काठमाडौं । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको अध्यक्षमा कालिका खड्का चयन भएकी छिन् । मंगलबार सम्पन्न मञ्चको साधारण सभाले राष्ट्रिय समाचार समिति (रासस) का समाचारदाता खड्काको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ ।
नेपाल बार एसोसिएसनको सभा हलमा मंगबलार भएको साधारण सभाले सर्वसम्मत रूपमा खड्कालाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो । कार्यसमितिको उपाध्यक्षमा नेपाल न्युजकी संवाददाता भाषा शर्मा, महासचिवमा रातोपाटी डटकमका संवाददाता निराजन पौडेल र कोषाध्यक्षमा नयाँ पत्रिका दैनिककी संवाददाता शिल्पा कर्ण निर्वाचित भएका छन् ।
त्यसै गरी सदस्यहरूमा रेडियो नेपालका अर्जुन श्रेष्ठ, न्युज एजेन्सी नेपालका सविन धमला, लोकपथ डटकमका मदन ढुङ्गाना, अन्नपूर्ण पोष्टका दिनेश गौतम र कान्तिपुर टिभीका किरण पौडेल चयन भएका छन् । समितिको कार्यकाल २ वर्षको रहेको छ ।
साधारण सभाको उद्घाटन सत्रमा मञ्चका अग्रज कृष्णमुरारी भण्डारीले अदालतबाट हुने आदेश र फैसलालाई गहनरूपमा अध्ययन गरेर कमी कमजोरी भएमा सुझावसहित कानुन पत्रकारहरूले समाचार सम्प्रेषण गर्नुपर्ने बताए ।
मञ्चका पूर्व अध्यक्ष यम विरहीले न्यायालय एक प्रकारले शिथिल भएको अवस्थामा सञ्चारमाध्यमले संवेदनशील भएर काम गर्नुपर्ने बताए । ‘जस नेपाल’ अनलाइनका प्रधानसम्पादक अरुण बरालले मञ्चले अदालती रिपोर्टिङका साथै अर्धन्यायिक निकाय र स्थानीय न्यायिक समितिसम्म रिपोर्टिङ गर्न सक्नुपर्नेमा जोड दिए ।
संवैधानिक र न्यायिक विषयमा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको संस्था संवैधानिक तथा न्यायिक पत्रकार मञ्च २०६१ सालमा विधिवतरुपमा दर्ता भएको थियो । संस्थाले सुरुवाती चरणमा अदालती रिपोर्टिङसम्बन्धी तालिम, गोष्ठी आदि गरी पत्रकारहरूको वृत्ति विकासमा समेत सहयोग गरेको थियो । मञ्चकै अग्रसरतामा ‘अदालती रिपोर्टिङसम्बन्धी मार्गदर्शन’ समेत तयार पारी प्रकाशनको अन्तिम चरणमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया