काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा मतदान केन्द्रमै प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएको छ ।
आयोगले निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने अपाङ्ग, अशक्त र ज्येष्ठ नागरिकलगायतका मतदातालाई आकस्मिक स्वास्थ्य समस्या आउन सक्ने भन्दै आवश्यक तयारी गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएको हो ।
फागुन २१ गते देशभर १० हजार ९६७ मतदान स्थल र २३ हजार २५५ (अस्थायीसमेत) मतदान केन्द्रमा मतदान हुँदैछ । आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा सबै मतदान केन्द्रमा आवश्यक पर्न सक्ने आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिइएको उल्लेख छ ।
आयोगले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी र औषधि तयारी अवस्थामा राख्न पत्राचार गरेको जनाएको छ। साथै स्थानीय तहलाई आवश्यक सहयोगका लागि निर्देशन पठाइएको छ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगले नेपाल सरकार तथा अन्य सरोकारवाला निकायसँग निरन्तर सहकार्य गरिरहेको जनाएको छ । मतदाताको सार्थक सहभागिताका लागि मतदानअघिल्लो दिनदेखि पछिल्लो दिनसम्म तीन दिन सार्वजनिक बिदा दिने निर्णय नेपाल सरकारले गरिसकेको छ ।
त्यस्तै, मतदान केन्द्र कायम गरिएका शिक्षण संस्था, स्वास्थ्य चौकी, वडा कार्यालयलगायतका सरकारी संरचना फागुन १९ देखि २१ गतेसम्म निर्वाचन प्रयोजनका लागि प्रयोग गर्न सकिने व्यवस्था मिलाउन गृह मन्त्रालयमार्फत सम्बन्धित निकायमा पत्राचार भइसकेको आयोगले जनाएको छ ।
आयोगले आफ्नो निर्णयअनुसार आवश्यक सहयोग र समन्वय गर्न नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सबै सरोकारवाला निकायलाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया