प्रधानमन्त्रीको सुझाव– दलहरुले ‘मेरै गोरुको बाह्रै टक्का’ भन्न छाडे सहज वातावरणमा चुनाव हुन्छ

लोकपथ
336
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफू र आफू नेतृत्वको सरकारजनताको भावना अनुसार अघि बढिरहेको बताएकी छन् ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको सर्वपक्षीय बैठकमा बोल्दै प्रधानमन्त्री कार्कीले सो कुरा बताएकी हुन् ।

लोकतन्त्रमा जनता नै सर्वैपरी हुने बताउँदै उनले आम नागरिक र खासगरी जेनजीको भावना बुझेर अघि बढ्न दलहरुलाई सुझाव दिइन् ।

आजको बैठकमा विभिन्न राजनीतिक दलहरुको तर्फबाट नेताहरुले आ–आफ्नो धारणा राखेका थिए । खासगरी निर्वाचनको वातावरण नभएको टिप्पणी गरिरहेको एमालेप्रति लक्षित गर्दै प्रधानमन्त्री कार्कीले दलहरुले आ–आफ्नो अडान छाडे निर्वाचन सहज वातावरणमा सम्पन्न हुने विश्वास समेत व्यक्त गरिन् ।

कुनै पनि राजनीतिक दलभित्र भागबन्डा मिल्यो भने त्यसको तनाव जनतालाई दिन हुँदैन । सबैभन्दा ठूलो महान भनेको जनता हो । राजनीतिक दल भनेको सेकेन्डरी कुरा हो । जनता के चाहन्छ ? अहिलेको माग के हो ? जेनजी आन्दोलनमा बालक मारिए, त्यसले त जनतामा प्रभाव परेको छ नि त ! हामीले के का लागि परिवर्तन गर्ने ? जेनजीले के खोजेको, युवा पुस्ताले के खोजेको भन्ने त बुझ्नुपर्‍यो । मेरो गोरुको बाह्रै टक्का गरेर हुँदैन,’ प्रधानमन्त्री कार्कीले सुझाव दिँदै भनिन् ।

यसैगरी प्रधानमन्त्री कार्कीले अहिलेसम्मको परिवर्तनपछि देशलाई ट्रयाकमा ल्याउने काम निर्वाचनले गरेको भन्दै सबैलाई उत्साहका साथ निर्वाचनको वातावरण बनाउनतर्फ लाग्न समेत सुझाव दिइन् ।

‘निर्वाचन भनेको हाम्रो लागि कुनै संकटको घडी होइन, खुशीको घडी हो । परिवर्तनको मार्ग हो । आजसम्म नेपालमा केही परिवर्तन आएका छन् भने निर्वाचनले नै हौ,’ प्रधानमन्त्री कार्कीको भनाइ रहेको थियो ।

भदौ २३ र २४ को जेनजी आन्दोलन सबैले सोचे भन्दा फरक तरिकाले भएको भन्दै परिवर्तनपछि नीति निर्माण तहमा युवायुवतीहरुलाई फ्रन्ट रोमा ल्याउन समेत सुझाव दिइन् ।

‘अचानक यो परिस्थिति आयो । भदौ २३ र २४ गते सोचसमझभन्दा बाहिरको घटना जे घट्यो । जुन हामी परिकल्पना समेत गरेका थिएनौं । सिंगो राष्ट्रले एउटा परिवर्तनको महसुस गर्‍यो,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘अहिलेको चुनौती भनेको युवा वर्गलाई कसरी फ्रन्ट रोमा ल्याउने, उनीहरूको नेतृत्वमा मुलुकलाई कसरी अघि बढाउने भन्ने भावना आयो ।’

प्रधानमन्त्री कार्कीको आह्वानमा निर्वाचन आयोग, जेनजी युवायुवतीका प्रतिनिधि, राजनीतिक दल एवं नागरिक अगुवाहरुको समेत उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?