ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

गैँडहवा गाउँपालिका-गोबडौरी क्षेत्रमा इलाका प्रहरी कार्यालय सूर्यपूरा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा लागुऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।

लुम्बिनीबाट सूर्यपूरातर्फ से ३ प ६०० नम्बरको मोटरसाइकलमा आउँदै गरेका जगदिश कुर्मी (३४) र सोही मोटरसाइकल पछाडि सवार महेश कुर्मी (३१)लाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जगदिश मायादेवी गाउँपालिका-१ वसन्तपुरका बासिन्दा हुन् भने महेश गैँडहवा गाउँपालिका-४ कुसुमहवाका बासिन्दा हुन् ।

प्रहरीले उनीहरू बस्ने घरकोठा खानतलासी गर्दा ३७ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजु बरामद गरेको जनाएको छ। पक्राउ परेका दुवै जनाविरुद्ध इलाका प्रहरी कार्यालय लुम्बिनीमार्फत थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?