काठमाडौं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनको सुरक्षा सुनिश्चित गर्नु सरकारको प्रमुख जिम्मेवारी भएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले निर्वाचनलाई सुरक्षित र निष्पक्ष रूपमा सम्पन्न गराउन सम्पूर्ण तयारी गरिसकेको स्पष्ट पारे ।
गृहमन्त्री अर्यालले जेनजी पुस्तालाई भड्काएर हिंसा सिर्जना गर्न खोज्ने तत्वहरू क्रमशः निर्वाचनको पक्षमा आउन थालेको बताए । उनले जेनजी पुस्ता स्वयं जिम्मेवार रहेको र अहिले अनावश्यक निहुँ खोज्ने अवस्था नरहेको उल्लेख गरे ।
उनले दण्डहीनता गृह मन्त्रालयले कुनै पनि हालतमा सहन नसक्ने जिकिर गर्दै हिंसा भड्काउने, अफवाह फैलाउने र गलत सूचना (मिसइन्फरमेसन तथा डिसइन्फरमेसन) प्रवाह गर्ने कार्यलाई कडाइका साथ नियन्त्रण गरिने बताए । यस्ता कार्यमा संलग्नलाई साइबर अपराधअन्तर्गत कारबाही गरिने पनि उनले स्पष्ट पारे ।
गृहमन्त्री अर्यालले आन्दोलनका क्रममा लुटिएका केही हतियार बाहिर रहे पनि निर्वाचन नै रोक्ने गरी कुनै हतियार बाहिर नरहेको दाबी गरे । निर्वाचनको सुरक्षाका लागि आवश्यक मापदण्ड तयार भइसकेको र सुरक्षामा कुनै कमजोरी नरहेको उनको भनाइ थियो ।
वर्तमान सरकारलाई अन्तर्राष्ट्रिय समुदायको समर्थन रहेको उल्लेख गर्दै उनले सरकार कुनै पनि हिसाबले निर्वाचन गराउन सक्षम रहेको बताए । निर्वाचनमा राज्यको ठुलो लगानी भइसकेकाले अब पछाडि फर्किने विकल्प नरहेको उनको भनाइ छ ।
उनले एक लाखभन्दा बढी निर्वाचन प्रहरी भर्ना प्रक्रिया अघि बढाइएको जानकारी दिँदै निर्वाचन अब नरोकिने स्पष्ट पारे ।
कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले आफ्नो पहिलो प्राथमिकता देश र मानवताको रक्षा रहेको उल्लेख गरे । आफू सही बाटोमा रहेको र नागरिकसँगै रहेको उनको जिकिर थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया