काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको विवाद पछि पार्टी विभाजनको खतरा बढेको छ । यस्तो परिस्थितिमा नेताहरू डा.चन्द्र भण्डारी, डा. सुनिल शर्मा लगायतले पार्टी एकता बचाउने अभियान सुरु गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेता भण्डारीले भने, ‘हामी पार्टी मिलाउने पक्षमा छौँ । पार्टीलाई फुट्न नदिने स्थितिमा छौँ । विशेष महाधिवेशन नीति महाधिवेशनको रूपमा हुनुपर्छ र सभापति शेरबहादुर देउवा पनि सहभागी हुनुपर्छ ।’
उनले संस्थापन पक्ष र इतर पक्ष दुवैलाई पार्टी एकताको पक्षमा केन्द्रित हुन आग्रह गरे ।
भण्डारीले पार्टीलाई मुलुकको नेतृत्व गर्न सक्ने शक्ति बनाउने दृष्टिले फुट हुन नदिने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘मुलुकलाई संकटबाट जोगाउन कांग्रेसलाई फुटबाट जोगाउनु अत्यावश्यक छ ।’
नेता डा.सुनिल शर्माले पनि विशेष महाधिवेशनमा सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतका नेताहरू सहभागी हुने विश्वास व्यक्त गर्दै पार्टी एकताको पक्षमा रहेको बताए । उनले भने, ‘संस्थापन पक्षका नेताहरू पनि सहभागी हुनुहुनेछ । पार्टी सभापति देउवाको सम्मानजनक बिदाइको पक्षमा छौँ ।’
शर्माले डा. शेखर कोइरालाले पनि पार्टी एकताको पक्षमा रहेको जानकारी दिए । नेताहरूले सबै पक्षलाई एकजुट भएर पार्टीलाई सुदृढ बनाउने आह्वान गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया