गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन र त्यसले ल्याएको राजनीतिक परिवर्तनपश्चात नेपालको राजनीतिमा युवा पुस्ताको प्रवेशसँगै राष्ट्रवाद, सामाजिक न्याय, विकास र समृद्धिको आवाज बुलन्द भएका छन् । राष्ट्रप्रतिको माया, त्याग र समर्पण देखाउने क्रममा सगरमाथाको शीरभन्दा उँचो र इतिहासमा कहिल्यै कसैका सामु नझुकेको राष्ट्रिय झण्डाको व्यापक प्रयोग भइरहेको छ । टाउकोमा बाँध्ने कपनेखि गलामा बाँध्ने गलबन्दी, स्क्याप, कम्मरमा बाँध्ने पटुकी, भुईंमा बिच्छाउने रुमाल र बेड कभर तथा आसनलगायत देख्न सकिने, नसकिने सबै प्रकारले राष्ट्रिय झण्डाको दुरुपयोग गरिएको छ । आफूलाई राष्ट्रवादी देखाउने नाममा राजनीतिक दल र समर्थकहरूले राष्ट्रिय झण्डालाई ब्लाउजदेखि कछाडसम्म बनाउन मात्र बाँकी राखेका छन् भन्दा फरक पर्दैन । सामाजिक सञ्जालमा देखिएको राष्ट्रिय झण्डाको व्यापक र चरम दुरुपयोगले जो कोही नेपालीको मुटु चस्कन पुग्नु स्वाभाविक नै हो ।
यसै सन्दर्भमा केही दिनअगाडि संविधानविद् भीमार्जुन आचार्यले फेसबुक वालमार्फत लेखे कि : ‘राष्ट्रिय झण्डाको धेरै नै दुरुपयोग हुन थाल्यो । राष्ट्रिय झण्डा ओढेर आन्दोलन गर्ने, देश जलाउने, मत माग्ने, यी कार्य वर्जित छन् । तत्काल बन्द हुनु पर्यो । राष्ट्रिय झण्डा ‘ओढ्ने कपडा’ होइन । यसतर्फ सम्बद्ध निकायको ध्यान जाओस् ।’ । जसले सबै सच्चा राष्ट्रवादी नेपालीको ध्यान खिचेको छ । के हो राष्ट्रिय झण्डा र यसको प्रयोग कसरी गर्ने भन्ने सन्दर्भमा यो आलेख तयार पारिएको छ ।
राष्ट्रको आत्मा र गौरव राष्ट्रिय झण्डा
राष्ट्रिय झण्डा कुनै पनि देशको पहिचान, स्वाभिमान र एकताको प्रतीक हो जसले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान र नेपालीको हकहितको रक्षा गर्छ । यसले राष्ट्रको इतिहास, संस्कृति, संघर्ष र आकांक्षालाई प्रतिनिधित्व गर्छ ।
कसैले नेपालसँग मैत्री सम्बन्ध भएको मुलुक र संयुक्त राष्ट्र संघ वा सम्बद्ध संस्था वा विशिष्टीकृत निकाय वा नेपाल सदस्य रहेको कुनै अन्तर्राष्ट्रिय वा क्षेत्रीय संस्थालाई घृणा वा अपमान गर्ने नियतले त्यस्तो संस्थाको झण्डा कुनै किसिमले दुरुपयोग गर्ने वा प्रयोग गर्ने काम गरेमा त्यस्तो कार्यलाई अपराध मानी १ वर्षसम्म कैद वा १० हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।
राष्ट्रिय झण्डा कुनै पनि देशको पहिचान हो जसले अन्य देशबाट आफ्नो देशलाई पृथक भएको जनाउँछ । यो राष्ट्रिय एकताको प्रतीक हो जसले सबै नागरिकलाई राष्ट्रिय एकताको एउटै सूत्रमा बाँध्दछ । यो राष्ट्रप्रतिको सम्मान र गर्व हो भने अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रको प्रतिनिधित्व पनि हो । यो कुनै पनि राष्ट्र स्वतन्त्र र सार्वभौम भएको प्रमाण पनि हो । राष्ट्रिय झण्डा केवल कपडाको टुक्रा होइन, यो त राष्ट्रको आत्मा र गौरव पनि हो ।
नेपालमा राष्ट्रिय झण्डाको इतिहास
नेपालमा लिच्छवी कालदेखि नै प्रयोगमा आएको विश्वकै एकमात्र त्रिकोणात्मक झण्डा नेपाल र नेपालीको सान र पहिचान हो ।
नेपालको शाह वंशीय इतिहासलाई हेर्दा झन्डाका दुईवटा त्रिभुजले शाह वंशका दुई आँखा शक्ति र स्थिरतालाई जनाउँदछ भन्ने विश्वास थियो । इन्जिनियर शंकरनाथ रिमालको डिजाइनमा तयार भएको नेपालको राष्ट्रिय झण्डाको संवैधानिक इतिहास हेर्ने हो भने नेपालको राष्ट्रिय झण्डाले नेपालको संविधान, २०१९ बाट संवैधानिक हैसियत पाएको देखिन्छ । नेपालको संविधान, २०१९ को धारा ५ र अनुसूची १ मा ‘सिम्रिक रंगको भुईं र गाढा नीलो रंगको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अंकित भएको झण्डा नेपालको राष्ट्रिय झण्डा हुनेछ’ भन्ने व्यवस्था थियो ।
त्यसपछि बनेका संविधानहरू क्रमशः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ५ र अनुसूची १ मा नेपालको अन्तरिम संविधान–२०६३ को धारा ६ र अनुसूची १ मा राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक–पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं सहिदहरू तथा बेपत्ता र पीडित नागरिकलाई सम्मान गर्दै जारी भएको नेपालको संविधानको धारा ८, अनुसूची १ मा राष्ट्रिय झण्डालाई संवैधानिक हैसियत प्रदान गरिएको पाइन्छ ।
नेपालको राष्ट्रिय झण्डा केवल एक थान कपडा होइन, यो हाम्रो इतिहास, स्वाभिमान र राष्ट्रिय अस्तित्वको प्रतीक हो । राष्ट्रिय झण्डामा प्रयोग भएको सिम्रिक रंगको भुईंलाई वीरता र साहसको प्रतीक, गाढा नीलो रंगको किनारालाई शान्तिको प्रतीक र झण्डामा रहेको चन्द्र र सूर्यलाई अटलताको प्रतीकका रूपमा लिने गरिन्छ जसले सूर्य र चन्द्र रहेसम्म नेपाल सदा अटल रहने विश्वास गरिन्छ ।
राष्ट्रिय झण्डाको प्रयोग गर्ने विधि
राष्ट्रिय झण्डाको प्रयोग सम्बन्धमा नेपाल सरकारले २०६९ साल जेठ २२ गते राजपत्रमा सूचना प्रकाशन गरी राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि–२०६९ बनाई प्रयोगमा ल्याएको छ । कार्यविधिमा व्यवस्था भएबमोजिम संवैधानिक निकाय तथा सरकारी कार्यालयहरूले ८/६ फिट, नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्वमा रहेका संघ वा संस्थाले ६/४ फिट, संवैधानिक निकाय वा सरकारी कार्यालय प्रमुखको कार्यकक्ष, गैरसरकारी संघसंस्था तथा नेपाली नागरिकले व्यक्तिगत रूपमा प्रयोग गर्ने झण्डा ४/३ फिटको झण्डा प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ ।
यसैगरी राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभा अध्यक्षले आफू चढेको सवारी साधनमा राष्ट्रिय झण्डाको प्रयोग गर्न पाउनेछन् भने उपप्रधानमन्त्री, मन्त्री, उपसभामुख र अध्यक्ष, राज्यमन्त्री र सहायक मन्त्रीले निजी काममा बाहेक सरकारी कामको सिलसिलामा चढेको सरकारी सवारी साधनमा राष्ट्रिय झण्डाको प्रयोग गर्न पाइने व्यवस्था गरेको छ । यसैगरी कार्यविधिको दफा ६ मा राष्ट्रिय झण्डा प्रयोग गर्न पाइने कार्यालयहरू समावेश गरिएको छ । राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि–२०६९ को दफा ७ मा राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी अन्य व्यवस्था र दफा ८ मा प्रयोग विधिको व्यवस्था गरिएको छ ।
राष्ट्रिय झण्डाको मर्यादा र सम्मानमा आँच आउन नहुने
विशेषतः नेपालको राष्ट्रिय झण्डा सरकारी कार्यालय, राष्ट्रिय पर्व, अन्तर्राष्ट्रिय कार्यक्रम, शैक्षिक संस्था तथा सम्मानका अवसरमा प्रयोग गरिन्छ ।

स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतान्त्रिक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको पहिचान र एकताको प्रतीक राष्ट्रिय झण्डाको प्रयोग गर्दा यसको मर्यादा र सम्मानमा आँच नआउने गरी गर्नुपर्ने छ भने सर्वसाधारण नागरिकले पनि निजी निवासमा राष्ट्रिय झण्डाको प्रयोग गर्दा यस विषयमा सचेत रहनु जरुरी छ । नेपाल सरकारले राष्ट्रिय शोकको घोषणा गरेको समयमा राष्ट्रिय झण्डा फहराउने सम्पूर्ण निकाय वा नागरिकले समेत अनिवार्यरूपमा राष्ट्रिय झण्डा झुकाउन पर्ने व्यवस्था गरी नागरिकको कर्तव्य र भूमिका पनि स्पष्ट गरेको छ ।
राष्ट्रिय झण्डाको प्रयोगमा निषेध
राष्ट्रको सान र पहिचान राष्ट्रिय झण्डाको अपमान हुने किसिमले कुनै पनि कार्य गर्न वा गराउन, राष्ट्रिय झण्डालाई उल्टो गरी राख्न, राष्ट्रिय झण्डा च्यात्न, जलाउन, फ्याँक्न, कुनै पनि सामान पोको पार्न, व्यापारिक प्रयोजनका लागि विज्ञापनको उद्देश्यले दुरुपयोग गर्न नहुने व्यवस्था गर्दै व्यक्तिले आफ्नो शरीरमा राष्ट्रिय झण्डाको प्रतीक टाँस्दा, छाप्दा वा लगाउँदा कम्मरभन्दा माथिको भाग बाहेक अन्यत्र लगाउन वा प्रयोग गर्दा चन्द्रमा तल पर्ने गरी लगाउन निषेध गरिएको छ । यसैगरी शरीरको छातीभन्दा तलको भागमा लगाइने कुनै पनि भित्री र बाहिरी कपडामा राष्ट्रिय झण्डाको प्रतीक र चित्र राख्न, फहराउने प्रकृतिको कार्यमा बाहेक अन्यत्र राष्ट्रिय झण्डाको प्रयोगलाई निषेध गरिएको छ ।
राष्ट्रिय झण्डाको अपमान वा क्षति गर्न नहुने
मुलुकी अपराध संहिता–२०७४ को दफा १५१ मा कसैले नेपाल वा नेपाल सरकारविरुद्ध घृणा फैलाउने नियतले नेपालको झण्डा जलाउने, त्यसको जानीजानी अपमान गर्ने वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको विपरीत प्रयोग गर्ने कार्य गरेमा त्यस्तो कार्यलाई अपराध मानी ३ वर्षसम्म कैद वा ३० हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
कसैले नेपालसँग मैत्री सम्बन्ध भएको मुलुक र संयुक्त राष्ट्र संघ वा सम्बद्ध संस्था वा विशिष्टीकृत निकाय वा नेपाल सदस्य रहेको कुनै अन्तर्राष्ट्रिय वा क्षेत्रीय संस्थालाई घृणा वा अपमान गर्ने नियतले त्यस्तो संस्थाको झण्डा कुनै किसिमले दुरुपयोग गर्ने वा प्रयोग गर्ने काम गरेमा त्यस्तो कार्यलाई अपराध मानी १ वर्षसम्म कैद वा १० हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।
निर्वाचन आचारसंहिता–२०८२ मा भएको व्यवस्था
आचारसंहिताको परिच्छेद ४, दफा १३ को खण्ड ‘न’ मा राजनैतिक दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो, भेटघाट वा जुनसुकै प्रकारको र्याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न बाहेक निर्वाचन प्रचारप्रसार गर्दा राष्ट्रिय झण्डा प्रयोग गर्न गराउन नहुने व्यवस्था गर्दै यसको उल्लंघन गरेमा मुलुकी अपराध संहिता–२०७४ को दफा १५१ बमोजिम सजाय हुने व्यवस्था गरेको छ ।
अन्त्यमा, राष्ट्रको इतिहास, संस्कृति, संघर्ष र आकांक्षालाई प्रतिनिधित्व गर्ने राष्ट्रिय एकताको राष्ट्रिय झण्डा राष्ट्रप्रतिको सम्मान र गर्व हो । राष्ट्र स्वतन्त्र र सार्वभौम भएको प्रमाण पनि हो । राष्ट्रिय झण्डा केवल कपडाको टुक्रा होइन, यो त राष्ट्रको आत्मा र गौरव पनि हो । यसको सम्मान गरौँ ।
(लेखक पाण्डेय उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगाका रजिस्ट्रार हुन् । यो पाण्डेयको निजी विचार हो ।)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया