काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं बाँके क्षेत्र नं ३ का उम्मेदवार खगेन्द्र सुनार आफ्नै पूरानो अन्तर्वार्ताका कारण विवादमा तानिएका छन् ।
दलित अभियन्ता समेत रहेका सुनारले केही समयअघि एक पोडकास्टमा ‘गाई काटेर खान पाउनुपर्ने’ आशयको अभिव्यक्ति दिएका थिए ।
उनले भनेका थिए, ‘कसैले मटन खान पाउँछ भने अर्कोले गाई पनि खान पाउनुपर्छ । त्यसमा रोक्नुपर्ने कारण के छ यसमा ?,’ सुनारले भनेका थिए । तर निर्वाचन प्रचारमा रहेका बेला उक्त क्लिप सामाजिक सञ्जालमा देखिँदा उनको आलोचना समेत भइरहेको छ ।
राष्ट्रिय जनावर गाईलाई हत्या गर्न पाउनुपर्ने विषयमा खुलमखुला अभिव्यक्ति दिइएको भन्दै उनको आलोचना चुलिएको छ ।
यता खगेन्द्रले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै आफूले बोल्दै नबोलेको जिकिर समेत गरेका छन् ।
उनले निर्वाचनको मुखमा आफूलाई बदनाम गराउन उक्त भिडियो सार्वजनिक गरिएको आरोप समेत लगाए ।
‘बोल्दै नबोलेको कुरालाई तोडमोड गरेर, छेउटुप्पा जोडेर नियतवस रुपमा दुष्प्रचारको प्रयास गरिएको छ । न्याय अन्याय, मानसम्मान र अपमान छुट्टयाउने भन्दा पनि गलत नियतबाट चरित्र हत्या गर्ने किसिमबाट सामाजिक सञ्जालमा भिडियोहरु भाइरल गराइएको छ । राष्ट्रिय जनावर गाईलाई लिएर गरिएको टिप्पणीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । राष्ट्रिय जनावरप्रतिको हाम्रो सम्मान यथावत छ,’ उनले भनेका छन् ।
त्यसो त उनले आफूले बोलेको कुरालाई पूर्णत गलत रहेको दाबी गर्दै अन्य दल र तिनका नेताहरुमाथि खनिएका छन् ।
‘चुनावलाई लक्षित गरेर हार्ने नियत देखिसकेपछि, निश्चित प्रायः भइसकेपछि भाई मारेर आएकाहरुले, मठमन्दिर ध्वस्त पारेर आएकाहरुले, देशै ध्वस्त बनाएर आएकाहरुले, हिजो सारा संरचना ध्वस्त बनाएर आएकाहरुले संसार खाएर आएकाहरुले, बाख्रा आएर आएका कांग्रेसले, भाई मारेर आएका एमालेले, सारा ध्वस्त पारेर आएका माओवादीका ती गलत नियत बोकेका मान्छेहरुले हामीलाई केही नपाएपछि यो आरोपहरु लगाएका छन्,’ अन्य नेताहरुमाथि खनिँदै उनले भनेका छन् ।
त्यस्तै उनले आफू शाकाहारी रहेको कारण पनि कुरा नबोलेको उनको जिकिर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया