काठमाडौं । चाँदीको मूल्यमा कालोबजारी सुरु भएको छ । चाँदीको अभाव भन्दै बजारमा अन्तर्राष्ट्रिय मूल्यभन्दा २० प्रतिशत महँगोमै चाँदीको मूल्य निर्धारण गरिएको छ ।
शुक्रबार नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको चाँदीको मूल्य तोलाकै ४ हजार ७१० रुपैयाँ रहेको छ । यसलाई प्रति १० ग्राममा हेर्दा ४ हजार ३८ रुपैयाँ हुन्छ ।
तर शुक्रबार बिहान १०ः३० बजे अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य प्रति केजी २ हजार ३२७ दशमलव ८५ अमेरिकी डलर रहेको छ । शुक्रबार अमेरिकी डलरको राष्ट्र बैंकले बेच्ने विक्री दर १४४ रुपैयाँ ८८ पैसा रहेको छ । यस आधारमा हेर्दा शुक्रबार अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य प्रति किलो ३ लाख ३७ हजार २५९ रुपैयाँ हुन्छ ।
नेपालमा मुख्यतः युनाइटेड अरब इमिरेट्सको दुबईबाट चाँदी आयात गर्ने भएकाले नेपालमा ल्याउँदा भन्सार शुल्क १० प्रतिशत लाग्छ । भन्सार शुल्क भन्दा अगाडि नै आयातमा लागेको खर्चसमेत चाँदी आयात गरेको बैंकले जोड्छ । यसरी जोड्दा अन्तर्राष्ट्रिय बजार मूल्यमा करिब १० दशमलव ५० प्रतिशत थप शुल्क लाग्छ ।
यसरी हेर्दा अन्तर्राष्ट्रिय बजारमा रहेको मूल्यसँग तुलना गर्दा शुक्रबार नेपाली बजारमा बैंकले दिने चाँदीको मूल्य प्रतिकिलो ३ लाख ७२ हजार ६७१ रुपैयाँ हुनुपर्ने हो ।
नेपालमा सुन तथा चाँदीको मूल्य निर्धारण गर्दा नेपाल सुनचाँदी व्यवसायी महासंघले गर्ने गर्दछ । बैंकबाट प्राप्त हुने सुन वा चाँदीमा महासंघले करिब शून्य दशमलव ५० प्रतिशतसम्म नाफा राखेर मूल्य निर्धारण गर्ने गर्दछ ।
यसरी मूल्य निर्धारण हुँदा शुक्रबार नेपालमा चाँदीको मूल्य प्रतिकिलो ३ लाख ७४ हजार ५०० रुपैयाँको हाराहारीमा हुनुपर्ने हो । एक किलोमा १ हजार ग्राम हुँदा प्रति ग्राम औसतमा ३७४ रुपैयाँ ५० पैसा र एक तोलामा ११ दशमलव ६६४ ग्राम हुँदा प्रतितोला ४ हजार ३६८ रुपैयाँको हाराहारीमा हुनुपर्ने हो ।
तर महासंघले शुक्रबारका लागि तोकेको चाँदीका बजार मूल्य ४ हजार ७१० रुपैयाँ रहेको छ ।
महासंघले तोकेको चाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारभन्दा करिब २० प्रतिशत बढी छ भने नेपालमा लाग्ने भन्सार महसुल जोडेपछिको शुल्क भन्दा करिब ९ प्रतिशतले बढी रहेको छ ।
बजारमा अझै महँगोमा भइरहेछ विक्रीवितरण
यो त महासंघले तोकेको मूल्य भयो । अझ बजारमा कसैले चाँदी खरिद गर्न चाह्यो भने प्रतितोला ५०० रुपैयाँसम्म बढी तिरेर खरिद गर्नुपरेको गुनासो छ । चाँदीको मूल्यमा आएको अस्वाभाविक वृद्धि र प्रति तोला १० हजार रुपौयँसम्म पुग्ने हल्लाका कारण उपभोक्ताले दाना चाँदी वा चाँदीको बिस्कुट नै खरिद गरिरहेका छन् । तर बजारमा चाँदीको अभाव भएको भन्दै अहिले बजारमा कम्तीमा प्रति तोला २०० रुपैयाँदेखि ५०० रुपैयाँसम्म थप शुल्क तिरेर उपभोक्ताले चाँदी खरिद गरिरहेका छन् ।
दुईतर्फी कालोबजारीमा उपभोक्ता
अहिले चाँदीको मूल्यमा तीव्र उतारचढाव आउँदा यसको मारमा भने उपभोक्ता परेका छन् । एकातिर नेपालमा अन्तर्राष्ट्रिय बजार मूल्यभन्दा करिब २० प्रतिशतले बढी मूल्य कायम गरिएको छ भने उपभोक्ताले चाँदी पाएमा पनि करिब प्रतितोला ३०० रुपैयाँ बढी तिर्नु परिरहेको छ ।
सुन र चाँदीको मूल्यमा अन्तर्राष्ट्रिय बजारसँग अस्वाभाविक फरक आएमा त्यसको नियमन गर्ने जिम्मा नेपाल राष्ट्र बैंकको हो । तर नेपाल राष्ट्र बैंकले सुन र चाँदीको मूल्य निर्धारण गर्ने जिम्मा नेपाल सुनचाँदी व्यवसायी महासंघलाई दिएको कारण अन्तर्राष्ट्रिय मूल्यभन्दा करिब २० प्रतिशत बढी मूल्य तोकिएको छ, जबकि नेपालमा लाग्ने भन्सार महसुल भने करिब १० प्रतिशत मात्रै हो ।
अहिले चाँदीको माग बढी भएको र अन्तर्राष्ट्रिय बजारमा नपाइएको भन्दै बैंकहरुले प्रिमियम तिरेर चाँदी ल्याएको र सोही आधारमा चाँदी बढी मूल्यमा विक्री भइरहेको बताएको छ । तर बैंकहरुले प्रति औंस अर्थात् प्रति २८ दशमलव ३४९ ग्राममा १ दशमलव ७५ अमेरिकी डलरसम्म बढी प्रिमियम तिरेको बताएका छन् । यस्तो अवस्थामा चाँदीको मूल्यमा अन्तर्राष्ट्रिय बजार मूल्यभन्दा बढीमा २ प्रतिशत बढी मूल्य र करिब ११ प्रतिशत भन्सार तथा अन्य खर्चको जोड्दा करिब १३ प्रतिशत मात्रै बढी हुनुपर्ने हो ।
तर नेपाल सुनचाँदी व्यवसायी महासंघले भने उक्त मूल्यभन्दा धेरै बढी अर्थात् अन्तर्राष्ट्रिय बजार मूल्यभन्दा करिब २० प्रतिशत र भन्सार शुल्क जोडेपछि कायम हुने मूल्यभन्दा करिब ९ प्रतिशत बढी मूल्य कायम गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया