काठमाडौं । आइतबार नेपालमा चाँदीको मूल्य प्रतितोला ५ हजार ५०० रुपैयाँ कायम गरिएको छ । यो मूल्य अन्तर्राष्ट्रिय बजार र नेपालमा लाग्ने भन्सार शुल्क भन्दा झन्डै ३०० रुपैयाँले बढी छ ।
सामान्यतः अन्तर्राष्ट्रिय बजारमा उपलब्ध हुने मूल्यमा नेपालमा करिब ११ प्रतिशत थप शुल्क कायम गरी सुन र चाँदीको विक्री वितरण हुने गर्छ । किनभने भन्सार शुल्क १० प्रतिशत लाग्छ भने त्यसमा शून्य दशमलव ५ प्रतिशत बैंकले आयात खर्च र केही नाफा लिन्छन् । बाँकी शून्य दशमलव ५ प्रतिशत चाँदी पसलेले नाफा लिने गर्छन् । यसरी सुन वा चाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा भन्दा करिब ११ प्रतिशतले बढी पर्छ ।
आइतबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति ग्राम १५७ दशमलव ३२ अमेरिकी डलर रहेको छ । आइतबार अमेरिकी डलरको सटही दर १४७ दशमलव ४८ नेपाली रुपैयाँ रहेको छ । यसरी हेर्दा अन्तर्राष्ट्रिय बजारमा सुन प्रति ग्राम २३ हजार २०१ रुपैयाँ ५५ पैसा कायम हुन्छ । नेपालमा सुन भित्राउँदा १० प्रतिशत भन्सार शुल्क र करिब शून्य दशमलव ५ प्रतिशत बैंकको आयात शुल्क लगायतका शुल्कहरू जोडिन्छन् । त्यसपछि सुन पसलेले सुन विक्री गर्दा शून्य दशमलव ५ प्रतिशत नाफा राख्ने गरी सुनको मूल्यमा अन्तर्राष्ट्रिय बजारभन्दा करिब ११ प्रतिशतले बढी पर्न जान्छ ।
सोही आधारमा आइतबार अन्तर्राष्ट्रिय बजार र भन्सार लगायतका अन्य शुल्कसमेत जोडेर नेपाल सुनचाँदी व्यवसायी संघले सुनको मूल्य प्रतिग्राम २५ हजार ७२० रुपैयाँ कायम गरेको छ ।
अब तोलामा हिसाब गर्दा एक तोलामा ११ दशमलव ६६४ ग्राम हुन्छ । यसरी हेर्दा आइतबार सुन मूल्य प्रति तोला ३ लाख रुपैयाँ कायम गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले राउन्ड फिगरमा सुनको मूल्य कायम गर्दा प्रतितोला करिब १ हजार रुपैयाँसम्मको तल वा माथि पर्ने गरेको छ । यो आधारमा हेर्दा सुनको मूल्य अन्तर्राष्ट्रिय बजार र नेपालमा लाग्ने भन्सार लगायतका शुल्कसँग तुलना गर्दा ठिकै देखिन्छ ।
चाँदीमा किन भयो बढी मूल्य निर्धारण
आइतबार चाँदीको मूल्य निर्धारण गर्दा भने अन्तर्राष्ट्रिय बजारभन्दा धेरै महँगो मूल्य कायम गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार चाँदी प्रतितोला ५ हजार ५०० रुपैयाँ कायम गरेको छ, जुन अन्तर्राष्ट्रिय मूल्य र भन्सार लगायतका खर्च भन्दा धेरै नै बढी हो ।
अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रति किलोग्राम २ हजार ७ सय ४३ दशमलव ८६ अमेरिकी डलर रहेको छ । यसलाई नेपाली रुपैयाँमा परिवर्तन गर्दा आइतबार चाँदी प्रति किलोग्राम ४ लाख ४ हजार ६६४ रुपैयाँ ४७ पैसा हुन आउँछ ।
चाँदीमा पनि करिब १० प्रतिशत भन्सार शुल्क, शून्य दशमलव ५० प्रतिशत बैंकको आयात खर्च र नाफा तथा शून्य दशमलव ५० प्रतिशत व्यवसायीको नाफा राखेर मूल्य निर्धारण हुन्छ । यसरी हेर्दा नेपालमा आइतबार चाँदीको मूल्य प्रति किलोग्राम ४ लाख ४९ हजार १७७ रुपैयाँ कायम हुनुपर्ने थियो ।
यसलाई सानो इकाईमा हिसाब गर्दा नेपाली बजारमा चाँदीको मूल्य प्रति ग्राम ४४९ रुपैयाँ १७ पैसा कायम हुनुपर्ने थियो ।
एक तोलामा ११ दशमलव ६६४ ग्राम हुने भएकाले चाँदीको मूल्य प्रतितोला ५ हजार २ सय ३९ रुपैयाँ २० पैसा हुनुपर्ने थियो । तर नेपाली बजारमा भने चाँदीको मूल्य अन्तर्राष्ट्रिय बजार मूल्य र त्यसमा लाग्ने भन्सार, आयात खर्च र व्यवसायीको नाफा जोडेर हुनुपर्ने मूल्य भन्दा २६० रुपैयाँ बढी कायम गरिएको छ ।
के भन्छ सुनचाँदी व्यवसायी महासंघ ?
नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष तथा मूल्य निर्धारण समितिका संयोजक दियशरत्न शाक्य चाँदीको मूल्यमा प्रिमियम तिरेर खरिद गर्नु परेकाले मूल्य बढेको दाबी गर्छन् । संयोजक शाक्यका अनुसार अहिले चाँदीको माग अत्यधिक बढेको र अन्तर्राष्ट्रिय बजारबाट आयात गर्ने समयमै बैंकले नै धेरै प्रिमियम तिरेर ल्याएको कारण आफूहरूलाई पनि महँगो परेकाले सुनको तुलनामा चाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारभन्दा केही महँगो भएको बताए ।
शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारबाट किनेर ल्याउँदा भन्सार शुल्क १० प्रतिशत र त्यसमा बैंकले करिब शून्य दशमलव ५ प्रतिशत जोड्ने र व्यवसायीले पनि शून्य दशमलव ५ प्रतिशत जोड्ने भएकाले करिब ११ प्रतिशतको बढी पर्छ ।
सामान्य अवस्थामा अन्तर्राष्ट्रिय बजार मूल्यमा शून्य दशमलव २ देखि शून्य दशमलव ५ प्रतिशतसम्म बढी प्रिमियम तिरेर किन्ने गरिएकामा पछिल्लो समय चाँदीको माग बढेपछि बैंकले पनि प्रिमियम तिरेर किन्ने गरेकाले त्यसको शुल्कसमेत जोडिएको शाक्यले बताए ।
शाक्यले लोकपथसँग भने, ‘पछिल्लो समय चाँदी ल्याएको प्रभु बैंक र सिटिजन्स बैंकले हो । उनीहरूले पनि ४ प्रतिशतसम्म प्रिमियम तिरेर ल्याएको भन्ने सुनेको छु, त्यही आधारमा चाँदीको मूल्य बढी हुन गएको हो ।’
के भन्छ बैंक ?
चाँदीको मूल्यमा प्रिमियम के कसरी तिरिन्छ भन्ने सम्बन्धमा प्रभु बैंकका सहायक प्रबन्धक अञ्जन महर्जनका अनुसार चाँदीको माग उच्च भएको कारण अन्तर्राष्ट्रिय बजारबाट आयात गर्दा नै प्रिमियम तिरेर ल्याउनु परेको बताए ।
महर्जनले लोकपथसँग भने, हामीले पछिल्लोपटक चाँदी किनेर ल्याउँदा प्रति औंस अन्तर्राष्ट्रिय बजार मूल्यमा १ दशमलव ५ डलर थप प्रिमियम तिरेर ल्याएका छौँ । हामीले नै पहिले प्रति औंस ३ दशमलव ७५ डलर बढी तिरेर समेत चाँदी ल्याएका थियौँ । त्यसै करण चाँदीमा अन्तर्राष्ट्रिय बजारभन्दा बढी पर्न गएको छ ।’
आइतबार अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य प्रति औंस ८५ दशमलव ३४ अमेरिकी डलर रहेको छ । प्रभु बैंककै कुरा अनुसार यदि उक्त मूल्यमा १ दशमलव ५ डलर प्रिमियम तिर्नु परेको अवस्थामा चाँदीको मूल्य प्रति औंस ८६ दशमलव ८४ डलर हुन जान्छ ।
यही आधारमा नेपाली रूपान्तरण गर्दा अन्तर्राष्ट्रिय बजारमै चाँदी प्रति औंस १२ हजार ८०७ रुपैयाँ १६ पैसा हुन्छ ।
त्यसमा करिब ११ प्रतिशत भन्सार र अन्य खर्च जोड्दा नेपाली बजारमा चाँदी प्रति औंस १४ हजार २१५ रुपैयाँ ९४ पैसा हुन्छ ।
अब ग्राममा हिसाब गर्दा १ औंसमा २८ दशमलव ३४९ ग्राम हुन्छ । यसलाई प्रति ग्रामको आधारमा मूल्य निर्धारण गर्दा १ ग्राम चाँदीको मूल्य ५०१ रुपैयाँ ४६ पैसा कायम हुन्छ । यसलाई तोलामा हिसाब गर्ने हो भने प्रति एक तोलामा ११ दशमलव ६६४ ग्राम हुँदा प्रति तोला ५ हजार ८ सय ४९ रुपैयाँ हुन्छ ।
अब बैंकहरुले कति प्रिमियम तिरेर चाँदी ल्याएका छन् वा प्रिमियम नै तिरेका छैनन् भन्ने कुरा सामान्य अवस्थामा थाहा पाउन कठिन छ । यस्तो अवस्थामा प्रिमियम नतिरी ल्याउँदा र १ दशमलव ५० डलर प्रति औंस प्रिमियम तिरेर ल्याउँदा चाँदीको मूल्यमा हालको अवस्थामा १ दशमलव ७६ प्रतिशत बढी पर्न जान्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया