राष्ट्रपतिले संसद् पुनर्स्थापना घोषणा गर्नुपर्छ : महेश बर्तौला

लोकपथ
336
Shares

काठमाडौं ।  नेकपा एमालेका सचेतक महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलले संसद् पुनर्स्थापना गर्नुपर्ने बताएका छन् ।  शनिबार जारी गरेको विज्ञप्तिमा बर्तौलाले संसद् विघटन संविधानको पालनामा कमजोरीको परिणाम भएको बताए ।

बर्तौलाले भने, ‘यो केवल संसद्को विघटन मात्र होइन, लोकतन्त्रको आत्मामाथिको नाङ्गो प्रहार र जनतामा निहित सार्वभौमसत्ताको शिर छेदन समेत हो ।’ उनले जारी रिटहरू विचाराधीन रहेको भन्दै राष्ट्रपतिले संवैधानिक कमजोरी सच्याउँदै तत्काल संसद् पुनर्स्थापना घोषणा गर्नुपर्ने बताए ।

उनले तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ साल जेठ ८ गते विघटन गरेको प्रतिनिधिसभा २०६३ साल वैशाख ११ गते अदालतको आदेशबिना मात्र घोषणामार्फत पुनर्स्थापना गरिएको पनि स्मरण गराए ।

बर्तौलाले संविधान, लोकतन्त्र र राष्ट्रप्रतिको जवाफदेहितालाई ध्यानमा राख्दै राष्ट्रपति पौडेलले संसद्को बैठक आह्वान गर्न अविलम्ब कदम चाल्नुपर्ने जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?