बालेनको बचाउ गर्दै रविले भने– ‘हामी काम गर्छौँ, डोजर त अरुले चलाएका हुन्’

लोकपथ
56
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरु काम गर्न राजनीतिमा आएको दाबी गरेका छन् । बुधबार कैलालीको धनगढीमा आयोजित पार्टीको परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै लामिछानेले सो दाबी गरे ।

उनले काठमाडौं महानगरपालिकाका पूर्व मेयर समेत रहेका पार्टी उपसभापति बालेन्द्र शाह बालेनको बचाउ समेत गरेका छन् ।

काठमाडौं महानगरमा हुँदा बालेनले सुकुम्बासी बस्तीमा डोजर चलाएको भन्दै आलोचना भइरहेका बेला रविले त्यही भनेर आलोचना हुने र अरुले भोट माग्न सक्ने भन्दै सचेत रहन आग्रह समेत गरे । उनले आफूहरु देश बनाउन आएको दाबी गर्दै अन्य पूराना दलका नेताहरुले जनताको सपनामाथि डोजर चलाएको आरोप लगाए ।

‘धेरै मान्छेहरु तपाईँहरुलाई भ्रम छर्न आउनेछन् । यीनिहरुले जिते भने गरिबको बस्तीमा डोजर लगाउने छन् भनेर भोट चोर्न आउलान् । तीनलाई सोध्नुस्, २४ वर्षसम्म हाम्रो सपनामा डोजर कसले चलायो ? डोजर तिनीहरुले चलाएका हुन्, हामीले होइन । हामी बनाउने भनेर आएका छौँ, हामी गर्छौँ र हामी सक्छौँ,’ रविले भने ।

पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले उक्त सभामा पूराना दलहरुप्रति कटाक्ष गर्दै कुशासन,भ्रष्टाचार, बेथिति र विसंगतीको सटर बन्द गर्ने दाबी गरे । फागुन २१ गतेको मितिमा आफूहरुले भोट हाल्ने मात्र नभई इतिहास लेख्ने समेत दाबी गरे ।

‘सटर त बन्द हुन्छ, कि हाम्रो सटर बन्द गराइदिनुस् कि यीनको सटर बन्द हुन्छ । कुशासनको सटर बन्द गर्ने हो, बेथितिको सटर बन्द गर्ने हो । बेरोजगारी, अशिक्षाको सबै सटर बन्द गर्ने हो एकैपटक फागुन २१ गते इतिहास लेख्ने हो, भोट हाल्ने होइन,’ उनले भने ।

यसअघि पनि धेरै पटक चुनाव भएको, ती चुनावहरुमा कुनै न कुनै दलले जितेको तर जनता नजितेको भन्दै यसपटकको चुनावमा जनता जिताउने गरी आफूहरु लागेको उनको दाबी गरे ।

‘यो देशमा चुनाव पहिला पनि भएको हो, यो देशमा कुनै पार्टीले पहिला पनि जितेको हो । यो देशमा कुनै न कुनै नेताले सधैँ जितेको हो, तर सधैँ नेताले जिते, जनताले कहिल्यै पनि जितेनन् । यसपटक जनता जिताउने हो । यसपटक जनता जिताउने हो । व्यक्तिगत हिसाब हामीलाई केही भन्नु छैन । हामी इतिहास बदल्ने सोच लिएर आएका छौँ,’ उनले भने ।

सभापति लामिछानेले मान्छेहरु सिंहदरबार जलेको कुरामा चिन्ता गरिरहेको बताउँदै आफूहरु सिंहदरबार बनाउने मात्र नभइ परिवर्तन गर्ने समेत दाबी गरे ।

‘केही मान्छेहरुलाई सिंहदरबार जलेको कुरा चलेको छ । यहाँ मानिसहरु भनिरहेका छन्, सिंहदरबार जलेको छ भने सिंहदरबारलाई बनाउने हो । तर बनाउनु भन्दा बढी सिंहदरबार बदल्ने हो,’ लामिछानेले बताए ।

देशभर घण्टीको लहर देखिएकाले सबै क्षेत्रमा उम्मेदवार र मतदाता समेत उत्साहित रहेको उनको दाबी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?