काठमाडौं । हेमन्त ऋतु अन्तर्गतको पुस महिना चिसो हुने भए पनि राजनीतिक माहोलले गर्माइरहेको छ ।
जेनजी आन्दोलनपछि बनेको नयाँ सरकार जेनजीको मनोभावना जित्ने र आगामी फागुन २१ को निर्वाचन सफल गराउने ध्याउन्नमा छ । कतिपय दलहरु निर्वाचनमा भाग लिने तयारी र सरकारले चुनाव गराउन सक्दैन भन्ने रटान एकैपटक लगाइरहेका छन् । ०८४ मा पुराना दलहरुलाई बढार्ने भन्दै तयारीमा रहेका कतिपय दलहरु ०८२ मै निर्वाचन हुने भयो भन्ने विषयले हौसिएका छन् ।
जेनजीदेखि चर्चित अनुहारहरु नयाँ पार्टी खोलेर मैदानमा छन् । कतिपय राजनीतिक दलहरुले महाधिवेशन गरे, कति यही पुसमा महाधिवेशन गर्ने तयारीमा छन् । फेरि कतिपय चर्चित अनुहारहरु राजनीतिक दल खोलेरै चुनावमा जाने मनसाय बनाएपछि अहिलेको हेमन्तको चिसो मौसममा गृष्मकालीन तातो बनेको छ राजनीतिक माहोल चाँही ।
***
बिहीबार दिनभर र साँझैसम्म ललितपुर महानगरपालिका–१० कुपण्डोलस्थित ज्वागलमा मानिसहरुको आउजाउ चर्को थियो ।
सोही वडामा दशकौँ स्वतन्त्रबाट उम्मेवार बनेर वडाध्यक्ष बनेका स्वर्गीय नरसिंह व्यन्जनकारको घर थियो, जहाँ बुधबार र बिहीबार चहलपहल देखियो । व्यन्जनकारका छोरा कुमार व्यन्जनकार (कुमार बेन) काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का खास सहयोगी हुन् । स्वर्गीय नरसिंह व्यन्जनकारलाई राजनीतिक गुरु मान्ने बालेनले आफूलाई दलीय राजनीतिमा ल्याउने खेलको सुरुवात त्यँहीबाट गर्दैछन्, जहाँबाट उनै बालेनले गत स्थानीय निर्वाचनमा नरसिंहसँग आर्शिवाद लिएर चुनावी मैदानमा होमिएका थिए ।
बुधबारबाट उतै रहेका बालेनले विभिन्न व्यक्तिहरुसँग भेट गरिरहेका छन् । नेता, कलाकार, राजनीतिकर्मी, जेनजीका प्रतिनिधिदेखि मुलुककै नेतृत्व गरिसकेका व्यक्तिहरु बालेनसँग भेट्न त्यहाँ पुगे । बुधबारको भेट खास त्यति चर्चामा नरहे पनि
बिहीबार भने त्यहाँ सञ्चारकर्मीहरुको समेत बाक्लो उपस्थिति रह्यो, जसले देश विदेशबाट ज्वागल वार्ताबारे चासो चुलियो ।
गत शुक्रबार सहकारी ठगी तथा संगठित अपराध मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी बुझाएर थुनामुक्त भए । त्यसपछि उनले राजनीतिक भेटघाटमा सक्रियता बढाए । स्थानीय निर्वाचनमा स्वतन्त्रबाट वैकल्पिक शक्तिको बिजारोपण गरेको बालेन र आम निर्वाचनमा वैकल्पिक शक्तिको रुपमा पार्टीबाट उदाएका रवि । दुवै नेताहरु (बालेन र रवि) एक भएर अघि बढ्नुपर्छ भन्ने आम चासो व्यक्त भइरहेका बेला सोमबार राति लामो छलफलपछि रास्वपा र बालेन फ्याक्टर मात्र नभएर नयाँ र आफूलाई वैकल्पिक धार भन्नेहरु समेत एक भएर जाने तयारीमा छन् । छलफल भइरहेको छ, यद्यपि वार्ता कुन मार्गमा पुगेर टुंगिन्छ भन्ने निष्कर्ष भने निस्किएको छैन ।

वार्ताको रोचक पक्ष चाँही के छ भने, आफूलाई धुरन्धर गणतन्त्रवादी भन्ने दलदेखि गणतन्त्र विरोधी दलका नेताहरु समेत बालेन भेट्न मरिहत्य गरेर पुगे । कांग्रेस नेता डा. सुनिल शर्मा, पूर्व कांग्रेस नेता एवं स्वतन्त्र सांसद बनेका डा. अमरेशकुमार सिंहदेखि राजावादी दल राप्रपाका युवा नेता ज्ञानेन्द्र शाहीसम्म बालेन भेट्न कुमार बेनको घरमा पुगे ।
बिहीबार अपरान्ह पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई समेत बालेनलाई भेट्न पुगे । १० वर्षे सशस्त्र द्वन्द्वको नेतृत्व गर्दै मुलुकको नेतृत्व गरिसकेका डा. भट्टराई एक दशकदेखि वैकल्पिक शक्ति निर्माणमा जुटिरहेका छन् । अस्थिर चरित्र भनेर चिनिने बाबुराम अहिले माओवादीसँग रुष्टिएका पूर्व सहकर्मी जनार्दनले खोलेको प्रगतीशील लोकतान्त्रिक पार्टीसँग एकता गरेर अघि बढिरहेका छन् । राजनीतिमा धेरै पार्टी चहारेका बाबुराम हुन् या राजनीति भन्दा अन्य क्षेत्रमा रमाइरहेका युवायुवतीहरु, जो जेनजी आन्दोलनपछि चर्चामा आए, उनीहरुसम्मको ओहोरदोहोर ज्वागल क्षेत्रमा दिनभरजसो चलिरह्यो ।
भेटघाटको ‘म्याराथन’ जस्तै चलेको ज्वागल छलफलबाट निस्किने सबै व्यक्तिहरुले वार्ता सकारात्मक रहेको प्रतिक्रिया दिइरहेका छन् । खास सञ्चार माध्यम र आम रुपमा देखा नपर्ने बालेनसँग भेट्न पुगेका जेनजी प्रतिनिधिहरुले बालेनलाई राजनीतिमा आउन अनुनय विनय गरेको खबर बाहिरिएको छ । अझ, आफूलाई वैकल्पिक शक्ति दाबी गर्ने रास्वपाले पटकपटक फरफरक नेताहरुसँग वार्ता गराएर बालेनको ‘ब्रेन वास’ गर्नेगरी अघि बढिरहेको विश्लेषकहरु बताउँछन् ।
उता नेपाल विद्युत प्राधिकरणको नेतृत्व गरेर मुलुकलाई उज्यालो बनाएको उपमा पाएका वर्तमान सरकारका उर्जामन्त्री कुलमान घिसिङ समेत बालेनसँग उसैगरी तारन्तार भेटमा छन् । उज्यालो नेपाल पार्टी खोलेका कुलमान वैकल्पिक शक्तिहरु एक ठाउँमा आउने र त्यसले पूराना दलहरुलाई धक्का दिने भाषण गरिरहेका छन् । यता बालेनले भने कुरा सुनिरहेका छन्, र कम भन्दा कम प्रतिक्रिया दिइरहेको भेट्न जानेहरु बताउँछन् ।
खैर !
राजनीतिले कुन मोड लिन्छ त्यो हेर्न केही महिना र नयाँ भनिएकाहरु कुन मार्गबाट अघि बढ्छन् त्यो हेर्न केही दिन कुर्नुपर्छ ।
राजनीतिको माहोल नयाँ र चर्चित भनिएकाहरुबाट मात्र तातेको होइन । नयाँ शक्तिहरु एक ठाउँमा आउँदा त्यसको प्रत्यक्ष असर पर्ने भेउ पाएका पुराना दलका नेताहरु समेत भेटघाटमा जुट्न थालेका छन् । खासगरी जेनजी आन्दोलनपछि सत्ताबाट सडक पुगेका एमाले कांग्रेसका शीर्ष नेताहरु तारन्तार भेट गरिरहेका छन् । अझ आगामी निर्वाचन नै हुँदैन र हुन दिनुहुँदैन भनेर बटारिरहेको एमालेलाई समेत राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्रीसहित तीन शीर्ष नेताहरुको ‘आइस ब्रेक’ शीतल निवास वार्ताले राजनीतिलाई नयाँ मोडमा पुर्याएको छ । पूराना दलका नेताहरुको मुख नै हेर्दिन् भन्ने अभिव्यक्ति दिने प्रधानमन्त्री र सरकारलाई असंवैधानिक भन्दै निर्वाचनमा भाग नलिने घुर्की देखाउने एमालेबिच शीतल निवासको बैठक कोठाको नेराघेराले केही दुरी घटाएको अनुमान गरिएको छ । त्यति मात्र होइन आगामी निर्वाचनका लागि सरकारले वातावरण बनाउने र दलहरुले सहयोग गर्ने सेतुको काम पनि त्यो बैठकले गर्नसक्ने संकेत देखिन्छ ।

नयाँ र पुराना शक्ति संघर्ष जस्तो देखिने तोकिएको फागुन २१ को निर्वाचन आफैँमा रोचक त बन्छ । तर भन्नेहरुले निर्वाचन नै हुँदैन पनि भनिरहेका छन् । ०७९ को निर्वाचनबाट रास्वपा फ्याक्टरको संसदमा उदयले फरक देखिएको परिदृश्य फागुन २१ को निर्वाचनपछि थप फरक बन्ने संकेत भने गर्माएको राजनीतिले देखाएको छ ।
अब स्मरण र तुलना गरौँ, ०७९ साल पुस १० र ०८२ पुस १० को हेमन्तकालीन चिसोमा गृष्मकालीन गर्मीको राजनीतिक माहोल । त्यो पुस १० मा बाल्कोटको बादर्ली चर्चामा थियो, यो पुस १० ज्वागलको गल्ली चर्चामा छ । त्यो पुस १० निर्वाचनपछि एकाएक फेरिएको राजनीतिक माहोलको थियो, यो पुस १० भने निर्वाचन तयारीका लागि बन्न लागेको नयाँ समीकरणको चर्चामा छ ।
जे होस् नेपाली राजनीति इतिहासमा पुस महिनाको चर्चा निरन्तर भइ नै रहन्छ । चाहे २०१७ साल पुस १ होस्, या २०३३ साल पुस १६ होस् । अझ पछिल्लै समय भन्ने हो भने ०७७ साल पुस ५ पनि नेपाली राजनीतिक इतिहासमा एक स्मरणीय दिन बनेर उभिएको छ ।
त्यो पुस १० को बाल्कोट बार्दलीको सहमति केही समयमा भंग भयो, त्यहाँबाट कोरिएको खाकाले संसद चल्यो, गठबन्धन फेरियो, राजनीतिमा नयाँ नयाँ परीक्षणहरु भए र निर्वाचनपछि बनेको सरकार ०८२ भदौ २३–२४ सम्म आइपुग्दा स्वाहा ! भयो ।
यो पुस १० को ज्वागल गल्लीबाट कोरिन लागेको सहमतिको खाका कस्तो बन्नेछ, सहमति कतिसम्म अघि बढ्नेछ भन्ने त हेर्न बाँकी छ । तर त्यो पुस १० मा कोरिएको जस्तो कमजोर खाका, यो पुस १० मा कोरिएको खाका नबनोस् भन्ने आम चाहना छ, त्यो भनेको राजनीति स्थिर होस्, देशले गति पाओस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया