एनआरएनएको महासचिवमा रामशरण सिम्खडाको उम्मेदवारी घोषणा

लोकपथ
14
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२६–०२८) का लागि वर्तमान उपाध्यक्ष रामशरण सिम्खडाले महासचिव पदमा आफ्नो औपचारिक उम्मेदवारी घोषणा गरेका छन् ।

मंगलबार राति भर्चुअल माध्यमबाट आयोजित एक विशेष कार्यक्रमका बिच सिम्खडाले आफ्नो विस्तृत संकल्प–पत्र सार्वजनिक गर्दै उम्मेदवारीको घोषणा गरेका हुन् ।

सो क्रममा उनले चोटिएको एनआरएनएलाई एकताबद्ध बनाउने उद्देश्यका साथ आफू मैदानमा आएको बताए । संस्थाभित्र देखिएको असमञ्जस्यता र फुटलाई अन्त्य गरी एउटै र साझा एनआरएनए बनाउने आफ्नो मुख्य संकल्प रहेको उनको भनाइ छ । झण्डै दुई दशकदेखि अभियानमा सक्रिय सिम्खडाले संस्थाको प्रशासनिक मेरुदण्ड मानिने महासचिव पदमार्फत एनआरएनएलाई पारदर्शी, प्रविधिमैत्री र सदस्य–केन्द्रित बनाउने प्रतिबद्धता व्यक्त गरे ।

सिम्खडाले संस्थालाई राजनीतिक गुटबन्दीभन्दा माथि उठाएर विशुद्ध सामाजिक र साझा संस्थाको रूपमा स्थापित गर्ने अठोट लिएका छन् । उनले १०औँ र ११औँ महाधिवेशनमा देखिएका विवादहरूलाई वस्तुनिष्ठ ढंगले समाधान गर्न र सदस्यता वितरण एवं प्रतिनिधि छनोट प्रणालीलाई पुनरावलोकन गर्न निर्वाचित भएको ६ महिनाभित्रै विधान–सभा मार्फत आवश्यक संशोधन गर्ने घोषणा गरेका छन् । साथै, सबैले नेतृत्व छनोटमा सहभागी हुन पाउने गरी ‘इलेक्टोरल सिस्टम’ लाई विधानमा समावेश गर्ने र राजनीतिक हस्तक्षेप अन्त्यका लागि एनआरएन ऐन संशोधनमा पहल गर्ने उनको योजना छ । संस्थाको गरिमा र पारदर्शिताका लागि केन्द्रको त्रैमासिक लेखा प्रतिवेदन वेबसाइटमा राख्ने र महत्वपूर्ण निर्णयहरूमा पञ्जीकृत सदस्यहरूको राय लिन ‘रेफरेन्डम’ (जनमत) को व्यवस्था गर्ने समेत उनले प्रतिज्ञा गरेका छन् ।

प्रशासनिक सुधारतर्फ सिम्खडाले निर्वाचित भएको तीन महिनाभित्र दीर्घकालीन रणनीतिक कार्ययोजना तयार गर्ने, काठमाडौं सचिवालयलाई बढी अधिकारसम्पन्न र जिम्मेवार बनाउने तथा निर्वाचन अघिको ६० दिन बाहेक बाँकी २२ महिना नै सदस्यता खुल्ला राख्ने नीति लिने संकल्प पत्रमा उल्लेख गरेका छन् । राष्ट्रिय समन्वय परिषद् ९एनसीसी० हरूलाई थप सशक्त बनाउन उनले उत्कृष्ट कार्य गर्ने तीन एनसीसीहरूलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार डलरसहित पुरस्कृत गर्न अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् । प्रविधिलाई प्राथमिकता दिँदै ‘स्मार्ट एनआरएन एप’ लाई थप सुरक्षित र सदस्य–मैत्री बनाउने तथा अन्तर्राष्ट्रिय दातृ निकायहरूसँगको सहकार्यमा परोपकारी कार्यहरूलाई अघि बढाउने उनको कार्ययोजनामा उल्लेख छ ।

झन्डै १२ वर्ष अन्तर्राष्ट्रिय दातृ संस्थामा प्रशासकीय भूमिका निर्वाह गरेको अनुभवले एनआरएनएको प्रशासनिक सुधारमा ठुलो मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे ।

सिम्खडा एनआरएनए यूकेको संस्थापक सदस्य (२००५–०७) देखि महासचिव र सल्लाहकार हुँदै आईसीसी सदस्य, उपमहासचिव र हाल उपाध्यक्ष एवं एनआरएन कल्याण विभाग प्रमुखका रूपमा कार्यरत छन् । उनले संविधान संशोधन सल्लाहकार समितिको सह–संयोजक र विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनहरूमा निर्देशकको भूमिका समेत सफलतापूर्वक निभाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?