नेपालका एसएमईलाई विश्व बैंकको ९ करोड ५० लाख डलर सहयोग, रोजगारी सिर्जनामा जोड

लोकपथ
70
Shares

काठमाडौं । विश्व बैंकले नेपालमा साना तथा मझौला उद्यम (एसएमई) हरूको वित्तीय पहुँच विस्तार गर्दै रोजगारी सिर्जनामा टेवा पुर्‍याउने उद्देश्यसहित ९ करोड ५० लाख अमेरिकी डलर बराबरको सहायता स्वीकृत गरेको छ ।

वासिङटन डीसीस्थित विश्व बैंकको प्रधान कार्यालयले दिएको जानकारीअनुसार उक्त परियोजनाबाट एक लाखभन्दा बढी एसएमई लाभान्वित हुने अपेक्षा गरिएको छ । जोखिम साझेदारी विस्तार, वित्तीय दिगोपन सुदृढीकरण तथा महिलाद्वारा सञ्चालित व्यवसायलाई प्राथमिकतामा राख्दै निक्षेप तथा कर्जा ग्यारेन्टी कोष (डिसिजीएफ) लाई थप सशक्त बनाइनेछ ।

माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले परियोजनाले वित्तीय पहुँच सहज बनाउँदै कारोबारी अवरोध घटाएर वित्तीय समावेशिता विस्तारमा महत्वपूर्ण योगदान गर्ने बताएका छन् ।

उनले भने, ‘यो परियोजनाले निक्षेप तथा कर्जा सुरक्षण कोषलाई सुदृढ बनाउँदै जोखिम साझेदारी विस्तार गर्ने, वित्तीय दिगोपन बढाउने र महिलाद्वारा सञ्चालित व्यवसायजस्ता कम वित्तीय पहुँच भएका क्षेत्रका लागि सहयोगी हुनेछ ।’

सिस्लेनका अनुसार परियोजनाले सूक्ष्म, साना तथा मझौला उद्यम (एमएसएमई) लाई क्षेत्रीय तथा विश्वव्यापी मूल्य शृंखलामा समेट्न सहयोग पुर्‍याउनुका साथै निजी क्षेत्र नेतृत्वको रोजगारी सिर्जनामा योगदान गर्नेछ ।

‘दिगो तथा समावेशी वित्त परियोजना’ (एसआईएफ) विश्व बैंकको सहयोगमा सन् २०२४ मा सम्पन्न वित्तीय क्षेत्र स्थायित्व तथा आर्थिक वृद्धिका लागि वित्तसम्बन्धी विकास नीतिगत कर्जा (डिपिसी) शृंखला अन्तर्गत गरिएका सुधारको निरन्तरता भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?