काठमाडौं । नेपाली कांग्रेसका निःवर्तमान सांसद एवं उद्योगपति विनोद चौधरीले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीको नेतृत्वमा पुग्ने अभियानबाट पछि नहट्न आग्रह गरेका छन् ।
आजबाट काठमाडौंमा सुरु भएको पार्टीको विशेष महाधिवेशनमा बोल्दै उनले सो कुरा बताएका हुन् । नेता चौधरीले विशेष महाधिवेशन पक्षधरहरुले युवा नेतृत्व चाहेको र त्यो अभियानलाई महामन्त्रीद्वय थापा र शर्माले अधुरो छोडन नमिल्ने बताए ।
उनले महामन्त्रीद्वयले पार्टीको नेतृत्व लिनुपर्ने र मुलुकलाई युवाहरूको सपना पूरा हुने गरी विकासको खुड्किलोमा अघि बढाउनुपर्ने बताए ।
नेता चौधरीले मुलुकमा बलियो अर्थतन्त्र निर्माण गर्ने काममा पनि अगुवाइ कांग्रेसबाट भएको हेर्न चाहेको समेत बताए । उनले आगामी निर्वाचनमा नेपाली कांग्रेसले ५० प्रतिशत भन्दा बढी युवाहरूलाई उम्मेदवार बनाउनुपर्ने बताए ।
उनले भने, ‘नेपाली कांग्रेसले कम्सेकम ५० प्रतिशत नयाँ अनुहारहरूलाई अब आउने निर्वाचनमा उम्मेदवार बनाएको देख्न चाहन्छ । नेपाली कांग्रेसले जेनजीको भावना बोकेकाहरुलाई पार्टी नेतृत्वको रूपमा उभ्याएको देख्न चाहन्छ । कुनै पनि मान्छेले राजनीतिलाई पेसा होइन, समाजलाई रूपान्तरण गर्ने समाजको एउटा प्लेटफर्मको रूपमा खुला हृदयले आमन्त्रणका साथ भित्र्याएको हेर्न चाहन्छ । त्यस्तो नेपाली काँग्रेस जसले २०४८ सालमा यो देशको आर्थिक रूपान्तरण नै गर्यो । नेपाली काँग्रेसले राजनीतिक रूपान्तरण मात्रै होइन आर्थिक रूपान्तरण नै २०४८ सालमा गरेको र त्यसै आधारमा त्यही आधारमा आजसम्म पनि देश कुनै न कुनै त्यही रूपमा चलिराखेको छ । फेरी नेपाली कांगे्रसले ती पुराना जेलनेल भोगेको पोलिटिकेका साथसाथ अर्थतन्त्रलाई एउटा बलियो दिशा दिनसक्ने, एउटा सक्रियताका साथ ती प्रकृतिले दिएको अवसरहरूलाई सार्थक बनाउन सक्ने त्यस्तो किसिमको एउटा अर्थतन्त्र निर्माण गर्न सक्ने । यी दुवै पक्षलाई लिएर जान सक्ने एउटा बलियो साझेदारीलाई लिएर जान सक्ने युवाहरूको सपनालाई सार्थक बनाउन सक्ने प्रतिबद्धता भएको पार्टी देख्न चाहेको छ । म आज मञ्चबाट दुवै महामन्त्रीलाई बधाई दिन चाहन्छु–अगाडि बढ्नुहोस् । आजको यो यात्रालाई अधुरो नछोड्नुस् । यसलाई एउटा निर्णायक ठाउँमा पुर्याउनुहोस् । अब यो नेपालले कुर्नै नसक्ने अवस्थामा पुगेको नेपाललाई विकासको त्यो खुड्किलोमा पुर्याउनुहोस् ।’
नेता चौधरीले नेपाली कांग्रेसले जेनजीको भावनाअनुसार चल्नुपर्ने समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया