नेपाल टेलिकम राज्यको डिजिटल मेरुदण्ड हो : गृहमन्त्री अर्याल

लोकपथ
98
Shares

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकम केवल दूरसञ्चार सेवा प्रदायक मात्र नभई राज्यको डिजिटल मेरुदण्डको रूपमा स्थापित संस्थान भएको बताएका छन् ।

बिहीबार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को २२औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले दुर्गम हिमाली क्षेत्रदेखि तराईका गाउँबस्तीसम्म सञ्चारको पहुँच विस्तार गर्न टेलिकमले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

प्राकृतिक विपद्, महामारी तथा अन्य आपतकालीन अवस्थाहरूमा नेपाल टेलिकमले निर्वाह गरेको भूमिका स्मरणीय र प्रशंसनीय रहेको गृहमन्त्री अर्यालको भनाइ छ । उनले दूरसञ्चार सेवा आज मानव जीवनको आधारभूत आवश्यकता भइसकेको भन्दै शैक्षिक, सामाजिक तथा आर्थिक विकासका लागि यो अत्यावश्यक पूर्वाधार बनेको बताए ।

नवीनतम प्रविधिमा आधारित गुणस्तरीय सेवा प्राप्त गर्नु सेवाग्राहीको हक र अधिकार भएको उल्लेख गर्दै गृहमन्त्री अर्यालले ग्राहक सन्तुष्टिलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न टेलिकमलाई आग्रह गरे । सन्तुष्ट ग्राहक नै कम्पनीको दिगो विकास र स्थायित्वको आधार स्तम्भ भएको उनको भनाइ छ ।

प्रतिस्पर्धी बजारमा सार्वजनिक दायित्व, सेवा गुणस्तर र प्रविधिगत नवप्रवर्तनबीच सन्तुलन कायम गर्दै ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिए । साथै, कम्पनीको वृहत् सञ्जाल, पूर्वाधार, दक्ष मानव संसाधन र बजार सम्भावनाको कुशल व्यवस्थापनमार्फत प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नुपर्ने बताए ।

गृहमन्त्री अर्यालका अनुसार नेपाल टेलिकमले सेवा विस्तारसँगै डिजिटल साक्षरता प्रवर्द्धन, विद्युतीय सरकारको अवधारणा कार्यान्वयन तथा ज्ञानमा आधारित समाज निर्माणमार्फत राष्ट्र निर्माणमा योगदान दिँदै आएको छ ।

सार्वजनिक सेवा सरकार र नागरिकलाई जोड्ने सेतु भएको उल्लेख गर्दै उनले नागरिक–सरकार सम्बन्धलाई थप प्रगाढ बनाउन आगामी दिनमा पनि नेपाल टेलिकमको भूमिका अझ महत्वपूर्ण रहने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?