काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएर कांग्रेस अघि बढ्ने सम्भावना बढिरहेको देखिन्छ ।
महामन्त्रीद्वयसँग सभापति शेरबहादुर देउवाको निर्णायक मानिएको वार्ता समेत भंग भएपछि विशेष महाधिवेशनबाट नेतृत्व चयन हुने सम्भावना थप बढेको हो ।
विशेष महाधिवेशनबाट नेतृत्व चयनका लागि सभापतिमा गगन थापाको मात्रै एकल उम्मेदवारी परेको छ भने, उपसभापतिमा २, महामन्त्रीमा २ जनाको उम्मेदवारी परिसकेको छ । साथै सहमहामन्त्रीमा ८ जनामध्ये केहीको उम्मेदवारी परेको छ भने केन्द्रीय सदस्यहरुमा समेत उल्लेख्य मात्रामा उम्मेदवारी परेको छ ।
विशेष महाधिवेशन भएका कारण सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेर अघि बढ्ने सम्भावना समेत रहेको नेताहरुले बताइरहेका छन् । तर सभापतिमा महामन्त्री थापाको मात्रै उम्मेदवारी पर्दा पदाधिकारी अन्तर्गतका अन्य पदमा धेरै आकांक्षी देखिँदा नेतृत्व चयन निर्वाचन प्रक्रियामा जान सक्ने सम्भावना समेत त्यतिकै छ । जसको लागि विशेष महाधिवेशनको निर्वाचन आयोजक समितिले विद्युतीय मतदानका लागि समेत सम्बन्धित पक्षलाई तयारी अवस्थामा राखेको छ ।
विद्युतीय मतदानको प्राविधिक रहेका लक्ष्मण रिमालले आफूलाई कांग्रेसको निर्वाचन समितिले तयारी अवस्थामा रहन भनेको लोकपथलाई बताए ।
‘विद्युतीय मतदानका लागि प्राविधिक रुपमा सहज या असहज के छ भन्ने उहाँहरुले कुरा राख्नुभएको थियो । हामीले सबै तयारी छ भनेका छौँ,’ उनले लोकपथसँग भने ।
त्यसो त लक्ष्मण बुधबार बिहान कांग्रेसको विशेष महाधिवेशनस्थल भृकुटीमण्डप समेत पुगेका थिए । त्यहाँ उनले ठाउँ निरीक्षण गरेको र यसअघि पनि गराइसकेको हुनाले सबै प्रबन्ध मिलाउन कठिन नहुने समेत लोकपथलाई बताए ।
‘अघि भेन्यू हेरेर पनि आएको छु । यसअघि पनि गराइसकेको हुनाले त्यति असहज छैन,’ उनले भने ।
उनका अनुसार मतपत्र छपाइका लागि भन्दा विद्युतीय माध्यमबाट मतदान र गणना सहज हुनेछ । मतपत्र छपाईको काम ७ घण्टा भन्दा बढी लाग्ने भए पनि विद्युतीय मतदानका लागि मेसिनमा नाम दर्ता गर्न ५–६ घण्टामा सकिने र त्यसपछि मतदानको काम र निर्णय छिट्टै हुने समेत उनले बताए ।
‘मतपत्र छाप्ने हो भने ७ घण्टा भन्दा बढी लाग्छ, तर विद्युतीय मतदानका लागि मेसिनमा नाम इन्ट्री गर्न ५ घण्टा जतिमै काम सकिन्छ,’ उनले भने ।
त्यसो त यसअघि मंसिरको अन्तिम साता सम्पन्न एमालेको ११औँ महाधिवेशनमा दुईपटक नाम इन्ट्री गर्नुपरेका कारण लामो समय लागेको थियो । पहिले नै नाम इन्ट्री गरिएको र पछि पुनः नामावली संशोधन हुँदा दोहोरो झण्झट भएको स्मरण गर्दै उनले आफूहरुले अन्तिम नामावली आएपछि मात्रै पठाउन भनेको समेत बताए ।
‘असअघिको अनुभवका आधारमा दोहोरो झण्झट हुँदा धेरै समय लागेको थियो । तर हामीले उहाँहरुलाई अन्तिम नामावली आएपछि मात्रै पठाउन भनेका छौँ,’ उनले भने, ‘यदी कांग्रेसको विशेष महाधिवेशन निर्वाचन पक्रियामा गयो भने हामी विद्युतीय मतदानको कामका लागि स्ट्यानबाई छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया