काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले आगामी निर्वाचनमा बहुमत प्राप्त गरी देशमा नयाँ वामपन्थी क्रान्तिकारी सरकार गठन गर्ने घोषणा गरेका छन् ।
जेनजी रेडफोर्सले आइतबार आयोजना गरेको जेनजी जागरण तथा वृहत् सांस्कृतिक कार्यक्रम’लाई सम्बोधन गर्दै नेता खनालले पार्टीको प्रमुख लक्ष्य निर्वाचनमा बहुमत हासिल गर्नु रहेको बताए ।
बहुमत प्राप्त भएपछि नयाँ वामपन्थी क्रान्तिकारी सरकार निर्माण गरी देशलाई वैज्ञानिक समाजवादको दिशातर्फ लैजाइने उनको भनाइ थियो ।
उनले सम्पूर्ण नेपालीको नेतृत्व अब नेपाली कम्युनिष्ट पार्टीले गर्ने दाबी गर्दै पार्टीका उम्मेदवारलाई जिताउन देशव्यापी रूपमा तयारी थाल्न कार्यकर्तालाई निर्देशन दिए । ‘नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वमा दुई करोड ९२ लाख जनतालाई एकताबद्ध गर्दै हामी नयाँ समाजवादी क्रान्तितर्फ अगाडि बढ्दैछौँ, ‘उनले भने, ‘अहिलेको कार्यनीतिक लक्ष्य भनेको निर्वाचनमार्फत बहुमत प्राप्त गरी परिवर्तनकारी संसद निर्माण गर्नु हो ।’
खनालले बहुमतसहितको सरकार बनेपछि मात्रै वैज्ञानिक समाजवादको दिशामा अघि बढ्न सकिने स्पष्ट पारे । साथै, युवालाई पार्टी नेतृत्वका लागि तयार पार्ने अभियानमा पार्टी लागिरहेको जानकारी दिँदै पार्टीमा ४० प्रतिशत युवाको सहभागिता सुनिश्चित गरिने पनि उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया