माधव नेपालको उम्मेदवारी खारेज गर्न माग गर्दै आयोगमा उजुरी

लोकपथ
819
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

भ्रष्टाचार मुद्दा चलिरहेको व्यक्ति उम्मेदवार भएको भन्दै निर्वाचन आयोगमा उनको उजुरी खारेजीको मागसहित उजुरी परेको हो ।

मंगलबार नेपालले रौतहट क्षेत्र नं १ मा उम्मेदवारी दर्ता गराएका थिए ।

बुधबार आयोगले तोकेको समयअनुसार सोही क्षेत्रमा उम्मेदवार रहेका रामनरेश राय यादवले आयोगमा उजुरी दिएका हुन् ।

‘…अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ बमोजिम निज निलम्बन भएको तथा उक्त मुद्दा विचाराधिन अवस्थामा रहेकाले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ अनुसार उहाँ (माधवकुमार नेपाल) उम्मेदवार हुन अयोग्य हुनुभएको हुँदा उहाँको उम्मेदवारी खारेज गरी पाउन सादर अनुरोध छ,’ उजुरीपत्रमा भनिएको छ ।

त्यसो त निर्वाचन आयोगका अनुसार नेपालसहित ५ जनाविरुद्ध आयोगमा उजुरी परेको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार सुनसरी जिल्ला क्षेत्र नम्बर २, भक्तपुर जिल्ला क्षेत्र नम्बर २ दुई वटा र रौतहट जिल्ला क्षेत्र नम्बर १ र कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा एक–एक गरी जम्मा ५ वटा उजुरी परेको हो ।

निर्वाचन कार्यतालिकाअनुसार भोलि उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?