुमार श्रेष्ठ, अन्जनीकुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापा सँगै डीआईजी भएका हुन् । त्यसपछि फरक फरक मितिमा दीपक अधिकारी, कृष्णराज ढकाल र मनिष थापा डीआईजी बनेका हुन् । सिंह र पालको म्याद थप नभएर अवकाशमा जाँदा वरीयताको पहिलोदेखि चौथो नम्बरमा यी चार जना हुनेछन् । एउटै ब्याच र एउटै मितिमा बढुवा भएकाले यी चार जनामध्ये एक जना जो पनि अबको बढुवामा एआईजी हुन सक्छन् । किनकि, गत बैशाखमा एआईजीको एउटा पद रिक्त हुँदा त्यसको पहिलो दाबेदार थिए– डीआईजी कमल गिरी । तर एआईजीमा बढुवा भए दोस्रो नम्बरका डीआईजी गणेशबहादुर ठाडामगर ।

यसले पनि यी चार जनामध्ये एक जना जो पनि एआईजी हुनसक्ने देखिन्छ । त्यसपछि रिक्त हुने अर्को एक पदमा पनि एक जना एआईजी हुनसक्ने देखिन्छ । तर एआईजी नभएको अवस्थामा दुई जना भने डीआईजीबाटै घर जानेछन् । 

म्याद थप नभए नथपिनेको संख्या पुग्छ तीन

सशस्त्र प्रहरी नियमावली २०७२ मा चार जोड एकको व्यवस्था राखिएपछि म्याद थप नभएका एक जना मात्र डीआईजी हुन् प्रविणकुमार श्रेष्ठ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ‘नेगेटिभ’ हुँदा उनको म्याद थपिएको थिएन । यद्यपि, तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उनको म्याद थपका लागि गृह मन्त्रालयमा पत्राचार गरेका थिए । श्रेष्ठको म्याद थप नभएपछि तत्कालीन ओली सरकारको चर्को विरोध भएको थियो । विरोध थेग्न नसकेपछि ओली सरकारले अन्तिम समयमा म्याद थपको पहलसमेत गरेको थियो । तर ‘टेक्निकल’ कारणले श्रेष्ठको म्याद थप हुन सकेन । म्याद थप नभएपछि ‘रिटायर्ड’ भइसकेका उनी सर्वोच्च अदालत गएका थिए । तर बर्दी खोलिसकेका उनलाई सर्वोच्चले म्याद थप्न आदेश दिएन । 

श्रेष्ठ बाहेक अरू सबैको एक वर्ष म्याद थप हुँदै आएको छ । गत असोजमा अवकाशमा गएका सशस्त्र प्रहरीका तत्कालीन प्रवक्ता कालीदास धौवजी र माघ मसान्तमा अवकाशमा गएका कुमार न्यौपानेको पनि एक वर्ष म्याद थप भएकै हो । 

यति मात्रै नभई सरकारले सशस्त्रमा डीआईजीको मात्र होइन, एआईजीको पनि एक वर्ष म्याद थप गरेको इतिहास छ । तत्कालीन एआईजीहरू पुष्पराम केसी र रामशरण पौडेलको म्याद थप भएकै हो । एक वर्ष म्याद थप भएका केसी त २० दिनका लागि आईजीपी पनि भएकै हुन् । सिंह र पालको म्याद थप नभए यो संख्या अब तीन पुग्ने छ । 

म्याद थप नभए डीआईजीको आठ पद रिक्त

सशस्त्र प्रहरीमा अहिले साधारण समूह साधारण उपसमूहतर्फ (कानुन निर्देशनालयबाहेक) मंसिर पहिलो साता थप गरिएको दुई डीआईजी, गत पुस २४ गतेदेखि रिक्त भएको थप तीन डीआईजी र माघ मसान्तदेखि कुमार न्यौपाने अवकाशमा गएपछि थप एक गरी ८ डीआईजीको पद रिक्त छ । सिंह र पालको पनि थप नभएको अवस्थामा चैत ६ गतेदेखि यो संख्या ८ पुग्नेछ । 

यो स्थितिमा सिसं २ सशस्त्र प्रहरी निरीक्षकका एसएसपीहरू डीआईजी बन्नेछन् । यो स्थितिमा सिसं २ सशस्त्र प्रहरी निरीक्षक बेसिकका दिगविजय सुवेदी, भूपेन्द्र केसी, कमल तिउसिना, नीरकृष्ण अधिकारी, किरण बस्नेत, सुधिरजंग थापा, माधवप्रसाद पौडेल, राजेन्द्र खड्का बढुवाको शीर्ष स्थानमा छन् । 

यो पनि…

प्रवीणकुमार श्रेष्ठकै बाटोमा सशस्त्रका चार जना डीआईजीहरु, पदावधि नथपिने संकेत

तनावमा सशस्त्रका चार डीआईजी 

सशस्त्रमा ‘सिनियर’ डीआईजीको म्याद नथप्न ‘जुनियर’हरू नै चलखेलमा, लिए ‘मानमर्दन’ को सहारा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?