काठमाडौं । फागुन २१ को निर्वाचन आउन अब केही दिन मात्रै बाँकी छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेबाट उम्मेदवारले औपचारिक रूपमा प्रचार-प्रसार गर्न पनि सुरु गरिसकेका छन् ।
मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचार–प्रसार अन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ । सोही व्यवस्थाअनुसार, यही फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचार-प्रसार गर्न सक्ने छन् ।
उम्मेदवारी दर्ता भए देखिनै मतदाता फकाइरहेका उम्मेदवारहरू निर्वाचन आयोगले औपचारिक रूपमै मत माग्ने मिति घोषणा गरिदिए पछि मत माग्न झनै सक्रिय भएका छन् । यतिबेला उम्मेदवारहरू घरदैलोदेखि जुलुस, आमसभा, कोणसभा तथा सञ्चारमाध्यम लगायतमा आफू अब्बल उम्मेदवार रहेको भन्दै दाबी गरिरहेका छन् ।
आगामी फागुन २१ मा हुन गइरहेको निर्वाचन विशेष छ, जुन नेपालको इतिहासमा ऐतिहासिक निर्वाचनको रूपमा दर्ज हुनेछ । निर्वाचन जति जति नजिकिँदै गएको छ उम्मेदवार र तिनका क्षेत्रको चर्चा त्यति नै बढ्दै गएको छ । हुन त सबै उम्मेदवार आ–आफ्नो क्षेत्रमा चुनाव जित्न तछाड् मछाड् गर्दै मैदानमा उत्रेका छन् नै । देशका १६५ निर्वाचन क्षेत्रमै चुनावी माहौल तातिरहेको छ । तर केही क्षेत्रमा भने त्यस क्षेत्रका स्थानीयको मात्र नभएर समग्र देशवासीकै ध्यान खिचेको छ ।
झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)बिचको भिडन्त होस कि सर्लाही क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारबाट जित हासिल गरेका अमरेश कुमार सिंहबिचको रोचक भिडन्त सबैले चासोका साथ हेरिरहेको क्षेत्र हो ।
यता सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक मधेस प्रदेशको रौतहट क्षेत्र नम्बर १ पनि हो । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपाल यस क्षेत्रबाट उम्मेदवार बनेका कारण यो क्षेत्र थप चर्चामा रहेको छ ।

रौतहट उम्मेदवार नेपालको गृह जिल्ला पनि हो साथै उनले यस क्षेत्रबाट २०५६, २०७० र २०७९ जित हासिल गरेका छन् । र, उनलाई टक्कर दिँदैछ उनकै पुराना प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अजयकुमार गुप्ता । यस क्षेत्रमा यी दुई जनाले आलो पालो जित्दै आएका छन् । तर नयाँ शक्तिहरूसमेत प्रतिस्पर्धामा आएको कारण यस भिडन्त थप रोचक बन्ने निश्चित नै छ भने पूर्व प्रधानमन्त्री समेत रहिसकेका माधवकुमार नेपाल र अजयकुमार गुप्तालाई आफ्नै अस्तित्व जोगाउनुपर्ने जोखिम पनि त्यत्तिकै छ ।
रौतहट -१ को अंकगणित
रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा राजनीतिक दलबाट १८ जना र २१ जना स्वतन्त्र गरी कुल ३९ उम्मेदवार चुनावी मैदानमा छन् । त्यसमध्ये नेपाली कम्युनिस्ट पार्टीबाट माधवकुमार नेपाल, नेपाली कांग्रेसका अनिलकुमार झा, नेकपा एमालेका अजयकुमार गुप्ता, राष्ट्रिय स्वतन्त्र पार्टीका राजेशकुमार चौधरी, जनता समाजवादी पार्टी नेपाल(जसपा)का योगेन्द्रराय यादव, जनमत पार्टीका देवेन्द्र मिश्र मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएका पात्रहरू हुन् ।
रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा राजदेवी नगरपालिका, गौर नगरपालिका, माधवनारायण नगरपालिका, यमुनामाई गाउँपालिका, दुर्गा भगवती गाउँपालिका, गरुडा नगरपालिकाको वडा नम्बर १ र गढीमाई नगरपालिकाको वडा नम्बर ६, ७ र ८ रहेका छन् । यस क्षेत्रमा मतदान गर्न सक्ने कुल मतदाताको सङ्ख्या ६० हजार २६९ पुरुष र ४८ हजार ४५७ महिला गरी कुल १ लाख ८ हजार ७२६ जना रहेका छन् । १३२ मतदान केन्द्र रहेको उक्त क्षेत्रमा ६७ मतदान स्थल तोकिएको छ ।
२०७९ को निर्वाचनलाई फर्केर हेर्दा
२०७९ सालको निर्वाचनमा रौतहट १ बाट तत्कालीन एकीकृत समाजवादीका अध्यक्ष रहेका माधवकुमार नेपाल विजयी भएका थिए । त्यतिबेला रौतहट १ मा कुल १ लाख २ हजार ४३६ मतदाता रहेका थिए । तीमध्ये प्रत्यक्षतर्फ ६४ हजार ९ सदर मत खसेको थियो । यसलाई प्रतिशतमा हेर्दा कुल मतदाताको ६२ प्रतिशतभन्दा बढी मत खसेको थियो ।
रौतहट १ निर्वाचन परिणाम २०७९
स्तम्भमाथि प्रतिशत • थप विवरणका लागि माउस लैजानुहोस्
त्यतिबेला कांग्रेस र तत्कालीन माओवादी केन्द्रसँग गठबन्धन गरेर चुनाव लडेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ३३ हजार ५२२ मत प्राप्त गरेका थिए । त्यतिबेला नेपालले कुल सदर मतको ५२ प्रतिशतभन्दा बढी मत प्राप्त गरेका थिए ।
त्यस्तै माधवकुमार नेपालका निकटतम प्रतिद्वन्द्वी रहेका नेकपा एमालेका अजयकुमार गुप्ताले २६ हजार ९२२ मत पाएका थिए, जुन कुल सदर मतको ४२ प्रतिशत मत हो । १ हजार ४११ मत ल्याएर जनमत पार्टीका राजेन्द्र प्रसाद साह तेस्रो भएका थिए । उनले कुल सदर मतको २ दशमलव दुई शून्य प्रतिशत मत ल्याएका थिए । स्वतन्त्र रूपमा मैदानमा उत्रेका राहुल कुमार मिश्र ४५६ मत ल्याएर चौथो भएका थिए भने तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल हाल (राष्ट्रिय प्रजातन्त्र पार्टी)बाट सरोज कुमारीले ३५३ मत ल्याएर पाँचौँ स्थानमा सीमित रहेकी थिइन् ।
समानुपातिकतर्फ कुन पार्टी कुन स्थानमा ?
२०७९ को निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ मा कुल १ लाख २ हजार ४३६ मतदातामध्ये ६४ हजार ३४१ मतदाताको मत सदर भएको थियो । यो कुल मतदाताको ६२ दशमलव ८१ प्रतिशत हो । उक्त निर्वाचनमा प्रत्यक्षतर्फ तत्कालीन एकीकृत समाजवादी पार्टीले जित हासिल गरेपनि समानुपातिकमा भने नेपाली कांग्रेसले सर्वाधिक मत प्राप्त गरेको थियो । उक्त निर्वाचनमा कांग्रेसले १९ हजार ११९ मत प्राप्त गरेको थियो भने एमालेले ११ हजार ८९ मत पाएर दोस्रो स्थान बनाएको थियो । यसमा कांग्रेसले कुल सदर मतको करिब ३० प्रतिशत मत पाएको थियो भने एमालेले करिब १७ प्रतिशत मत प्राप्त गरेको थियो ।
🗳️ रौतहट क्षेत्र नं. १ प्रतिनिधि सभा २०७९ (समानुपातिक)
⏺ कुल मतदाता: १,०२,४३६ | सदर मत: ६४,३४१ (६२.८१% मतदान)
📊 दलगत मत (समानुपातिक)
🥧 प्रतिशत वितरण
| राजनीतिक दल | प्राप्त मत | प्रतिशत | रङ |
|---|---|---|---|
| नेपाली कांग्रेस | १९,११९ | २९.७१% | |
| नेकपा (एमाले) | ११,०८९ | १७.२३% | |
| नेकपा (एकीकृत समाजवादी) | ९,५७८ | १४.८९% | |
| जनता समाजवादी पार्टी नेपाल | ६,९३५ | १०.७८% | |
| जनमत पार्टी | ६,२८८ | ९.७७% | |
| अन्य दल | ११,३३२ | १७.६१% |
त्यसैगरी एकीकृत समाजवादीले ९ हजार ५७८ मत पाएर तेस्रो स्थानमा झरेको थियो, जुन सदर समानुपातिक मतको करिब १५ प्रतिशत मात्रै हो । मधेसी समुदायको बाहुल्यता रहेको रौतहटमा मधेसवादी दलहरूको अवस्था भने निकै कमजोर रहेको देखिन्छ । जसपा नेपालले ६ हजार ९३५ मत पाएर करिब ११ प्रतिशत मतका साथ चौथो र जनमतले ६ हजार २८८ अर्थात् करिब १० प्रतिशत मत पाएर पाँचौँ स्थानमा रहेको थियो ।
रौतहट १ मा पर्ने स्थानीय तहका वडाहरूको विवरण हेर्दा पनि अधिकांश प्रतिनिधिहरू नेकपा एसबाटै वडा अध्यक्षमा निर्वाचित भएको पाइएको छ । यस अर्थमा उक्त क्षेत्रमा तत्कालीन नेकपा एस र हालको नेकपा बलियो राजनीतिक दलका रूपमा देखिएको छ ।
रौतहट-१ का चर्चित अनुहारहरू
आफू अध्यक्ष रहेको एकीकृत समाजवादी पार्टीलाई माओवादी केन्द्र लगायतका दलहरूसँग एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएका नेपाल अहिले नेकपाका सहसंयोजक भएका छन् । र, सोही पार्टीबाट उनी रौतहट-१ मा उम्मेदवार बनेका छन् । छैटौँ पटक संसदीय निर्वाचनमा भाग लिएका नेपाल आफूलाई जिताउन अपिल गर्दै मतदातालाई विश्वस्त पार्ने कोसिस गरिरहेका छन् ।
पहिलो पटक २०४८ मा राष्ट्रिय सभा सदस्य मनोनीत नेपाल रौतहट र कामाडौंबाट गरी चार पटक विजयी बने भने एक पटक पराजित भएका थिए । रौतहट–१ बाट ०५६, ०६४, ०७० र २०७९ मा चार पटक चुनाव लडेका नेपाल ०६४ मा मात्र पराजित भएका थिए । त्यतिबेला उनी काठमाडौं २ बाट पनि पराजित भएका थिए । तर २०७४ मा भने उनी काठमाडौं-२ बाट विजयी भई कमब्याक गरेका थिए । हाल रौतहटबाट उम्मेदवारी दिएका नेपालको गृह जिल्ला पनि रौतहट नै हो । उनी आफूले रौतहटको विकासमा धेरै योगदान गरेको दाबी गर्दै यतिबेला मत मागिरहेका छन् ।

तर पूर्व प्रधानमन्त्री समेत रहिसकेका माधवकुमार नेपाललाई टक्कर भने उनकै पुरानो दल नेकपा एमालेले दिँदैछ । नेपाललाई उनकै पूर्व सहकर्मी र पूर्व प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अजयकुमार गुप्ताले चुनावी मैदानमा टक्कर दिइरहेका छन् । एमालेका गुप्ता पार्टीको बलियो उम्मेदवारका रूपमा चुनावी दौडमा छन् ।
मधेस केन्द्रित दलबाट राजनीति सुरु गरेका गुप्ता दुई पटक गौर नगरपालिकाको प्रमुख भई काम गरिसकेका व्यक्ति हुन् । २०७० मा फोरम लोकतान्त्रिकबाट उम्मेदवार बनेका गुप्ता तत्कालीन एमालेका नेपालसँग केवल ३३८ मतान्तरले पराजित भएका थिए । २०७९ मा काँग्रेससँगको गठबन्धनमा नेपालले गुप्तालाई ६ हजार ६ सय मतले पराजित गरेका थिए । यस पटक कुनै पनि पार्टीसँग गठबन्धन नभएकाले आफूले जित्ने भन्दै गुप्ताले दाबी गरिरहेका छन् । उनले बाढीको स्थायी समाधानलाई चुनावको मुख्य एजेन्डा बनाएका छन् ।
नेकपाका माधव नेपाल र एमालेका अजयकुमार गुप्तालाई कडा टक्कर दिन प्रतिस्पर्धामा छन्, कांग्रेसका अनिलकुमार झा । पूर्व मन्त्रीसमेत रहेका झा २०७४ मा राष्ट्रिय जनता पार्टीबाट विजयी भएका थिए । पछिल्लो समय सद्भावना पार्टीका अध्यक्ष झा उम्मेदवारी दर्ताको अघिल्लो दिन कांग्रेस प्रवेश गरी यसै क्षेत्रबाट प्रतिस्पर्धामा छन् । २०४६ बाट राजनीतिमा प्रवेश गरेका झा २०६४ मा समानुपातिकबाट संविधानसभा सदस्य चुनिएका थिए । उनी दुई पटक संघीय सरकारमा मन्त्री भइसकेका छन् । झा २०७८ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा खानेपानी मन्त्री बनेका थिए । त्यसअघि डा. बाबुराम भट्टराईको सरकारमा उद्योग मन्त्री रहेका थिए ।
कांग्रेस, एमाले र नेकपाले संसदीय राजनीतिका अनुभवी खेलाडीलाई उम्मेदवार बनाएको रौतहट १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले राजेशकुमार चौधरीलाई मैदानमा उतारेको छ । २०७९ को निर्वाचनमा खासै मत तान्न नसकेको रास्वपाले २०८२ को निर्वाचनमा मतदातालाई आफूतिर तान्न भरपुर प्रयास गरिरहेको देखिन्छ ।
पछिल्लो राजनीतिक घटनाक्रम र रास्वपाप्रति जनतामा बढ्दै गएको ह्वीमले यो समीकरण बदलिन सक्ने आकलन समेत हुन गर्न थालिएको छ । कृषि क्षेत्रमा सक्रिय चौधरी देश र युवाले परिवर्तन खोजेको दाबी गर्दै आफू जित्नेमा विश्वस्त देखिन्छन् । उनी स्थानीय तहमा जनसम्पर्क बिस्तार गर्दै प्रचार–प्रसारलाई प्रभावकारी बनाउन तल्लीन छन् ।
चौधरी यसअघि प्रदेशसभामा उम्मेदवार बनेका थिए । रौतहट-१ (ख) मा २०७९ सालमा स्वतन्त्र उम्मेदवार बनेका उनले ११ हजार ४०० मत ल्याएका थिए । सो निर्वाचनमा उनी नेपाली कांग्रेसका कृष्णप्रसाद यादवसँग झिनो मतान्तरले पराजित भएका थिए ।
रौतहट १ मा चर्चामा रहेका अर्का प्रतिस्पर्धी हुन्, जसपा नेपालका योगेन्द्रराय यादव । प्रतिनिधिसभा निर्वाचनका लागि यादव पनि सशक्त दाबेदारका रूपमा रहेका छन् । २०७४ को प्रदेशसभा सदस्यमा विजयी भएका यादव २०७९ को प्रदेशसभा निर्वाचनमा भने ५ हजार ७ सय २९ मत ल्याई तेस्रो भएका थिए । यस पटक उनी प्रदेश छाडेर प्रतिनिधिसभातिर लागेका छन् । यादव बाहुल्य क्षेत्रमा जातीय मत पाएमा नतिजा उनकै पक्षमा जान सक्ने आकलन गर्न सकिन्छ ।
मधेस प्रदेशका पूर्व कृषि राज्यमन्त्री समेत रहेका यादवले रौतहट क्षेत्र नम्बर १ अन्तर्गत पर्ने स्थानीय तहका बग्ने नदीहरूका कारण बर्सेनि झेल्दै आएका डुबानको समस्या समाधान गर्ने, कमजोर रहेको शिक्षा क्षेत्रलाई सुधार गर्ने लगायतका महत्त्वपूर्ण एजेन्डा अगाडि सारेका छन् । त्यसबाहेक आम नागरिकको स्वास्थ्यको लागि सुविधा सम्पन्न स्वास्थ्य सेवालाई प्रवर्धन गर्ने, बेरोजगारीलाई न्यूनीकरण गर्न ठुलो उद्योगको स्थापनाको लागि संघीय र प्रादेशिक सरकारसँग पहल गर्ने, जेनजी आन्दोलनबाट उठेका युवा पुस्ताको मागलाई सम्बोधन गर्ने र गराउने लगायतको एजेन्डा सुनाउँदै मत मागिरहेका छन् ।
यसैगरी अर्का मधेसवादी दल जनमत पार्टीका देवेन्द्र मिश्र पनि यसै क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा छ । मधेसी समुदायको शिक्षा, स्वास्थ्य र पानीको समस्यालाई मुख्य एजेन्डा बनाएर मत मागिरहेका उनी चुनाव जित्नेमा विश्वस्त नै देखिन्छन् ।
गत निर्वाचनमा काँग्रेससँगको गठबन्धनका कारण जित हासिल गरे पनि यस पटक सबै दल अलग अलग उम्मेदवार भएकाले नेपाललाई जित हासिल गर्न सहज देखिएको छैन । माओवादी केन्द्रसँग एकता गरेर नेकपा बनाएपछि पनि गत निर्वाचनको समानुपातिकको हेर्दा दुवै दलको कुल मत ११ हजारको हाराहारीमा मात्रै रहेको छ, जुन नेपाली कांग्रेसले समानुपातिकमा पाएको भन्दा निकै कम र एमालेको हाराहारीमा मात्रै पुग्छ ।
गत निर्वाचनमा एक्लै चुनाव लड्दा पनि एमालेका अजयकुमार गुप्ताले २६ हजारभन्दा बढी मत प्राप्त गरेकाले उनी यस चुनावमा राम्रो अवस्थामा देखिएका छन् ……
तत्कालीन माओवादी र पार्टी पुनर्गठनमा जोडिएका अन्य सबै दलको मत मिसाउँदा पनि जितका लागि पर्याप्त भने हुँदैन । त्यसकारण यस निर्वाचनमा माधवकुमार नेपालको नेकपा, कांग्रेसका अनलिकुमार झा र एमालेका अजयकुमार गुप्ताबिच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । तर जेन जी आन्दोलनपछिको राप र तापले रास्वपा पनि बलियो शक्ति बनिरहेको र अघिल्लोपटक स्वतन्त्रमा सम्मानजनक मत ल्याएका कारण रास्वपा अर्को बलियो प्रतिस्पर्धीका रूपमा रहेको छ ।
यस क्षेत्रमा दुई पालिका प्रमुखदेखि मधेस प्रदेशका मुख्यमन्त्रीसम्म कांग्रेसका छन् । दुवै प्रदेशसभा सदस्य कांग्रेसकै निर्वाचित भएकाले झाले आफूले जित्ने दाबी गरिरहेका छन् । रौतहटको छिमेकी जिल्ला सर्लाही-४ बाट कांग्रेस सभापति गगन थापा उम्मेदवार बनेकाले त्यसको प्रभाव यस क्षेत्रमा समेत पर्ने झाको विश्वास छ ।
गत निर्वाचनमा एक्लै चुनाव लड्दा पनि एमालेका अजयकुमार गुप्ताले २६ हजारभन्दा बढी मत प्राप्त गरेकाले उनी यस चुनावमा राम्रो अवस्थामा देखिएका छन् । साथै जसपा नेपाल र जनमतका उम्मेदवारले पनि राम्रै मत प्राप्त गर्ने अपेक्षा गरिएकाले मत विभाजन हुँदा प्रतिस्पर्धा अझै रोचक हुने विश्वास गरिएको छ । गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार हुँदाहुँदै पनि उल्लेख्य मत पाएका चौधरी यसपटक आफूलाई नयाँ शक्ति भनिरहेका र युवापुस्तामा चर्चामा रहेको दल रास्वपाबाट मैदानमा उत्रिएको कारण चौधरीले ठुला दलका नेताहरूलाई राम्रै चुनौती दिने सम्भावना छ ।
३९ जना उम्मेदवार रहेको यस क्षेत्रमा माधवकुमार नेपाल, अनिल कुमार झा, अजयकुमार गुप्ता, राजेशकुमार चौधरी, योगेन्द्रराय यादव र देवेन्द्र मिश्रसहितका उम्मेदवारलाई मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएका छन् ।
उम्मेदवारहरूले बेरोजगारी समस्या समाधान, शिक्षा र स्वास्थ्यका क्षेत्रमा सुधारका प्रतिवद्धताहरु जनतासामु राखिरहेका छन् । पिछडिएका वर्गको विकास र सडक सञ्जालको बिस्तारलाई आफ्ना मुख्य चुनावी एजेन्डा बनाइरहेका छन् । रौतहट-१ को राजनीतिक भविष्य कुन दिशामा जान्छ भन्ने कुराको फैसला कुर्न भने फागुन २१ पछिको मत परिणामले नै बताउनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया