काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गगन थापाको नेतृत्वमा गएका समूह पार्टीबाट चोइटिएर मात्रै गएको टिप्पणी गरेका छन् ।
निर्वाचन आयोगमा पार्टीको आधिकारिकताबारे दाबीका लागि पुगेका कोइरालाले बहुमत केन्द्रीय सदस्यहरू अझै आफूहरूको पक्षमै रहेको जिकिर गर्दै आयोगमा जानुपर्ने अवस्था नरहेको बताए ।
उनका अनुसार सञ्चारमाध्यमहरूको दबाबका कारण मात्र आयोगसम्म आउनुपरेको हो । ‘हामी यहाँ आउनै नपर्ने जस्तो लाग्छ, तर सञ्चारमाध्यमहरूले बाध्य बनाइदिए,‘उनले भने।
डा.कोइरालाले पार्टीको आधिकारिकता लोकतान्त्रिक पद्धतिअनुसार संस्थागत निर्णयका आधारमा हुने उल्लेख गरे । उनले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन बोलाउने अधिकार पाए पनि त्यसको कार्यसूची, कार्यतालिका र कार्यविधि केन्द्रीय समितिले नै तय गर्नुपर्ने स्पष्ट व्यवस्था विधानमै रहेको दाबी गरे । कुनै पदाधिकारी वा व्यक्तिले एकल रूपमा विशेष अधिवेशन बोलाउने अधिकार विधानले नदिएको उनको भनाइ छ ।
‘व्यक्ति होइन, संस्था खोजिएको हो। संस्थागत निर्णय नै आधिकारिक हुन्छ,‘भन्दै उनले केन्द्रीय समितिका अधिकांश सदस्यहरू आफूहरूसँगै रहेको बताए । ‘केही चोइटिएर जानुभएको होला, तर सिंगो केन्द्रीय समिति यहीँ छ,‘ उनले थपे ।
निर्वाचन आयोगको भूमिकाबारे उदाहरण दिँदै उनले भने, ‘आज टुँडिखेलमा गएर कुनै निर्वाचन आयुक्तले ६ गते नोमिनेसन हुँदैन भन्यो भने त्यो मान्य हुन्छ कि हुँदैन ? यो गम्भीर विषय हो ।’
डा.कोइरालाले विशेष महाधिवेशनमा सहभागी भएका ८८५ जना महाधिवेशन प्रतिनिधिहरू उक्त महाधिवेशनबाट फर्किएको उल्लेख गर्दै त्यससम्बन्धी हस्ताक्षर पार्टी कार्यालयमा बुझाइएको जानकारी दिए । ती हस्ताक्षरसहितका प्रमाण निर्वाचन आयोगमा पनि पेस गरिएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया