काठमाडौं । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा तत्कालीन महाप्रबन्धक पौडेलसहित ८ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
विभिन्न मितिमा उदयपुर सिमेन्ट उद्योगको ठूलो संख्यामा क्लिङ्कर हिनामिना गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ ।
‘उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा आ.व. २०७४–०७५, २०७५–०७६, २०७६–०७७ र मिति २०७७ साउन १ देखि २०७७ पौष मसान्तसम्म कुल जम्मा ३८, ७६९ मेट्रिक टन क्लिङ्कर हिनामिना, हानीनोक्सानी गरी गराई भ्रष्टाचार गरेको,’ अख्तियारले दायर गरेको आरोपत्रमा भनिएको छ ।
अख्तियारका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम उक्त कसुरमा उनीहरुविरुद्ध भ्रष्टाचार गरी हानी पुर्याएको रकम कायम हुने गरी व्यक्तिपिच्छे फरक बिगो कायम गरिएको छ ।
अन्य प्रतिवादीहरुमा तत्कालीन निमित्त महाप्रबन्धक नवल किशोर साह, तत्कालीन नायव महाप्रबन्धक महेश प्रसाद काफ्ले, तत्कालीन उत्पादन महाशाखा प्रमुख संजय कुमार लाल, तत्कालीन भण्डार महाशाखा प्रमुख महेश प्रसाद साह, तत्कालीन कलिङ्कर उत्पादन विभाग प्रमुख रवीचन्द्र पौडेल, तत्कालीन सिमेन्ट उत्पादन विभाग प्रमुख हरि प्रसाद अधिकारी र तत्कालीन बिक्री विभाग प्रमुख राम बहादुर जीसी रहेका छन् ।
अख्तियारका अनुसार तत्कालीन महाप्रबन्धक पौडेलमाथि १२ करोड ४७ लाख २२ हजार २४२, साहमाथि ४६ करोड, ५२ लाख ७४ हजार ४२६ रुपैयाँ र काफ्लेमाथि १२ करोड ६३ लाख ६९ हजार १६८ रुपैयाँ बिगो तोकिएको छ ।
त्यस्तै अन्य प्रतिवादीका हकमा जनही ४६ करोड ५२ लाख ७४ हजार ४२६ रुपैयाँ बिगो कायम गरिएको अख्तियारले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया