‘जागिर खाने कि उद्यमी बन्ने ? युवाले निर्धारण गर्नुपर्ने बेला आयो’

लोकपथ
105
Shares

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले उद्यमी बन्ने कि जागिर खाने भन्नेबारे युवा उमेरमै निर्धारण गर्न आग्रह गरेका छन् ।

मंगलबार दोस्रो राष्ट्रिय सहकारी युवा सम्मेलनलाई सम्बोधन गर्दै उनले चाहनाअनुसारको पेशालाई युवा अवस्थामा निर्धारण गर्दा सफल हुने सम्भावन बलियो रहेको बताए ।

उनले सरकारी जागिरमा एकदमै प्रतिष्पर्धा हुने र उद्यामशीलतामा जाँदा पनि कडा मेहनत भने गर्नुपर्ने बताए ।

‘हामी उद्यमी हुने की जागिरमै जाने युवा अवस्थामै निर्धारण गर्नुपर्छ । आफ्नो चाहना के छ, त्यता तिर जानुपर्छ । सरकारी जागिरमा एकदमै प्रतिष्पर्धा हुन्छ । उद्यमशीलता तिर जाँदा पनि कडा मेहनत गर्नुपर्ने हुन्छ । अल्छि मानेर बसेर हुँदैन । समय, लगावले सफल उद्यमी भइन्छ,’ उनले भने, ‘उद्यमी सफल हुँदा धेरै कमाएको पनि हामीले देखिरहेका छौँ । जागिर तिर जाँदा जिवन पाल्ने काम हुन्छ । खासै आर्थिक हिसाबले प्रगति नहुन सक्छ । त्यसैकारण सकेसम्म युवाहरु उद्यमी हुन खोज्नुभयो भने धेरै राम्रो हुन्छ ।’

श्रेष्ठले उद्यमी हुन युवाहरुलाई सुझाव दिँदै त्यसले आर्थिक अवस्थामा ठूलो सुधार आउने बताए । उनले सफलताका लागि प्रविधिमा अभ्यस्त हुन समेत युवाहरुलाई अनुरोध गरे । अहिले छिटोछरितो प्रविधिमा परिवर्तन आएको बताउँदै श्रेष्ठले अब त्यसमा अभ्यस्त हुनुपर्ने ठूलो चुनौती आएको समेत बताए ।

आफू १४–१५ वर्षको हुँदासम्म प्रविधिबारे धेरै कुराहरुमा अनभिज्ञ रहेको स्मरण गर्दै उहाँले अहिलेका पुस्ता जन्मिदै हाइटेक भएको निस्केको अनुभुति आफूले गरेको उनले बताए ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले विगतमा जोखिम क्षेत्र आकलन नगरि ऋण प्रवाह गर्दा सहकारीसंस्थाहरु धराशायी भएको बताए ।

उनले धितो नराखी लोनहरु दिनुका साथै वास्तविक सदस्य हो, त्यो भन्दा बाहिरको ठूलाठूला रकम बचतका रुपमा स्वीकार गरिँदा समेत समस्या आएको बताउनु भयो । त्यस्तो रकम जो सञ्चालक छ उनीहरुको कम्पनीमा लगानी गरिँदा सहकारी संस्था डुबेको बताउँदै अब विगतबाट सिकेर अघि बढ्नुपर्ने बताए ।

सचिव भुजेलले भने– ‘विगतमा सहकारीसंस्थाहरु जुन धराशायी भए, जोखिम क्षेत्र आँकलन गरिएन । धितो नराखी लोनहरु दिइयो । जो वास्तविक सदस्य हो, त्यो भन्दा बाहिरको ठूलाठूला रकम वचतका रुपमा स्वीकार गरियो । त्यस्ता रकम अन्यत्र अर्थात जो सञ्चालक छ उनीहरुको कम्पनीमा लगानी गरियो, त्यसबाट सहकारी संस्था डुबे । अहिसम्मका अध्ययन प्रतिवेदनबाट पाइयोृ । सहकारी संचालकहरु दोषी छन् । सहकारी संचालक समाजमा सम्मानित मान्छेहरु छन् ।आर्थिक रुपमा पनि सम्पन्न छन्, अहिले उनी शिर निहुराएर हिँड्नुपरेको छ । मलाई कारबाही गरेपनि हुन्छ भनेर आइरहेका छन् । त्यस्तो देख्नपर्दा अप्ठ्यारो लागिरहेको छ ।’

सचिव भुजेलले अब सहकारीहरु अनुशासनमा रहेर चल्नुपर्नेमा जोड दिए । उनले सहकारीहरुमाथि कडा नियमन गरेर अघि बढ्न आफूहरुलाई दबाब पनि परिरहेको बताए । धेरै बचतकर्ताको रकम डुबेकाले अब सहकारीहरुमाथि सरकारले नियमन बढाउने उनको भनाइ छ ।

मंगलबारबाट शुरु भएको दोस्रो राष्ट्रिय सहकारी युवा सम्मेलन बुधवारसम्म चल्ने आयोजक संस्थालले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?