बागमती । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो छ महिनामा तीन अर्ब २७ करोड ९२ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा आठ करोड ८६ लाख १० हजार रुपैयाँले बढी हो ।
कार्यालयका अनुसार गत महिनामात्रै ८० करोड आठ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा तीन अर्ब १९ करोड छ लाख २२ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
चालु आवको पहिलो छ महिनामा अन्तःशुल्कतर्फ एक अर्ब ८८ करोड ६४ लाख ८७ हजार, आयकरतर्फ ५९ करोड ३२ लाख ७१ हजार, मूल्य अभिवृद्धि करतर्फ ४६ करोड ७१ लाख ३० हजार, स्वास्थ्य जोखिम करतर्फ २७ करोड ७३ लाख दुई हजार, ब्याजदरतर्फ तीन करोड ६९ लाख ४७ हजार तथा बहालकरतर्फ ८१ लाख २६ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
हाल उक्त कार्यालयमा आयकरतर्फ ३३ हजार ५९६, मूल्य अभिवृद्धि करतर्फ पाँच हजार ८४९, अन्तःशुल्कतर्फ एक हजार ५९८, विथहोल्डतर्फ ७११ र व्यक्तिगततर्फ ८१ हजार ८१२ करदाता सूचीकृत छन् ।
कर दाखिला गर्न आनाकानी गर्ने करदातालाई लक्षित गरी घरदैलो, टेलिफोन तथा एसएमएसमार्फत ताकेता गर्ने, कर छुटसम्बन्धी सुविधाबारे प्रचारप्रसार गर्ने लगायतका अभियान सञ्चालन गरिएको कार्यालय प्रमुख युक्त प्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार यस्ता अभियानमार्फत हालसम्म १० करोड रुपैयाँ बक्यौता असुली गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया