काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाले आगामी जेठ १५ देखि १७ गतेसम्म चितवनको पर्यटकीय नगर सौराहामा ‘ई–सेवा ह्याकाथन २०२६’ आयोजना गर्ने भएको छ ।
वन्यजन्तु तथा पर्यावरण संरक्षणका क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय गैरसरकारी संस्था विश्व वन्यजन्तु कोषसँगको सहकार्यमा यो ह्याकाथन हुन लागेको हो ।
नेपालमा नवप्रवर्तन संस्कृतिको विकास, डिजिटल समाधानको खोजी तथा युवा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस ह्याकाथनमा देशभरिबाट छनोट भएका २० टोलीका ६३ जना युवाहरूले प्रतिस्पर्धा गर्ने ई–सेवाले जनाएको छ ।
विगत १७ वर्षदेखि डिजिटल अर्थतन्त्र र वित्तीय समावेशीकरणमा काम गर्दै आएको ई–सेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदीश खड्काका अनुसार यो कार्यक्रम युवाहरूमा समस्या समाधानमुखी सोच र दिगो विकासमा योगदान पुर्याउन प्रभावकारी हुनेछ ।
‘ई–सेवा ह्याकाथनले डिजिटल प्रणालीको विकास, साइबर सुरक्षा तथा वातावरणीय दिगोपनासम्बन्धी प्रभावकारी समाधानहरू निर्माण गर्न डेभलपर, डिजाइनर र इन्नोभेटरहरूलाई एउटै मञ्चमा ल्याउने छ,’ खड्काले भने, ‘यस प्रकारका प्रयासहरूले सुरक्षित फिनटेक इकोसिस्टम र पर्यावरण संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने हाम्रो विश्वास छ ।’
तीन दिनसम्म चल्ने यस आवासीय प्रतियोगितामा सहभागीहरूले तत्काल प्रयोगमा ल्याउन सकिने फिनटेक डिजाइन र समाधानका प्रोटोटाइपहरू प्रस्तुत गर्नेछन् । सहभागी टोलीहरूलाई उत्कृष्ट समाधान निर्माणमा सहयोग पुर्याउन फिनटेक, साइबर सुरक्षा र सूचना प्रविधि लगायतका क्षेत्रका लिडरहरूद्वारा प्रत्यक्ष मेन्टरसिप तथा विधागत मार्गदर्शन समेत प्रदान गरिनेछ ।
प्रतियोगितामा उत्कृष्ट समाधान र प्रोटोटाइप प्रस्तुत गर्ने टोलीहरूका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रथम स्थान हासिल गर्ने टोलीलाई ३ लाख, द्वितीय स्थान हासिल गर्ने टोलीलाई २ लाख र तृतीय स्थान हासिल गर्ने टोलीलाई नगद १ लाख पुरस्कारको व्यवस्था गरिएको छ ।
यस ह्याकाथनले वातावरणीय र सामाजिक प्रभावमा सकारात्मक योगदान दिने डिजिटल प्रणाली निर्माण र युवाहरूमा नवप्रवर्तनात्मक सोच बढाउन प्रोत्साहन गर्ने अपेक्षा गरिएको ई–सेवाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया