काठमाडौं । प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठलाई मनोनीत गरिएको छ ।
कोषको संरक्षक समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले श्रेष्ठलाई मनोनीत गर्ने निर्णय गरेकी हुन् ।
श्रेष्ठ प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव हुन् ।
प्रधानमन्त्री कार्कीले आफ्नै स्वकीय सचिवलाई नियुक्ति दिएको भन्दै सामाजिक सञ्जालमा विरोध समेत सुरु भइरहेको छ ।
त्यसो त श्रेष्ठ यसअघि नै आफ्नै श्रीमती तथा नातेदारहरुलाई विभिन्न नियुक्ति दिलाएको भन्दै विवादमा तानिएका थिए । चौतर्फी आलोचनापछि ती व्यक्तिहरुलाई पदबाट समेत हटाइएको थियो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ अनुसार कोषको कामकारबाही अघि बढ्ने गरेको छ । जसअनुसार कोषको संरक्षक प्रधानमन्त्री रहने र संरक्षकका रुपमा प्रधानमन्त्रीले नै अध्यक्ष मनोनयन गर्ने कानुनी व्यवस्था रहेको छ ।
जाँदाजाँदै प्रधानमन्त्री कार्कीले ५ वर्षका लागि श्रेष्ठलाई अध्यक्षमा नियुक्ति दिलाएकी हुन् ।
फागुन २१ को निर्वाचनसँगै नयाँ सरकार बन्ने प्रक्रिया सुरु हुँदैछ । नयाँ सरकार बनेपछि कार्यकाल सकिएर बिदा हुने बेलामा प्रधानमन्त्री कार्कीले आफ्नै स्वकीयलाई नियुक्ति दिलाएकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया