काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा स्कटल्यान्डले नेपाली टोलीसामु जितका लागि १ सय ४१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोली नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । त्यस क्रममा ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा १ सय ४० रन बनाएर अलआउट भयो ।
खेलमा नेपालका लागि मनिषा उपाध्यायले सर्वाधिक ४ विकेट लिइन् । मनिषाले आफ्नो ओभरमा १७ रन खर्चेर ४ विकेट लिइन् । उनले ग्लोबल छनोटमा पहिलो खेल खेलेकी हुन् ।
यस्तै, रुविना क्षेत्रीले ४ ओभरमा २३ रन दिएर ३ विकेट लिइन् । रिया शर्मा, सीता रानामगर र कविता जोशीले समान एक एक विकेट लिए ।
स्कटल्यान्डका लागि प्रियानाज चट्टेर्जीले सर्वाधिक ४५ रनमा अविजित रहिन् । एल्सा लिस्टरले २२, सराह वर्सीले १८ र मेगन मेकोलले १७ रन बनाइन् ।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
यो खेल नेपालका लागि निकै महत्वपूर्ण छ । प्रतियोगिताको ‘सुपर–६’ चरणमा पुग्दै आगामी टी–२० विश्वकपमा छनोट हुने सपना जीवित राख्न नेपालले यो खेलमा स्कटल्यान्डलाई फराकिलो अन्तरले हराउनै पर्ने हुन्छ ।
समूह ‘बी’ बाट तीनवटा टोली प्रतियोगिताको ‘सुपर–६’ चरणमा पुग्नेछन् । हालको स्थितिमा तीन खेलबाट ६ अंक जोडेको नेदरल्यान्ड्स ‘सुपर–६’ चरणमा पुगिसकेको छ । तीन खेलबाट चार अंक जोडेको स्कटल्यान्ड दोस्रो स्थानमा छ ।
यसैगरी, तीन खेलबाट चार अंक बटुलेको थाइल्यान्ड तेस्रो स्थानमा छ । तीन खेलबाट दुई अंक जोडेको नेपाल चौथो स्थानमा छ । लगातार चार खेलमा पराजित भएको जिम्बाब्वे यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको छ ।
सोमबारको खेलमा स्कटल्यान्डलाई हराए नेपालको अंक पनि चार पुग्नेछ । त्यसपछि नेपाल, स्कटल्यान्ड र थाइल्यान्डको चार–चार अंक हुनेछ । यस्तो स्थितिमा नेट रन रेटका आधारमा अगाडि बढ्ने बाँकी दुई टोलीको टुंगोे लाग्नेछ ।
थाइल्यान्डले समूहगत चरणको अन्तिम खेल्न सोमबार नै नेदरल्यान्ड्ससँग खेल्दैछ । थाइल्यान्ड र नेदरल्यान्ड्सबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । हाल स्कटल्यान्डको नेट रन रेट १.५७५, थाइल्यान्डको नेट रन रेट –०.२८६ र नेपालको नेट रन रेट –०.३२८ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया