काठमाडौंको हावा अस्वस्थकर : के गर्ने ? के नगर्ने ?

लोकपथ
119
Shares
काठमाडौं उपत्यकामा प्रदुषणको अवस्था । तस्बिर : एआई

काठमाडौं । राजधानी काठमाडौंको वायुको गुणस्तर अस्वस्थकर तहमा पुगेको छ । वातावरण विभागले काठमाडौंका विभिन्न स्थानमा राखेको निगरानी केन्द्रको तथ्यांकका आधारमा काठमाडौंको वायुको गुणस्तर अस्वस्थकर तहमा पुगेको देखाएको हो ।

काठमाडौंका दुई स्थानको विगत २४ घण्टाको वायुको गुणस्तर अस्वस्थकर तहमा पुगेको हो । काठमाडौंको रत्नपार्क र शंखपार्क तथा भक्तपुरको वायु गुणस्तर सूचकांक अस्वस्थकर तहमा पुगेको छ ।

वायु गुणस्तर सूचकांक (एक्यूआई) शून्य देखि ५ सयभित्रको मानलाई ६ वटा विभिन्न तहमा वर्गीकरण गरी हेर्ने गरिन्छ । यी तहहरूलाई फरक–फरक रंगको प्रयोग गरेर जोखिम कति छ भनेर बुझाइन्छ । हाल काठमाडौंको विगत २४ घण्टाको एक्यूआई १५८ रहेको छ, जुन रातो अर्थात् अस्वस्थकरको सूचीमा रहेको छ । 

यसरी गरिन्छ वायुको गुणस्तरको मापन

वायुको गुणस्तर कस्तो छ भनेर मापन गर्न एयर क्वालिटी इन्डेक्स अर्थात् एक्यूआईका आधारमा गरिन्छ । यसलाई ६ भागमा विभाजन गरिएको हुन्छ जसमा मात्रा र रङको प्रयोग गरिन्छ । 

०–५० एक्यूआईलाई राम्रो हावा भनिन्छ र यसलाई हरियो रङ प्रदान गरिन्छ । यो अंकमा यस्तो हावाले कुनै असर नगर्ने बताइन्छ । यसमा सामान्य रूपमा गतिविधि गर्न सकिन्छ । 

दोस्रो चरणमा ५१ देखि १०० अंकलाई राखिएको छ र यसलाई मध्यम गुणस्तरका रूपमा राखी पहेँलो रङ दिइन्छ । यो गुणस्तरको हावाले संवेदनशील व्यक्तिहरूलाई असर पार्न सक्छ । यसमा दमका बिरामी, बुढाबुढीले धेरै दौडधुप गर्न नहुने सुझाव दिइन्छ । 

तेस्रो चरणमा १०१ देखि १५० एक्यूआईलाई राखिएको छ । सुन्तला रंगबाट पहिचान गरिने यो हावाको गुणस्तर संवेदनशील समूहका लागि अस्वस्थकर मानिन्छ । मुख्यतः बच्चा, बुढाबुढी, दमका बिरामी, मुटु रोगी आदिका लागि यो खतरनाक हुन सक्छ । यस्तो समयमा संवेदनशील समूहले बाहिरी हावाको सम्पर्कमा जानु वा बाहिरी शारीरिक परिश्रमलाई सीमित गर्नुपर्ने बताइन्छ । बाहिर हिँड्नु परेमा पनि कम्तीमा एन ९५ मास्क लगाएर हिँड्नु उत्तम हुनेछ । 

चौथो समूहमा रहेको १५१–२०० एक्यूआई भने सबै समूहका लागि अस्वस्थकर हावा हो । यसलाई रातो रंगले बुझाइन्छ भने यो हावाले सबै समूहलाई असर गर्न सक्दछ । बाहिर निस्कँदा पनि कम्तीमा मास्क लगाएर मात्रै निस्कने, मर्निङ वाक नगर्ने, साइकल नचलाउने आदि गर्नु उत्तम हुने बताइन्छ । 

अहिले काठमाडौंको हावाको गुणस्तर समेत १५८ एक्यूआई रहेका कारण यो अस्वस्थकर हावा हो । त्यसकारण बाहिरी हावाको सम्पर्कमा सकेसम्म नजानु नै उत्तम हुने विज्ञले बताएका छन् । 

पाँचौँ समूहको वायु गुणस्तरलाई २०१ देखि ३०० एक्यूआईमा राखिएको छ । यसलाई बुझाउन बैजनी रङको प्रयोग गरिन्छ भने यो आपतकालीन अवस्थाका रूपमा लिइन्छ । यस्तो अवस्थामा सकेसम्म बाहिरी वातावरणमा घुलमिल नहुन सुझाव दिइन्छ । यो स्तरको वायु यतिबेला पाकिस्तानको लाहोर शहरमा छ, जुन हाल दोस्रो सबैभन्दा प्रदूषित शहर पनि हो । 

छैटौँ चरणमा भने ३०१ भन्दा माथिको वायुको गुणस्तरलाई लिइन्छ । यसलाई खैरो रङबाट बुझाइन्छ भने यसलाई गम्भीर स्वास्थ्य चेतावनीका रूपमा समेत लिइन्छ । यस्तो अवस्थामा घरबाट बाहिर ननिस्कन समेत चेतावनी दिइन्छ र कतिपय अवस्थामा विद्यालय बन्दसमेत गराइन्छ । अहिले भारतको राजधानी नयाँ दिल्लीको वायुको गुणस्तर ३०६ एक्यूआईमा पुगेको छ । दिल्ली हाल विश्वको सबैभन्दा बढी वायु प्रदूषित शहर बनेको छ । 

काठमाडौं कति सुरक्षित ? 

वायु गुणस्तर सूचकांक (एक्यूआई) १५८ रहेका कारण काठमाडौंको आजको गुणस्तर अस्वस्थकर रहेको छ । यस्तो हावाले संवेदनशील समूहलाई मात्रै नभएर स्वस्थ्य व्यक्तिलाई पनि असर गर्न सक्छ । त्यसकारण सम्भव भएसम्म बाहिरी वातावरणमा घुलमिल नहुन स्वास्थ्य विज्ञले चेतावनी दिएका छन् । 

वातावरण विभागका वातावरण निरीक्षक गोविन्दप्रसाद लामिछानेले अहिलेको विगत २४ घण्टाको एक्यूआई हेर्दा काठमाडौंसमेत अस्वस्थकर वायुको चरणमा प्रवेश गरिसकेको छ । नेपाल सरकारको वातावरण विभागको तथ्यांकअनुसार विगत २४ घण्टाको औसत एक्यूआई रत्नपार्कमा १५८, शंखपार्कमा १६२ र भक्तपुरमा १५७ रहेको छ । यी सबै मान ‘अस्वस्थ’ अर्थात् रातो रङको श्रेणीभित्र परेको छ । 

वातावरण निरीक्षक लामिछानेका अनुसार अहिले मुख्य शहरहरुको मात्रै मापन गर्ने गरिएका कारण देशभरको अवस्था कस्तो छ भनेर ठम्याउन कठिन छ । काठमाडौंमा भन्दा पनि तराईका जिल्लाहरूको वायुको गुणस्तर कमजोर रहेको भएपनि ती स्थानहरूमा मापन नभएको कारण तथ्यांक उपलब्ध नभएको हो । 

काठमाडौं उपत्यकाको वायुको गुणस्तरले सबै उमेर समूह वा स्वस्थ व्यक्तिलाई पनि असर महसुस गराउन सक्नेछ । संवेदनशील समूह त अझै जोखिममा रहेका कारण सुरक्षा सतर्कता अपनाउनु पर्ने हुन्छ । 

वायु गुणस्तर सूचकांक (AQI)

वायुको गुणस्तर र स्वास्थ्यका लागि सुझावहरू

AQI स्केल र स्वास्थ्य प्रभाव

०-५०
राम्रो (हरियो)
कुनै पनि असर पर्ने सम्भावना कम छ। सामान्य गतिविधि गर्न सकिन्छ।
५१-१००
मध्यम (पहेंलो)
संवेदनशील व्यक्तिहरूलाई असर पर्न सक्छ। दमका बिरामीले दौडदौड नगर्नु राम्रो।
१०१-१५०
संवेदनशील समूहका लागि अस्वस्थ (सुन्तला)
संवेदनशील समूह (बच्चा, बूढा, दमका बिरामी) लाई असर पर्न सक्छ।
१५१-२००
अस्वस्थ (रातो)
सबै मानिसलाई स्वास्थ्य असर पर्न सक्छ। संवेदनशील समूहले बाहिरी परिश्रमबाट जोगिनु पर्छ।
२०१-३००
धेरै अस्वस्थ (बैजनी)
आपतकालीन अवस्था। सबैले बाहिरी शारीरिक परिश्रम नगर्नु र जति सक्दो भित्रै रहनु राम्रो।
३०१+
खतरनाक (खैरो)
गम्भीर स्वास्थ्य चेतावनी। सम्भव भएसम्म बाहिर ननिस्कने र घरभित्रै रहने सुझाव दिइन्छ।

काठमाडौंको हालको वायु गुणस्तर

रत्नपार्क

१५८
अस्वस्थ (रातो)

शंखपार्क

१६२
अस्वस्थ (रातो)

भक्तपुर

१५७
अस्वस्थ (रातो)

सुझाव: काठमाडौंको हालको AQI अस्वस्थ श्रेणीमा छ। संवेदनशील समूह (बच्चा, बूढा, दमका रोगी) ले बाहिरी गतिविधि सीमित गर्नुहोस् र N95 मास्क लगाउनुहोस्।

स्वास्थ्य सुझावहरू

मास्क प्रयोग गर्ने

  • AQI १०० भन्दा माथि हुँदा बाहिर निस्कदा मास्क लगाउनुहोस्
  • N95, N99 वा FFP2/FFP3 मास्क प्रयोग गर्नुहोस्
  • साधारण कपडा वा सर्जिकल मास्कले प्रदूषणबाट पर्याप्त सुरक्षा दिँदैनन्

घरभित्रको सुरक्षा

  • AQI १५० भन्दा माथि हुँदा ढोका-झ्याल बन्द गर्नुहोस्
  • एयर प्युरिफायर चलाउनुहोस् (यदि सम्भव छ भने)
  • घरभित्र धुलो नउठाउने र नभई नहुने सफाइ बनाउनुहोस्

संवेदनशील समूहको सुरक्षा

  • बच्चा, बूढा, गर्भवती महिलाहरूको विशेष ख्याल राख्नुहोस्
  • श्वासप्रश्वास र मुटुका बिरामीहरूले बाहिरी गतिविधि सीमित गर्नुहोस्
  • बिहान र साँझ प्रदूषण बढी हुन्छ, त्यसैले यी समयमा बाहिर ननिस्कने

वायु प्रदूषणले कस्तो असर गर्छ ? 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार, वायु प्रदूषणले मानव शरीरका लगभग सबै अंगलाई प्रभावित गर्न सक्छ । हावामा हुने प्रदूषणका साना साना कणहरू फोक्सोबाट रगतमा सरेर सम्पूर्ण शरीरमा फैलिन सक्छ । यसरी प्रदूषित हावा फोक्सो हुँदै रगतबाट फैलिएमा यसले दम, मुटुरोग, स्ट्रोक, फोक्सोको क्यान्सर, मधुमेहलगायत गम्भीर रोगहरूसमेत निम्त्याउन सक्नेछ । 

केही विशेष समूहलाई यसले बढी क्षति पुराउन सक्छ,

जस्तो कि,

बच्चा र किशोरहरू : यो उमेर समूहका बालबालिका र किशोर किशोरीको फोक्सो विकासक्रममै रहेको हुन्छ । प्रदूषित हावामा हुर्कने बच्चाहरूमा दम र अन्य श्वास प्रणालीका रोग हुने सम्भावना धेरै रहन्छ ।

बुढाबुढीहरू : यो उमेरमा पुगेकाहरूको रोग प्रतिरोधात्मक क्षमता कमजोर रहेको हुन्छ । दीर्घकालीन प्रदूषणको सम्पर्कमा आउँदा दम, हृदयाघात, अल्जाइमर र अन्य मनोरोगको समेत सम्भावना रहन्छ ।

श्वासप्रश्वास र मुटुका बिरामीहरू : यस्ता रोगीहरूको अवस्था प्रदूषणले तत्कालै बिगार्न सक्छ र उपचार थप जटिल हुन सक्छ ।

गर्भवती महिलाहरू : गर्भावस्थामा प्रदूषणको सम्पर्कले प्रसूतिको समय अगाडि सर्ने, बच्चाको तौल कम हुनेलगायतका स्वास्थ्य समस्या देखिन सक्छ ।

हाल काठमाडौंको वायु प्रदूषणको अवस्था अस्वस्थदेखि धेरै अस्वस्थको बीचमा छ । बिहान र साँझको समयमा हावासमेत नचल्ने भएकाले मर्निङ वाक जानु पनि उपयुक्त नहुने वातावरण विद्को भनाइ छ । दिउँसोको समयमा पनि प्रदूषणको तह मध्यमस्तरमा रहेको देखिन्छ । 

किन बढ्छ प्रदूषण ?

प्रत्येक वर्ष मंसिर १५ देखि वायुको गुणस्तरको तह खस्किँदै जान्छ र पुसको अन्तिमतिर धेरै अस्वस्थकरको तहमै पुग्छ । काठमाडौंको वायु प्रदूषणलाई हेर्दा काठमाडौंमा इन्धनबाट चल्ने पुराना सवारीसाधनको धुवाँ र धूलोका कारण प्रमुख कारण हुन् । त्यसबाहेक निर्माण कार्य र धूलोका कण, फोहोर वा वस्तु जलाउँदा आउने धूवाँ मुख्य कारणहरू हुन् । 

अब बिस्तारै कतिपय स्थानमा गहुँको छली वा परालसमेत जलाउन सुरु हुन्छ, जसले प्रदूषण थप बढाउन सक्नेछ । त्यसबाहेक काठमाडौंको भूगोल कचौरा आकारको रहेको र हावा बहेर बाहिर जान सहज नहुने भएकाले यही धूलोका कणहरू रहेको हावा घुमिरहँदा वायु प्रदूषण थप बढ्दै जाने गरेको छ ।

विश्वमा दूषित हावाकै कारण वार्षिक ६५ लाखको मृत्यु

विश्व स्वास्थ्य संगठनका अनुसार वार्षिक करिब ६५ लाख मानिसको मृत्यु दूषित हावाकै कारण हुने गरेको छ । दूषित हावाले रोग ल्याउने र त्यही रोगका कारण मानिसहरूको मृत्यु हुने गरेको छ । 

विश्वका सबैभन्दा प्रदूषित शहरहरूमा मुख्तयतः दक्षिण एसिया र पूर्वी एसिया नै रहने गरेका छन् । यसमा भारत, पाकिस्तान, नेपाल, चीन आदि देशहरू प्रदूषित शहरहरुको सूचीमा अगाडि पर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?