आफूलाई गोली हान्न ओलीले भनेकै भोलिपल्ट गगनले भने– ‘भदौ २३ को घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ’ 

लोकपथ
658
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भदौ २३ को घटना अकल्पनीय भएको र नेपालको इतिहासमा दुःखद भएको बताउँदै त्यसको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् । 

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन महामन्त्री थापाले भने, ‘म यसको जिम्मा लिन्छु भन्दा कोही सानो हुँदैन । ठूलो पदमा जो छ, उसले बढी जिम्मेवारी लिनुपर्छ । घटना कसरी भयो यसको छानबिन हुँदै गर्ला तर यसको जिम्मेवारी सरकारमा बस्ने साथीहरूले लिनुपर्छ । म भए लिन्थेँ ।’

सडकमा आक्रोश व्यक्त हुनु स्वाभाविक भएको पनि उनको भनाइ छ । उनले भने, ‘भदौ २३ गते एउटा अकल्पनीय घटना भयो । नेपालको इतिहासको एउटा दुःखद घटना, कालो दिन । जहाँ हाम्रा थुप्रै नौजवानहरू गुमायौँ । त्यो घटना नभइदिएको भए हुन्थ्यो भन्ने लागिरहन्छ । आक्रोश व्यक्त भयो सडकमा । त्यसको अर्को पाटो पनि छ । हामीले तत्काल २३ गते बेलुका नै गृहमन्त्रीलाई राजीनामा दिन लगायौँ र सरकारले यसको जिम्मेवारी बोक्नुपर्छ ।’

एमाले अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भने अहिलेसम्म घटनाको जिम्मेवारी लिएका छैनन् । उनले आफू जाँचबुझ आयोगमा बयान दिन नजाने पनि बताउँदै आएका छन् । हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा आइतबार अन्तर्वार्ताका क्रममा ओलीले आफूले यसअघि नै  पटक पटक बयान दिन जान्नँ भनेको र यसमा आफू अडिग रहेको बताएका छन् ।

प्रधानमन्त्री र आयोगका अध्यक्षले पहिल्यै निष्कर्ष सुनाएका कारण बयानको औचित्य नहुने पनि ओलीको भनाइ छ । ‘आयोगले छानबिन गर्छ ।  नतिजा के आउँछ त्यो प्रकाशित गर्दैन, पहिल्यै निष्कर्ष सुनाएर आउनुभएको व्यक्ति हो । मेरो नाम नै लिएर फलानालाई यसो गर्नुपर्छ भनेर अहिलेका प्रधानमन्त्री र आयोगका अध्यक्षले बोल्नुभएको थियो । जब उहाँ निष्कर्ष सुनाइसक्नुभएको छ भने मैले किन बयान दिने, के विश्वासले दिने ? जाँचैबिना रिजल्ट निकालिसक्नुभएको छ भने म किन जाँच दिन जाने ?’

बयान दिएन भनेर गोली हान्न पनि ओलीले चुनौती दिएका छन् । ‘बयान दिन मानेन भने गोली ठोके हुन्छ । यत्रो कसुर गर्ने बयान दिन नमान्ने । नतिजा आइसक्यो जाँच दिन नमान्ने यत्रो कसुर गर्नेलाई त हान्दिने नि गोली । उहाँहरूसँग छ त बन्दुक । के सानातिना कुरा गरिराखेको ? बयान नगरेबापत आजीवन थुनिदिए हुन्छ,’ उनले भने । 

आयोगका अधिकारीहरू घरमै आए उनीहरूलाई स्वागत गर्ने ओलीले बताए । ‘घर आउनुभयो भने सम्मानसाथ स्वागत गर्छु, चिया खुवाउँछु । कुरा गर्छु पठाउँछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?