मौसम विभागको प्रक्षेपण : यो वर्ष सरदरभन्दा कम वर्षा हुने, गर्मी बढ्ने

लोकपथ
0
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको छ । देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको विभागले अधिकतम र न्यूनतम दुवै तापक्रम सरदरभन्दा बढी हुने पनि जनाएको छ ।

यो प्रक्षेपण आगामी १८ जेठदेखि १४ असोजसम्म अवधिको हो ।

विभागले आज शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा मौसमविद् सुदर्शन हुमागाईंले देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको र यो विभिन्न भेगमा फरक–फरक रहेको बताए । 

यसैगरी मनसुन अवधिमा अधिकतम र न्यूनतम तापक्रम देशभर सरदर भन्दा बढी हुने सम्भावना ३५ देखि ६५ प्रतिशतसम्म रहेको मौसमविद् हुमागाइँले जानकारी दिए ।

विभागले कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका दक्षिण भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको र कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोशी प्रदेशका उत्तरी भूभागमा भने सरदर वर्षा हुने सम्भावना रहेको प्रक्षेपण गरेको छ । 

यसैगरी सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशका मध्य भूभागमा भने सरदर भन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ ।

विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी रहने सम्भावना छ । अर्थात् गर्मी बढी हुने सम्भावना देखिन्छ ।’

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख हो । तर केही दिन अघि वा पछि नेपालमा मनसुन प्रवेश गर्ने गरेको छ । 

नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख हो । तर यो पनि केही दिन अघि पछि हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?